नामले भन्दा लुटकी पुतली भनेर चिन्छन्

Srijana-Subbaउदयपुर, १५ वैशाख । मोडलिङ हुँदै रंगमञ्च रोजेकी मोरङ राजघाट आम्बारीकी सिर्जना सुब्बा अहिले रंगमञ्चमार्फत नै चिनिएकी छिन् । यहाँसम्म आइपुग्दा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेको उनी बताउँछिन् । हाल, सिर्जना रंगमञ्चमै व्यस्त छिन् । आवाज, दीपशिखा र लुटलगायत आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्रि सिर्जना अफर आयो भने फिल्ममा निरन्तरता दिने सुनाउँछिन् । उनी भन्छिन्—‘किनकी म कलाकार हुँ, यो गर्छु, त्यो गर्दिन भन्दिनँ ।’

सुब्बाले आजसम्म मैना, कुमारजी आज्ञा गर्नुहुन्छ, चेरीको बगैँचा, माइला डटकम, साहुनीको पसलमा माइलाको व्यापार, चरणदास चोर, मिस जुली–जुली मैयाजस्ता नाटकमा अभिनय गरिसकेकी छिन् । लिम्बू चलचित्रकर्मी संघ र जनजाति चलचित्र संघमा पनि आवद्ध छिन् । उनीसँग गरिएको कुराकानी उनकै शब्दमा :
मेरो घर मोरङको ग्रामीण क्षेत्र राजघाट गाविस वडा नम्बर ८ डाडाँटोलमा पर्छ । अहिले म नाटक, फिल्म र मोडलिङमा एकैसाथ लागिरहेकी छु । सार्वजनिक निमावि आम्बारीमा र राधिका उच्च मावि उर्लाबारीबाट मैले एसएलसीसम्मको अध्ययन सकेर राजधानी छिरेकी हुँ । साथीहरूको लहैलहैमा लागेर यो क्षेत्रमा प्रवेश गरँे । साथीहरूले मलाई मोडलिङमा जम्न सक्छेस् भनेर उस्काउँथे । साथीहरूको हौसला र प्रेरणाले गर्दा आज यहाँसम्म आइपुगेकी छु । मोडलिङ र थियटर हँुदै अहिले फिल्मी क्षेत्रमा समेत प्रवेश गरिसेकेकी छु । यही क्षेत्र नै मेरो बाँच्ने आधार बनेको छ । राजधानीको बसाइँले कहिलेकाहीँ मात्र घर आउने समय मिल्छ, घरपरिवार र साथीभाइलाई भनेको बेला समय दिन नपाउँदा कहिले दु:ख लागेर आउँछ । समयको तालिका अनुसार कहिले चल्न नसकिँदो रहेछ ।
कामको सिलसिलामा कहिले १२ बजे रातितिर पनि हिँड्नु परेको छ । कहिलेकाहीँ दिक्क लागेर छोडौँ जस्तो लागेर आउँथ्यो । तर, छोड्नु हुँदैन किनभने यही नै मेरो करियर हो भनेर समस्याहरूसँग जुध्दै आएँ ।  रंगमञ्चमा ०६२ देखि आएकी हुँ ।  काठमाडौंमा रहँदारहँदै चिनेजानेका दाइहरूमार्फत् मलाई नाटक खेल्ने अफर आयो । पश्चिमाञ्चलमा भएको कार्यक्रममा भाग लिएँ, पश्चिमाञ्चल क्षेत्रीय थिएटर अवार्ड–०६२ पाएकी थिएँ । काम खुलेर गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोचाइ । बुझ्दै गएपछि यो क्षेत्र राम्रो लाग्यो, त्यहीअनुसार अहिलेसम्म निरन्तरता दिइरहेकी छु ।
थियटरकर्मी बन्न मैले धेरै संघर्ष गरेकी छु । थिएटरकर्मी बन्न पहिलो कुरा दृढ संकल्प हुनुपर्दोरहेछ । मान्छेमा कुनै पनि काम गर्ने इच्छा भएर मात्र हुँदैन, गर्छु भन्ने आँट हुनुपर्छ । यस्तो काममा तत्काल रिजल्ट होइन, त्यसैले काम गर्दै जाँदा आवश्यक फल प्राप्त हुन्छ, जस्तो लाग्छ । फिल्मले मलाई धेरै माथि पुर्‍यायो । फ्यानहरू पनि धेरै हुनुहुन्छ । उहाँहरूलाई म मेरो सफलताको प्रतिक मान्छु  । फिल्मजस्तो नाटक विधा होइन । वास्तविकता उतार्नलाई चानचुने मिहिनेतले सम्भव पनि छैन । तर, बारबार त्यही गरिरहेपछि राम्रो हुँदै जाँदोरहेछ । तर, अभिनय गरिसकेपछि म हराउन चाहान्छु दर्शकबाट । मैले अभिनय गर्दा यहाँ अथवा त्यहाँ बिगारे भनेर खड्किरहन्छ । यस्तो गरेको भए बेस्ट हुन्थ्यो भन्ने भान हुन्छ । सबैले राम्रो छ भन्नुहुन्छ । तर, मैले काहाँ गल्ती गरे थाहा पाइरहेको हुन्छु । यस क्षेत्रमा काम गर्दै जाँदा म त पृथक क्षेत्रमा पो लागेकी रहेछु भन्ने अनुभव भएको छ ।
