खोजखबर

तीन महिनापछि बल्ल सुहागरात

सौर्य अनलाइन २०७० वैशाख १५ गते २:४७ मा प्रकाशित

BB-anuragiमैले मागी बिहे गरेको हुँ । बिहेअघिको प्रेम कस्तो हुन्छ, त्यसको अनुभव छैन । तर, लभ गरेर बिहे गर्नेहरूको भन्दा निकै मजबुत लाग्छ मलाई आफ्नो वैवाहिक सम्बन्ध । प्रेमविवाह र मागी जे भए नि आखिर दुवै बिहेका प्रकार नै हुन् । मेरो विचारमा विवाह भनेको एउटा चिठ्ठा हो । कसको भागमा कस्तो फल आइपर्छ, त्यो केही वर्षको अन्तरालमा मात्रै थाहा हुन्छ । तर, यो चिठ्ठा टिपाइमा म भने भाग्यमानी साबित भएको छु । आफूलाई एकदमै सफल ठान्छु ।

बिहेअघि कुनै केटीसँगको प्रेमचक्करमा परिनँ म । मेरो बाल्यकाल बाग्लुङको भकुन्डे गाविसस्थित इन्द्रेणी गाउँमा बितेको हो । सानोमा म एकदम चन्चले । स्कुल भर्ना हुनै मानिनछु । कारण– मलाई मादल चाहिएको रहेछ । बुबाआमाले मादल किनिदिएपछि मात्रै म स्कुल जान माने रे † बुबाआमा अहिले सुनाउनुहुन्छ । बाल्यकालदेखि नै म बाँसुरीलगायत वाद्यवादन बजाउन निकै जान्ने भइसकेको थिएँ । आठ कक्षामा पढ्दा त आफैँले सारंगी बनाउन सकेँ । सानै उमेरदेखि मेरो यिनै बाजागाजा अनि संगीतप्रति प्रेम बस्यो । तिनैप्रति आकर्षण बढ्यो । सायद यसैकारण विपरीतलिंगीय प्रेमतिर मलाई सोचै आएन त्यस बखत ।
टोलमा मात्र होइन, स्कुलमा हुने कार्यक्रममा पनि बाँसुरी बजाउन परे मेरै खोजी हुन्थ्यो । म सरकारी स्कुलमा पढ्थेँ, बोर्डिङ स्कुलहरू पनि आफ्ना सांगीतिक कार्यक्रममा बाँसुरी बजाउन मैलाई बोलाउँथे । म सानै उमेरमा आफ्नो गाउँठाउँका लागि व्यावसायिक बाँसुरीवादक भइसकेको थिएँ । सुरुमा त्यत्तिकै बजाउँथेँ, पछि पारिश्रमिकको डिमान्ड गर्न थालेँ ।
मेरो बाँसुरीको धुनमा लट्ठिनेहरूको भीडमा केही केटी यस्ता पनि रहेछन्, जो मप्रति आकर्षित भएछन् । मेरो शारीरिक बनावटको आकर्षण पनि हो कि † मलाई केही प्रेमप्रस्ताव आएका थिए, पत्रको माध्यमबाट । तर, मैले आजसम्म पनि त्यस्ता कुनै चिठीको उत्तर फर्काएको छैन । कतिपय केटीसाथी जानीजानी नजिकिन खोज्थे तर म तिनीहरूलाई वास्तै गर्दैनथेँ । मलाई प्रेमको चाहनै हुन्नथ्यो, अझ भनौँ वास्तै थिएन । फेरि डर पनि थियो । ध्यान एउटा कुरामा केन्द्रित हुन्थ्यो– केटीसँग हिमचिम बढाए समाजमा बसिसाध्य हुँदैन, ध्यान पुर्‍याउनुपर्छ बेलैमा ।
म किशोरावस्थामै छँदा बुबा बित्नुभयो, जतिबेला मैले भर्खरै एसएलसी पास गरेको थिएँ । त्यसपछि मेरो पारिवारिक जिम्मेवारी अझ बढ्यो । बैँसमा उत्ताउलिएर हिँड्ने मौकै पाइएन, वास्ता पनि थिएन । कलेज अध्ययन गर्दाको हालत पनि त्यस्तै । नयाँनयाँ ठाउँबाट आएका नयाँनयाँ अनुहारका केटी देखिन्थे । तर, खोइ आफूलाई इन्ट्रेस्ट नै जागेन । बिहेभन्दा अगाडि कुनै पनि खाले प्रेमप्रसंगमा रमाउने फुर्सद पाइएन ।
