नेपालमा कम्युनिस्ट पार्टी

Shyam-Adhikariनेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ६४ वर्ष नाघिसके छ । स्वर्गीय पुष्पलाल श्रेष्ठले वि.सं २००६ सालमा २२ अप्रिलमा्र कलकत्तामा गएर बंगाली कम्युनिस्टको निर्देशनमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको घोषणा गर्नु भएको थियो । त्यसबेला देशमा पार्टी खोल्नै नपाइने, झन् कम्युनिस्ट पार्टी खोल्न पाउने त प्रश्नै थिएन । यस्तो बेलामा कम्युनिस्ट पार्टी खोलो भन्नु मात्रै पनि महान् संघर्ष ठहरिन्थ्यो । पञ्चायत कालमा पञ्चायत र राजाको विरोध गरेर बोल्नु मात्रै पनि ठूलै संघर्ष ठहरिएझैँ, राणा कालमा कम्युनिस्ट शब्द मात्रै पनि संघर्षकै पर्याय थियो । युग यति धेरै परिवर्तित भइसकेको छ कि अहिले दर्जनाँै दर्जन कम्युनिस्ट पार्टी खोलेर हजारौँपटक कम्युनिस्ट आन्दोलन गरे पनि कुनै संघर्षको संज्ञा पाउन सकिँदैन, किनभने अहिले त कम्युनिस्ट पार्टी खोल्नु भनेको जीविका गर्न पसल खोल्नुजस्तो मात्रै हो । त्यसबेलाको कम्युनिस्ट संघर्ष देखे भोगेका नरबहादुर कर्माचार्य र त्यसपछिका कम्युनिस्ट नेता मोहनविक्रम सिंह, सिद्धिलाल सिंहआदि जीवितै रहनु भएकोले कम्युनिस्ट नामको भावना र त्यसमा आएको परिवर्तनका अनुभूतिका धनी उहाँहरू हुनुहुन्छ । त्यसबाट राष्ट्रले लाभ लिन सक्नुपर्छ भन्ने लागेको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएयता देशमा नागरिक अधिकारको स्थितिमा व्यापक परिवर्तन आइसकेको छ । यो नागरिक अधिकार प्राप्तिका लागि पनि नेपालका प्राय: सबै कम्युनिस्ट र कम्युनिस्ट पार्टीहरूले संघर्ष गरेका छन् । नेपालमा बहाल भएको नागरिक अधिकार कम्युनिस्ट आदर्श अनुरूपको होइन, बरु पुँजीवादी प्रकृतिको हो । त, पुँजीवाद साम्राज्यवादमा परिणत भैसकेकाले नेपालमा पुँजीवादको अर्थात् पुँजीवादी प्रजातान्त्रिक स्वरूपको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस एक्लैले संघर्ष गरेर पुँजीवादी नागरिक अधिकार बहाल हुन नसक्ने र नागरिक अधिकार बहाल भएपछि कम्युनिजम अर्थात् साम्यवादतर्फ अगाडि बढ्न सकिने हुनाले नागरिक अधिकारको बहाली पनि प्रगतिशील संघर्षकै उपज हो भन्ने सोच नेपालका कम्युनिस्टहरूमा रहेको छ । तर, वर्गसत्ता र कम्युनिजमलाई अन्तिम लक्ष र आदर्श ठान्ने कम्युनिस्टहरूले नागरिक अधिकारको बहालीलाई पहिलो स्टेपको रूपमा लिएर आफ्नो लाइतिर अगाडि बढ्नुपर्नेमा कम्युनिस्ट पार्टीलाई आफ्नो व्यवसाय बनाएर पद, प्रतिष्ठा, र पुँजी आर्जनको साधन बनाएर बसेका पाइन्छन् । हामीअगाडि बढ्दै छौँ भनेर जनतालाई ढाँट्ने र अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन पार्टीले जस्तो संसदीय प्रजातन्त्रवादी र गणतन्त्रवादी बनेर नागरिक अधिकारबाट फाइदा उठाउने काम गरिरहेका छन् । केही स–साना कम्युनिस्ट समूह पनि छन् जो आफूलाई जोगी, मठको महन्तका रूपमा कार्यकर्तालाई कमारा कमारी बनाएर बाँचुन्जेल ऐश गर्न चाहन्छन् । तिनमा ठूला कम्युनिस्ट पार्टीप्रतिको ईष्र्या, द्वेष र मठाधीश बन्ने इगोबाहेक कुनै विचार, लक्ष र मौलिकता केही छैन ।
कम्युनिस्ट आदर्श भनेको वर्गसत्ता र साम्यवाद नै हो । यो विचारको सिर्जना हुँदा प्रयोग भएको कम्युनिजम र त्यसको अनुवाद साम्यवादमा शब्दानुवाद होइन भावानुवाद मात्र भएको महसुस हुन्छ । कम्युनिजमले प्रणालीगत अर्थ दिन्छ भने साम्यवादले अवस्थालाई जनाउँछ । जे भने पनि रूढगत बनिसकेको कम्युनिजम या साम्यवाद भनेको एक वैज्ञानिक चिन्तन र भौतिक प्रणाली हो । विज्ञान भनेको कुनै विषयमा एउटा मात्र हुन्छ । यदि एउटै विषयमा पाइने कुनै ज्ञान धेरै भए भने सम्झनुपर्छ कि एउटा चाहिँ विज्ञान हो अरू सबै भ्रम या अज्ञान हुन् । त्यस्तै कम्युनिजम र कम्युनिस्ट पनि विज्ञानका दृटिले एउटा सही हो अरू सबै भ्रम हुन् या झुठा हुन्, किनभने विज्ञान त