मनोनीत गर्ने सदस्यबारे एमालेमा विवाद

काठमाडौं, १६ वैशाख । केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा स्थायी समितिमा सहमति हुन नसक्दा एमालेको पोलिटब्युरो बैठक २२ वैशाखसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यको मनोनयन, निर्वाचन अभियान र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकका विषयमा छलफल गर्न आइतबार पार्टी मुख्यालय बल्खुमा स्थायी समितिको बैठक बसेको थियो ।

केन्द्रीय कमिटीमा मनोनयन गर्ने नाम र महाधिवेशनमा चुनाव हारेका उम्मेदवारलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि पोलिटब्युरोको बैठक २२ र २३ वैशाखका लागि डाकिएको हो । मनोनयनमा स्थायी समितिले प्रस्ताव तयार गरी पोलिटब्युरो बैठकमा प्रस्तुत गर्न यसअघि पोलिटब्युरो बैठकले म्यान्डेट दिएको थियो ।
यसअघिको पोलिटब्युरो बैठकले चुनावी रणनीति तय गरी तीनमहिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटीमा सदस्य मनोनयनको खाका तयार गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो ।
आइतबार दिउँसो र साँझ गरी दुईपटक स्थायी समितिको बैठक बसेको थियो । तर, मनोनीतको नाममा अन्तिम सहमति जुट्न नसकेपछि पोलिटब्युरो बैठक २२ र २३ वैशाख र केन्द्रीय कमिटीको बैठक २५ र २६ वैशाखमा गर्ने निर्णय भएको छ । ‘केन्द्रीय कमिटी सदस्यहरूको मनोनय, चुनावी अभियान र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बसेको थियो’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘मनोनयन गर्ने सदस्यहरूको नाममाथि अझै टुंगो लागेको छैन, २२ गतेको पोलिटब्युरो बैठक अगाडि टुंगो लगाउने कुरा भएको छ ।’ मनोनीत हुने केन्द्रीय कमिटी सदस्यहरूको नाम स्थायी समितिले प्रस्ताव गरेपछि क्रमश: पोलिटब्युरो र केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।
केन्द्रीय कमिटीको पूर्णसंख्याको ५ प्रतिशत र पार्टी छाडेका र कारबाहीमा परेका गरी १५ जना सदस्य एमालेले मनोनयन गर्ने हुन्छ । तर, स्थायी समितिले ५ प्रतिशत मनोनयन गर्ने कोटाबाहेक पार्टी छाडेका उपाध्यक्ष अशोक राईसहित ७, कारबाहीमा परेका रवीन्द्र श्रेष्ठ र केन्द्रीय सदस्य डिल्लीबहादुर महतको निधन भएपछि रिक्त भएको एकसहित ९ स्थानमा मात्रै मनोनयन तत्काल गर्ने निर्णय गरेको छ ।
पहिले नै पार्टी छोडेका नेता कार्यकर्तालाई पार्टीमा फर्काउने र अन्य कम्युनिस्ट समूहसँग एकता गर्ने प्रयास पनि अघि बढेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म ५ प्रतिशत सदस्य मनोनयन नगर्ने नीति एमालेले अख्तियार गरेको छ । पार्टीका पुराना नेता कार्यकर्तालाई पार्टीमै फर्काउन तथा कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न एमालेले समिति गठन गरेर अभियान नै चलाएको छ ।
पाँच प्रतिशत मनोनयबाहेक रिक्त रहेका ९ स्थानमा मात्रै तत्काल मनोनयन गर्ने एमाले स्थायी समितिको निर्णय छ । स्रोतका अनुसार केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि स्थायी समितिमा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, काठमाडौंका सानु श्रेष्ठ, धनकुटाका शेरधन राई, अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राई, पाँचथरका गणेश काङमाङ, अखिलका पूर्वअध्यक्ष हिक्मत कार्की, पूर्वकेन्द्रीय सदस्य रामनाथ ढकाल, भीम आचार्य, युवराज कार्की, लालमणि चौधरी र डम्बर साम्बाहाम्फे र वैकल्पिक सदस्यमा काठमाडौंकै वसन्त मानन्धरलगायतको नाम प्रस्ताव गरिएको थियो । तर, महाधिवेशनमा चुनाव हारेकालाई मनोनयन गर्ने वा नगर्ने विषयमा नेताहरूबीच सहमति हुन नसकेपछि थप गृहकार्यका लागि भन्दै पोलिटब्युरो बैठक २२ वैशाखमा पुर्‍याइएको हो ।
दिउँसो बसेको स्थायी समिति बैठकमा केन्द्रीय समितिमा मनोनयनका लागि प्रस्तुत गरिएका नाममा सहमति हुन नसकेपछि शीर्ष नेताहरूबीच छलफलका लागि भन्दै स्थगित गरिएको थियो । साँझ फेरि स्थायी समितिको बैठक बसेको थियो । दिउँसोको बैठकमा केन्द्रीय कमिटीमा विधानअनुसार मनोनयन गर्नुपर्ने ५ प्रतिशतबाहेक रिक्त रहेका ९ सदस्य मात्र तत्काल पूर्ति गर्ने सहमति गरेका थिए ।

प्रतिक्रिया