०००
जब मलाई अब बिहे गर्छु भन्ने लाग्यो, त्यसपछि सुरु भयो मेरो लवस्टोरी पनि । उनलाई पहिलोचोटि हेर्न जाँदैदेखि मनमा काउकुती लाग्न थालेको थियो । जिज्ञासा र उत्सुकता जागिरहेका थिए । ०६३ सालताका हाम्रो बिहे भएको हो, बुटवलको अमुवागाउँस्थित साथी अविरामको मध्यस्थतामा । ऊ मलाई सधैँ भन्थ्यो– ‘बिहे गर्ने भए भन्नु, म मेरै गाउँकी चेली मिलाइदिउँला ।’ उसैले मिलाइदिएकी केटी । नाम– सुनिता सुनार रहेछ । म उनलाई भेट्न काठमाडौँबाट बुटवलतिर लागेँ । त्यो पहिलो भेटमा अविराम पनि सँगै थियो । उनीहरू मलाई बुटवलको पत्थरडाँडास्थित रेस्टुरेन्टमा कुरेर बसिरहेका रहेछन् । म जामका कारण तय गरिएको समयभन्दा ढिलो पुगेँ ।
उनलाई पहिलोचोटि देख्नेबित्तिकै म भित्रभित्रै आत्तिएँ । म ३० वर्ष पुगिसकेको मान्छे, उनी जम्मा २२–२३ वर्षकी । अझ म त उनलाई १७–१८ की पो देखिरहेको थिएँ । उमेरको यही बेमेलका कारणले उनले नकार्ने हुन् कि भन्ने लागिरहेको थियो । तर, हेराइ आकर्षणमा अनि आकर्षण प्रेममा बदलिन कति नै समय लाग्दो रहेछ र ? माया यति बलियो हुँदो रहछ कि न जातले रोक्न सक्ने न उमेरले । पहिलो भेटमै उनले मलाई मन पराइन्, मैले पनि ।
त्यो भेटमा अलिअलि परिवारका कुरा भए । आआफ्ना सकारात्मक अनि नकारात्मक पक्षहरूबारे गफ भए । हाम्रो विचार मिल्दो रहेछ, त्यसैले त्यो भेट लाभदायक ठहरियो । केही समय कुरा गरेपछि छुट्टियौँ । त्यसअघि फोन नम्बर साटासाट गर्‍यौँ । अब फोनमा कुराकानी हुन थाल्यो । मन मिलेपछि आआफ्ना परिवारमा कुरा चलायौँ । दुवैतिर राजी भएकाले लगन हेरियो । पहिलो भेट भएको पाँचौँ दिनमा त हामी पतिपत्नी बनिहाल्यौँ ।
बुटवलको सिद्धबाबा मन्दिरमा हाम्रो बिहे भएको । मेरो परिवारबाट आमा र भाइ गएका थिए । साथमा नारायण रायमाझी दाइ पनि हुनुहुन्थ्यो । मेरो विवाहको जन्ती भनेकै उहाँ एक जना मात्र । उनलाई सिन्दूर हाल्ने बेला आयो, उनी मलाई झन्झन् आफ्नी लागिरहेकी थिइन् । सँगसँगै अब घरजम कसरी अगाडि बढाउने भन्ने जिम्मेवारीबोध पनि हुँदै थियो ।
मलाई लाग्छ– विवाहपछि जस्तै मान्छे पनि परिपक्व हुने रहेछ । सानै उमेरमा विवाह गरेका केटाहरू किन परिपक्व हुन्छन् भन्थेँ पहिले । त्यसपछि बोध हुने कर्तव्यले पो त्यस्तो बनाउँदो रहेछ । उमेरले तीन दशक छोए पनि बिहेअघि म खासै परिपक्व थिइनँ । मनलागी हिँड्थेँ, पैसा फुर्मास गर्थेँ । विवाहपछि यी सबै बानीमा आफसेआफ परिवर्तन आएको छ । पत्नीका लागि भए पनि आफू परिपक्व बन्नुपर्छ भन्ने हुँदो रहेछ । परिपक्व व्यवहार नदेखाए पत्नीका अघि नामर्द ठहरिइने हो कि भन्ने पो लाग्दो रहेछ त †