मलाई सिर्जना सुब्बाभन्दा पनि लुटकी पुतली भनेर दर्शकले चिन्ने गरेका छन् ।
मेरो फिल्मी करिअरलाई लुटले निकै माथि उठाएको छ । आवाज फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेकी हँु । त्यस फिल्ममा  माओवादी महिलाको भूमिकामा जीवन्त अभिनय गरेको प्रतिक्रिया पाएँ । त्यसपछि मलाई त्यस्तै भूमिकाहरूका लागि प्रस्ताव आउन थाल्यो तर फरक शैली र भूमिकामा अभिनय गर्ने रहर भएकाले अस्वीकार गरे । मलाई कलाकारभन्दा पनि माओवादी जनसेना भनेर चिन्न थालेछन् । फिल्ममा तत्काल भएको विषय देखाउन असम्भव हुँदोरहेछ । तर, नाटकले ‘करेन्ट इस्यु’ देखाउन सकिन्छ । फिल्ममा अभिनय सजिलो छ तर नाटकमा मेहनत बढी गर्नुपर्ने हुन्छ ।
मलाई त रंगमञ्चबाटै सुन्तुष्टि मिलेको छ । मैले अभिनय पनि रंगमञ्चमै खुलेर गर्न पाएकी छु । अहिले नेपाली फिल्म बन्ने काम मात्र भएको छ । चलचित्र बरु थोरै बन्नुपर्छ, गुणस्तर बन्नुपर्छ भन्ने मेरो बुझाई हो । मैले बाल्यकालतिर हेरेका नेपाली फिल्महरू मलाई प्राय: सबै मन पर्थे । तर, अहिले नेपाली फिल्म हेर्न त्यति चासो लाग्दैन । यति हो, नेपाली फिल्ममा हिरो र हिरोइनको अफेयर, फाइट, गीत मात्र हुन्छ । नेपाली फिल्ममा रूपरंग भन्दा पनि अभिनयमा दक्ष कलाकारलाई प्राथमिकता दिनुपर्ने मेरो सुझाव छ । कथामा नयाँपन भयो भने नेपाली फिल्मले सफलताको फड्को मार्ने विश्वास गर्छु । तर नयाँपन भएको फिल्म आयो भने त्यसलाई कपि पेस्ट गर्ने चलन छ । यो राम्रो होइन् । समयको माग अनुसार ग्ल्यामरको मामलामा एक्सपोज हुनु मेरा लागि ठूलो कुरो होइन् । चलचित्र क्षेत्रमा महिला असुरक्षित भन्ने कुराहरू बजारमा आउने गरेका छन् । यो आफूमा भर पर्ने कुरो हो, मैले अहिलेसम्म कहिल्यै असुरक्षित महसुस गरेकी छैन् । मानिसहरूले कसले कति कमाउँछ भन्दा पनि कसले कति बचाउँछ भन्ने कुराचाहिँ ठूलो रहेछ । मैले जे होस् यही क्षेत्रमा बाँच्ने आधार बनाएकी छु । हाइफाई त होइन, नर्मल मेरो जीवन चलिरा’छ ।
फिल्ममा काम गर्नका लागि अफरहरू आइरहेका छन्  । म फिल्मको कथा हेरेर मात्र अभिनय गर्न तयार हुन्छु । फिल्म र मोडलिङमा अफर आए खेल्ने हो, तर त्यसकै लागि भनी मरिहत्ते गर्दिनँ । थियटरबाट फिल्ममा आउनेहरूको संख्या थपिँदै गएको छ । म राजधानी प्रवेश गरेसँगै व्यावसायिक छु किनकी मलाई राम्रो नृत्य गर्न आउने भएकाले स्टेज कार्यक्रमबाट बाँच्ने गरेकी थिएँ । ४ वर्ष भयो व्यावसायिक भएको थाहा पाएको । नत्र अरूबेला घरपरिवारकै भर पर्ने गर्थें । एउटा स्कुलमा नृत्यशिक्षिका भएर काम गरिरहेकी छु । नाटक पनि खेलिरहेको छु । मैले जानेको पेसा नै अभिनय हो यसलाई व्यवस्थित बनाउन लागि पर्नेछु । पछि गएर निर्देशनमा लाग्ने मन छ । प्रेम प्रस्ताव पनि धेरै आउँछन् । मलाई व्यस्तताले माया प्रेममा रुमलिने फुर्सद छैन । कसैले मलाई माया गर्छ भने म त्यसलाई नराम्रो ठान्दिनँ पनि ।

प्रतिक्रिया