एउटै हुन्छ । सायद यही कारण होला वर्ग सत्ताको उपलब्धि र साम्यवादतर्फको अग्रगमनका दृष्टिले हेर्ने हो भने नेपालमा पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्दाभन्दा अहिले पनि परिस्थितिमा कुनै हिसाबले गुणात्मक परिवर्तन या क्रान्ति अथवा फड्को आएको छैन । तर, कम्युनिस्ट र कम्युनिस्ट पार्टीको संख्यामा यति धेरै वृद्धि भएको छ कि कुन विज्ञान हो र कुन भ्रम हो भन्ने छुटयाउन गाह्रारो छ । यसो भनेर ६० वर्षभन्दा लामो कम्युनिस्ट आन्दोलनको अवमूल्यन नै गरेको चाहिँ होइन र कसैले पनि यस्तो अपराध गर्न हुँदैन । नेपालमा कम्युनिस्ट नेता र कर्यकर्ताको अगुवाइ र पहलमा ठूल्ठूला किसान आन्दोलन भएका अनुभव छन् ।
क्रान्तिकारी चारुमजुमदारको विचारबाट प्रभावित झापा विद्रोह, माओवादी जनयुद्धको अवमूल्यन गर्नु भनेको दशौँ हजार कम्युनिस्टहरूको बलिदान र रगतको अवमूल्यन गर्नु हो । यसबाट नेपालमा ६० वर्षभित्र जेजस्तो जागरण र परिवर्तन आयो त्यो अद्भूत, आश्चर्यजनक र तुलनात्मकरूपले अरू देशकोभन्दा अग्रगामी नै छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताले देखे, भोगे र अनुभव गरेका कुरामा युगौँ युगको अन्तर पनि छ । तर, यति भए पनि कम्युनिस्ट आदर्श लक्ष्य र दिशातर्फ बढ्नुपर्ने जुन अपेक्षा हो, त्यो गुणत्मक दृष्टिले जहाँको त्यहीँ नै छ । दलित, शासित, शोषितहरूको, ग्रामीण किसान तथा अशिक्षित नेतृत्वविहीन र दिशाहीन छन् । शोषक वर्गको नेतृत्व फेरिएको त छ तर सेना, पुलिस र अदालतजस्ता राज्यसत्ताका साधनहरू शोषक वर्गको सेवामा सक्रिय छँदै छन् । सत्तामा गरिब, किसान र मजदुर वर्गको कुनै प्रतिनिधित्व छैन र उसको हितलाई प्राथमिकता छैन । यद्यपि कम्युनिस्टका नाममा मनमोहन अधिकारी प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र बाबुराम भट्टराई देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री भैसकेका छन् । नेपाली कम्युनिस्ट इतिहासको यो परिणतिलाई विचार गरेर नेपालका कम्युनिस्टहरूले आफ्ना आदर्श र लक्ष्यहरूलाई प्राप्त गर्ने दिशामा हामी गुणत्मकरूपले किन अगाडि जान सकेनौँ ? वर्ग सत्ता र वर्ग संघर्षको मौलिक र देशगत समयगत सही स्वरूप के ? वर्ग सत्ताको प्राप्तिका लागि सामयिक अर्थात् युगानुरूप कदम के ? भन्ने कुरामा अन्तरक्रिया, चिन्तन, बहस र प्रयोग अभ्यास आदि गर्नु प्रगति एवं पहलका दृष्टिले आवश्यक छ ।
निश्चय नै नेपाली कम्युनिस्ट आन्दोलनकाट यतिका वर्षपछि पनि गुणत्मक परिवर्तन आउन नसक्नुमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन पनि हो । यसकासाथै नेपालको मौलिक परिस्थितिको सही व्याख्या र विश्लेषण हुन नसक्नु पनि एउटा कारण हुनसक्छ । यति मात्र होइन, माक्र्स, एंगेल्स, लेनिन र माओ जस्ता चिन्तक र नेताहरूले आफ्नो समयमा वैज्ञानिक चिन्तन र प्रयोग गरेर जुन निष्कर्ष दिएका छन् ती नयाँ परिस्थितिमा अपर्याप्त भएका पनि हुन सक्छन् । जस्तै माक्र्सले श्रम र पुँजीका बारेमा व्यापक र विस्तृत विश्लेषण गरेर जुन निष्कर्ष निकालेका थिए उनको त्यो चिन्तन प्रणाली वैज्ञानिक हुँदाहुँदै पनि पुँजीवादको चरित्रमा आएको परिवर्तनले गर्दा आज असान्दर्भिक बन्न पुगेको छ । हुनसक्छ उनले परिकल्पना गरेको वर्गविहीन र राज्य सत्ताविहीन साम्यवाद भन्ने निष्कर्ष पनि कोरा आदर्श मात्र सावित होस् किनभने मानव कहिल्यै पूर्ण हँुदैन भनेर त माक्र्सवादले नै भनेको छ । अथवा जुन सरल रेखाको परिकल्पना गरिएको थियो, त्योभन्दा धेरै बांगो टिंगो रेखा इतिहासले कोर्न सक्छ । यस्ता कुराको वैज्ञानिक विश्लेषणभन्दा आफ्नै माखेसांलामा हराएका हाम्रो देशका कम्युनिस्ट र कम्युनिस्ट पार्टीहरूले अहिलेकै नीति कार्यनीतिबाट भने इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सक्लान् भन्नेमा विश्वास गर्ने ठाउँ छैन ।

प्रतिक्रिया