मेरो भ्रमण राष्ट्रको प्रतिनिधिका रूपमा : दाहाल

Puspakamal-Indianकाठमाडौं, १५ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रकै प्रतिनिधिका रूपमा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । चीनबाट फर्केको एक सातापछि शनिबार तीनदिने भारत भ्रमणमा निस्किएका दाहालले आºनो छलफल आर्थिक मुद्दामा केन्द्रित हुने बताए ।

भ्रमणअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित कुरा गर्दै दाहालले एमाओवादीको अध्यक्ष भए पनि आफू राष्ट्रकै प्रतिनिधिका रूपमा भारत जान लागेको जिकिर गरे । ‘पार्टी अध्यक्ष भए पनि राष्ट्रको प्रतिनिधित्व गर्दै भारत जाँदै छु । चीनजस्तै भारत भ्रमण पनि आर्थिक वातावरण बनाउने विषयमा छलफल केन्द्रित हुनेछ,’ उनले भने । दाहालले यसअघि नेपालको विकासका लागि त्रिदेशीय साझेदारी गर्नुपर्ने बताउँदै आएका थिए ।
भारत बसाइका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री डा. मनमोहन सिंह, विदेशमन्त्री, सत्तारूढ र विपक्षी दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । चार सदस्यीय भ्रमण टोलीमा पार्टी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, दाहालपत्नी सीता र सहयोगी शिव खकुरेल सहभागी छन् ।
भारतीय नेताहरूसितको छलफलमा आगामी संविधानसभा चुनावका लागि सहयोगको आग्रह गर्ने पनि अध्यक्ष दाहालले बताए । विगतदेखि भारतसित असहमति रहँदै आएको विषयमा भने छलफल नहुने उनले प्रस्ट पारे । जलस्रोत, रेलसेवा, पर्यटन र सडक विकासका लागि सहयोगको भारतसित आग्रह गरिने दाहालले बताए । भारत बसाइका क्रममा उनले त्यहाँका केही जलविद्युत् आयोजना र ठूला उद्योगको अवलोकनसमेत गर्नेछन् ।
अध्यक्ष दाहालले मंगलबार भारतीय प्रधानमन्त्री सिंह र विदेशमन्त्री सलमान खुर्सिदसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । यसलाई महत्त्वपूर्ण मानिएको छ । उनी मंगलबार नै स्वदेश फर्कनेछन् । भ्रमणका क्रममा दाहालले दुई देशबीचको सम्बन्धबारे भारतको विश्व मामिला परिषद्ले गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने बताइएको छ । विदेशी र नेपाल मामिलाविज्ञ मानिने भारतीय विज्ञहरूसँग उनले सोमबार छलफल गर्नेछन् ।
अध्यक्ष दाहालले गत १ वैशाखदेखि एक सातासम्म छिमेकी मुलुक चीनको भ्रमण गरेका थिए । चीनमा उनले राष्ट्रपति सी जिनपिङ तथा प्रधामन्त्रीसहित महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए ।

प्रतिक्रिया