अढाई सय अवैध हतियार संकलन

दैलेख : गैरकानुनी रूपमा सर्वसाधारणले राखेका २ सय ४६ थान भरुवा बन्दुक प्रशासन र प्रहरी कार्यालयले संकलन गरेको छ । साना तथा ठूला अवैध हातहतियार बुझाउने गृहमन्त्रालयको उर्दीअनुसार जिल्ला प्रहरी कार्यालय, दैलेखले सूचना जारी गरेपछि हतियार संकलन भएको हो ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी संकलन गरिएका हतियारबारे जानकारी गराएको हो । सूचना जारी गरेको महिनौँ बितिसक्दा पनि दैलेखमा अवैध हतियार संकलन नभएपछि दुईपटक म्याद थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिए । हत्याहिंसा र लुटपाटका घटना दिन प्रतिदिन बढ्दै गएपछि गृहमन्त्रालयले हतियार संकलन गर्ने सूचना जारी गर्न निर्देशन दिएको थियो ।
जिल्लाका विभिन्न प्रहरी इकाईमार्फत २ सय ४६ थान अवैध हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । संकलित हतियार बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । २२ दिनको अवधिमा उक्त बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रज्ज्वल महर्जनले बताए । जिल्लामा १५ सयभन्दा बढी अवैध हतियार रहेको अनुमान गरिएको छ । ‘सरकारले दिएको समयसीमाभित्र अवैध हतियार नबुझाउनेले पछुताउनुपर्ने अवस्था आउनेछ,’ प्रमुख जिल्ला अधिकारी थपलियाले भने । (सौस)

प्रतिक्रिया