फाइनलमा बिबी खेलकुद महासंघ र गुहेश्वरी गण

Bhaktapur-Vollyblभक्तपुर, १५ वैशाख । मध्यपुर ठिमीको बोडेमा सञ्चालन भइरहेको राष्ट्रव्यापी प्रथम खुला पुरुष भलिबल प्रतियोगिताको खेल विश्व विद्यालय खेलकुद महासंघ र सशस्त्र प्रहरी बल गुहेश्वरी गण फाइनलमा प्रवेश गरेको छ ।

मध्यपुर खेलकुद समूहले आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा विश्व विद्यालय खेलकुद महासंघले श्री पद्म उच्च माविलाई २५–१६, २५–१८ र २५–१३ को सोझो सेटले पराजित गरेको थियो भने खेलमा महासंघका रोम श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यसैगरी शनिबारै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल गुहेश्वरी गणले आयोजक मध्यपुर खेलकुद समूह (रातो) लाई २५–२३, २५–१४ र २५–१६ ले पराजित गरेको थियो । अत्यन्त कडा प्रतिस्पर्धाका बीच सम्पन्न उक्त प्रतियोगिताको सशस्त्र प्रहरीका रणबहादुर नगरकोटी म्यान अफ द म्याच घोषित भएका थिए ।
दुवै खेलमा घोषित म्यान अफ द म्याचको पुरस्कार नेपाली कांग्रेस भक्तपुर जिल्लाका सभापति गणेशमान चक्रधरले प्रदान गरेका थिए ।
प्रतियोगिताको फाइनल तथा त्रेस्रो स्थानको खेल १८ गते हुने भनिए तापनि प्राविधिक कारणले गर्दा प्रतियोगिताको अन्तिम खेल वैशाख २३ गते हुने भएको छ । सोही दिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण हुने कार्यक्रम तय भएको सह–आयोजक बोडे स्पोर्टस् क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतीले जानकारी दिएका छन् ।
देशभरका विभिन्न नौ वटा समूहले भाग लिएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूहलाई क्रमश: २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रशंसापत्र प्रदान गरिने अध्यक्ष प्रजापतीले जानकारी दिए ।

प्रतिक्रिया