चाँडो चुनाव गर्न भारतीय नेताको सुझाव

काठमाडौं, १६ वैशाख । चाँडो संविधानसभा चुनाव गरी देशमा लोकतन्त्र संस्थागत गर्न भारतीय नेताहरूले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । लोकतन्त्र बलियो नभएसम्म विकास र स्थिरता कायम नहुने भन्दै उनीहरूले चाँडो चुनावमा जान सुझाएका हुन् ।

चारदिने भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष दाहालले आइतबारदेखि राजनीतिक भेटघाट थालेका छन् । उनले आइतबार भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, कांग्रेस आईका महासचिव दिग्विजय सिंहलगायत नेतासँग छलफल गरेका छन् ।
भेटमा दाहालले मंसिरमा संविधानसभा चुनाव हुनेमा विश्वस्त रहन भारतीय नेताहरूलाई आग्रह गरे । उनले चुनावमा सघाउन पनि भारतीय नेताहरूलाई आग्रह गरे । अब बन्ने संविधानसभाबाट जनताको पक्षमा संविधान बन्नेमा आफू विश्वस्त रहेको जानकारी पनि दाहालले गराए ।
आफू भारतविरोधी नभएको दाहालले भेटका क्रममा नेताहरूलाई जानकारी गराएका थिए । दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएर लैजानुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको उनले बताएका थिए । नेपाल–भारतबीचको सदियौँको सम्बन्धलाई थप उचाइ दिन आफ्नो पार्टी र नेपाल सरकार सदैव प्रतिबद्ध रहेको दाहालले प्रस्ट पारे ।
भारतीय नेताले पनि नेपालमा छिटो चुनाव भएर स्थायित्व कायम होस् भन्ने चाहना व्यक्त गरेको उनले उल्लेख गरे । भाजपा अध्यक्ष सिंहले नेपालमा चुनाव भएर लोकतन्त्र बलियो नभएसम्म विकास र स्थिरता कायम हुनै नसक्ने भएकाले तत्काल चुनावमा जान सुझाव दिएको दाहालले बताए ।
नेपालमा चुनाव गर्न प्रमुख दलबीच भएको पछिल्लो सहमतिलाई सकारात्मक भन्दै अध्यक्ष सिंहले सबै दललाई मिलेर चुनाव सफल बनाउन सुझाव दिए । शान्तिप्रक्रिया टुंग्याउने कार्यमा एमाओवादीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेता सिंहले दाहाललाई शुभकामनासमेत दिए ।
दाहालको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनले बताए । दाहालसँग
आफ्नो सकारात्मक कुराकानी भएको बताउँदै भाजपा अध्यक्ष सिंहले दुई देश, दुई पार्टी र जनताबीचको सम्बन्ध अझै बलियो हुनेमा विश्वास व्यक्त गरे ।
कांग्रेस आईका महासचिव दिग्विजय सिंहले पनि संविधानसभा निर्वाचन गर्न दलबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको दाहालले बताए । नेपालमा चुनावपछिको राजनीतिक स्थायित्व हेर्ने भारतको चाहना रहेको उनले दाहाललाई सुनाएका थिए । ‘नेपालमा जे भइरहेको छ सकारात्मक भएको छ, यसबाट हामी खुसी छौँ’, उनको भनाइ उद्धृत गर्दै दाहालले सञ्चारकर्मीमाझ भने ।
महासचिव सिंहले नेपालमा चुनाव कसरी गर्ने, कस्तो गर्ने भन्ने नेपाली जनताले निर्णय गर्ने विषय भएकाले त्यसमा आफूहरूको सद्भाव र सहयोग मात्रै रहने उल्लेख गरे । ‘भेटमा नेपाल र भारतका हितमा निकै लामो कुराकानी भयो, यसले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थप्नेमा हामी विश्वस्त रहेका छौँ,’ दाहालसँग भेटपछि सिंहले भने ।
यसैबीच, अध्यक्ष दाहालले आइतबार नै भारतमा रहेका आफ्ना पार्टीनिकट प्रवासी नेपालीसँग अन्तरक्रिया गरेका छन् । चुनावी सरकारलाई सबैको सहयोग र समर्थन रहेको भन्दै उनले जस्तोसुकै कठिन परिरिस्थितमा पनि आगामी मंसिरमा चुनाव भएरै छाड्ने धारणा राखे ।
दाहालको स्वागतमा
गरिएको रात्रिभोज बहिष्कार
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको स्वागतमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोज प्रवासी नेपाली सम्बद्ध संघसंस्थाले बहिष्कार गरेका छन् । बहालवाला राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको स्वागतमा रात्रिभोज गर्ने परम्परा तोड्दै पूर्वप्रधानमन्त्रीका हैसियतमा दाहालको स्वागतमा दूतावासले कार्यक्रम गरेको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।
नेपाली कांग्रेस समर्थित प्रवासी नेपाली जनसम्पर्क समिति, एमालेनिकट प्रवासी नेपाली भारत संघ र राष्ट्रिय जनमोर्चानिकट मूलप्रवासी एकता समाजले रात्रिभोज बहिष्कार गरेका हुन् । दूतावासले चाकडी गर्न भोज आयोजना गरेको उनीहरूको आरोप छ । नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले देशको ढुकुटी सकेर एउटा पार्टीको अध्यक्षका लागि भोजमा खर्च गर्नु जायज नभएकाले बहिष्कार गरेको बताए । शक्ति पूजाको शैलीले गलत नजिर र परम्परा बस्ने उनले दाबी गरे । (सौस)

प्रतिक्रिया