कक्षा १२ को परीक्षा भोलिदेखि

काठमाडौं, १६ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले मंगलबारदेखि हुने परीक्षामा कडाइ गर्ने भएको छ । परिषद्ले परीक्षालाई मर्यादित बनाउनका लागि ७५ जिल्लालाई १५ क्षेत्रमा छुट्टयाएर अनुगमन गर्न लागेको छ । यसअघिका परीक्षामा अमर्यादित गतिविधि हुने गरेका परीक्षा केन्द्रको निर्धारण गरी अनुगमनका लागि १५ क्षेत्र तोकिएको परिषद्ले जनाएको छ ।

परिषद्का प्रवक्ता नारायण कोइरालाले विगतका परीक्षाको मूल्यांकनका साथै अमर्यादित गतिविधि हुने सम्भाव्य क्षेत्र छुट्टयाएर अनुगमन गर्न लागेको जानकारी गराएका छन् । उनका अनुसार प्रत्येक क्षेत्रमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ सदस्यीय टोली अनुगमनका लागि पठाइएको छ । ‘परीक्षालाई मर्यादित बनाउनका लागि क्षेत्र छुट्टयाएर अनुगमन गर्न लागिएको हो,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘विगतमा देखिएको अमर्यादित कार्यको आधार र अमर्यादित हुन सक्ने सम्भाव्य क्षेत्रको पहिचान गरी निर्धारण गरिएको छ ।’ परिषद्ले जिल्ला हेरी क्षेत्र निर्धारण गरेको उनले बताए । अनुगमन टोली आइतबारदेखि नै निर्धारित क्षेत्रमा गइसकेका छन् ।
सवा ८ लाख परीक्षार्थी
यस वर्ष कक्षा ११ र १२ को परीक्षामा ३ हजार ५ सय ९६ विद्यालयका ८ लाख ३३ हजार १ सय ३३ विद्यार्थी सहभागी हुँदै छन् । त्यसमध्ये ४ लाख १० हजार ५ सय ३९ छात्र र ४ लाख २२ हजार ५ सय ९४ छात्रा छन् । बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने परीक्षा कक्षा १२ को मंगलबारबाट र कक्षा ११ को ३१ गते सुरु हुनेछ ।
परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार कक्षा १२ मा ३ लाख ९८ हजार १ सय १५ र कक्षा ११ मा ४ लाख ३५ हजार १८ विद्यार्थी सहभागी हुनेछन् । कक्षा १२ मा रेगुलरतर्फ २ लाख २४ हजार ३ सय २४ र एक्जाम्टेडतर्फ १ लाख ५५ हजार ७ सय ९१ रहेका छन् भने कक्षा ११ मा नियमिततर्फ २ लाख ६५ हजार ४ सय ५७ र एक्जाम्टेडतर्फ १ लाख ६९ हजार ५ सय ६१ परीक्षार्थी सहभागिता हुनेछन् ।
परीक्षा सञ्चालनका लागि परिषद्ले ९ सय ३२ परीक्षा केन्द्र तोकेको छ भने त्यति नै संख्यामा केन्द्राध्यक्ष राखिएको छ । परीक्षा नियन्त्रक दुर्गा अर्यालले गत वर्षमा अमर्यादित कार्य गर्ने केन्द्र खारेज गरिएको जानकारी गराए । ‘अमर्यादित कार्य गर्ने केन्द्र तथा केन्द्राध्यक्षलाई अहिले राखिएको छैन,’ अर्यालले भने ।
मर्यादा उल्लंघन गर्नेलाई कैदसम्मको कारबाही
परीक्षामा अमर्यादित कार्य गर्ने परीक्षार्थीलाई ६ महिना कैद तथा १ लाखसम्म जरिवाना गर्ने परीक्षा नियन्त्रक अर्यालले जानकारी गराए । सिडिओको संयोजकत्वमा रहेको समितिले परीक्षा हलभित्र अमर्यादित गर्ने विद्यार्थीलाई तुरुन्तै कारबाही गर्न सक्नेछ । परीक्षाको मर्यादा उल्लंघन गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई जिल्ला परीक्षा समन्वय समितिले कारबाही गर्नेछ । परीक्षामा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ ।
कक्षा १२ को परीक्षाका लागि ३० हजार ६ र कक्षा ११ का लागि ३१ हजार ४ सय ४४ जनशक्ति परिचालन गरिने अर्यालले जानकारी गराए । परिषद्ले परीक्षालाई मर्यादित बनाउन जिल्लास्तरमा गोष्ठीसमेत सञ्चालन गरिसकेको छ । परीक्षा जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया