सिठी बजाउने भाषा

Whistlingखलाँसीले सिठीमार्फत ड्राइभरलाई गाडी चलाउने, रोक्ने वा स्पिड कम गर्ने इसारा गरेको त हामीले देखेकै हौँ । तर, स्पेनको ला गोमेरा द्वीपमा भने सिठी बजाउने भाषाको पढाइ नै हुने गरेको छ । सिठीमार्फत भाषिक व्यवहार हुने प्रथालाई जोगाउन कम्मर कसेर लागिपरेका छन् स्थानीय बासिन्दा ।

एउटा पहाडबाट अर्को पहाडमा बसेको मान्छेसँग बातचित गर्न यस्तो भाषा निकै लोकप्रिय थियो यहाँ, ५०–६० वर्षअघिसम्म पनि । जतिबेला न मोबाइल थियो, न त गाडीको सहज पहुँच । त्यतिबेला यहाँ जताततै सिठी बजाइएको मात्र सुनिन्थ्यो । भलै अहिले यहाँ पनि सडकमार्ग, यातायात साधन र मोबाइल फोनको सुविधा छ्यापछ्याप्ती भइसकेको छ । पहिले यहाँका मानिसहरू दुई मिल टाढाको दूरीसम्मका मान्छेसँग सिठी बजाएरै बातचित गर्थे ।
मोबाइल फोनको प्रयोगसँगै सिल्बो नाम दिइएको यो भाषा लोप हुने तरखरमा पुगेपछि स्थानीयले यसलाई जोगाउने पहल थाले । उनीहरू आफ्नो पुख्र्यौली भाषा पछिल्लो पुस्तासम्म पनि निरन्तर रहोस् भन्ने चाहन्छन् । सन् १९९९ मा यो भाषा स्कुलमा अनिवार्य विषयका रूपमा समेटिएपछि फेरि प्रयोग बढ्न थालेको छ । यहाँका स्कुलमा बिहान नौ बजे पुग्नेहरूले सिठी नै सिठीको अनौठो तर सुमधुर धुन सुन्दा सुरुमा त अचम्म मान्लान् । तर, त्यसको अर्थ ‘बच्चाहरूले सुप्रभात गरेका हुन्’ भन्ने थाहा पाउँदा थप अचम्म लाग्छ । शिक्षक रोड्रिगेज भन्छन्, ‘यो भाषा सजिलो छैन, सुरुमा त औँला ओठमा मिलाएर आवाज निकाल्नै धौधौ पर्छ थुप्रैलाई । फुक्दाफुक्दा बच्चाहरूलाई रिँगटै चल्न थाल्छ ।’ (एजेन्सी)

प्रतिक्रिया