विवाहपछि उनलाई सिधै काठमाडौं ल्याएँ । दुवैतिरका परिवारका सदस्य यहाँ पनि थिए । यहाँ आएपछि मेरोमा दुलही हेर्न आफन्तको भीड लागेको थियो । आफन्तहरू आउने क्रम दुई–तीन दिनसम्मै चल्यो । कोठा छुट्टै थिएन । सबै जना लहरै मिलेर सुत्नुपर्ने भएकाले सुहागरातको आनन्द तत्काल लिन पाइएन । तीन दिनपछि दुलन फर्काउन गइयो । त्यति बेला पनि उनको एक्जाम थियो । डिस्टर्व होला भनेर त्यत्तिकै बसेँ । त्यहाँ पनि सुहागरात मनाउन पाइएन ।
प्रसंगहरू यति जटिल बन्दै गए कि म त्यहाँबाट सीधै काठमाडौं आउनुपर्ने भयो । एक्जामका कारण उनी उतै बसिन् । बिहेको करिब तीन महिनासम्म बेग्लाबेग्लै भयौँ । उनको एक्जाम सकिएपछि पोखरा गएर सुहागरात मनाउने योजना थियो । त्यही समयमा ससुराबुबा सिकिस्तै बिरामी पर्नुभयो । म बुटवल पुगेर ससुराबुबासहित उनलाई काठमाडौं लिएर आएँ । बुबाको उपचार गराउँदैमा व्यस्त भइयो । तर, उहाँलाई बचाउन सकिएन । हाम्रो सुहागरात अझै भएको थिएन । यस्तै उपक्रमहरूले गर्दा हामीले बिहेको पहिलो रातलाई सुहागरातका रूपमा मनाउन पाएनौँ । करिब तीन महिनापछि बल्ल हामीले त्यो मौका पायौँ ।
०००
एक वर्षपछि ०६४ साल चैत १९ गते छोरी शिक्षा रसाइली जन्मिइन् । डाक्टरले तोकिदिएको मितिभिन्दा तीन महिनाअगाडि नै उनले धर्ती टेकेकी हुन् । दाम्पत्य सम्बन्धका हिसाबले म आफ्नो भाग्यमा खोट लगाउनुपर्ने ठाउँ कुनै देख्दिनँ । उनको साथले नै मलाई यो स्थानमा ल्याइपुर्‍याएको हो । मेरो पेसालाई सम्मान गर्छिन् ।
कहिलेकाहीँ सानोतिनो कुरामा ठाक्कठुक्क त चली नै हाल्छ, पतिपत्नीबीच । सानातिना ठाकठुक नपरे मायाको ख्याल पनि त हुँदैन रे नि † यस्तो हुँदा एकअर्कालाई फकाउने बहाना पाइन्छ । माया झन् बढ्छ । बिहेपछि त अजम्बरी माया बसेको छ हामीबीच । अनि यसलाई आजीवन बनाउने प्रयत्न हामी दुवैबाट भइरहन्छ । प्रेमीप्रेमिकाको हकमा बिहेअघि मायाप्रेम बस्ला । तर हाम्रो माया त बिहेपछि बसेको हो । गहिरो माया, म आफैँलाई अकल्पनीय लाग्छ ।
बिहे पनि एकदमै सस्तो गरेँ मैले । खर्च पटक्कै गरिनँ । सायद संसारकै सबैभन्दा सस्तो बिहे मेरै होला । न समय धेर खर्च गर्नुपर्‍यो न पैसा । गरगहनामा एक पैसा पनि खर्च गरिएन । जन्ती जम्मा नारायण दाइ मात्रै हुनुहुन्थ्यो । गाडी पनि उहाँकै पो चढियो । भाडा दिन खोज्दा झन्डै रिसाउनुभएको । उहाँको त्यो आत्मीयता कहिल्यै भुल्न सक्दिनँ । संसारमा सबैभन्दा सस्तो बिहे गरेका सबैभन्दा सफल दम्पती हामी नै हौँ, पक्कै †
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय