यौन आशक्तिका कारण अपहरणमा परेका थिए अग्रवाल

ketiकाठमाडौं, १४ वैशाख । व्यापारी राजेशकुमार अग्रवाल युवतीप्रतिको यौन आशक्तिले अपहरणमा परेको प्रहरीको अनुसन्धानले देखाएको छ । नाम नखुलेकी २२ वर्षीया युवतीले नै उनलाई आºनो ‘यौवनको जाल’मा पारेर अपहरणकारीसम्म पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।
अग्रवाल सोमबार दिउँसो २ बजे कलंकीस्थित बाबा पेट्रोल पम्पबाट अपहरणमा परेका थिए । महानगरीय अपराध अनुसन्धानबाट खटिएका प्रहरी टोलीले अग्रवाललाई बिहीबार बिहान सकुशल मुक्त गरेको हो । अपहरणकारीले अग्रवालको परिवारसँग २ करोड रुपियाँ फिरौती रमक माग गरेका थिए ।
प्रहरीले अपहरणमा संलग्न कपिलवस्तु बनगाई–५ शंकरपुरका ५० वर्षीय जमिरुल्लाह मिनहार र सप्तरी बख्दुवा–२ छप्कीका ३७ वर्षीय मोहम्मद नसरुद्दिनलाई पक्राउ गरेको छ । अपहरणमा संलग्न अन्य तीन अभियुक्त भने फारार छन् ।
प्रहरीको फरार अभियुक्तहरूको स्केच सार्वजनिक गरिए पनि नाम भने सार्वजनिक गरेको छैन । त्यसमध्ये एक नाम नखुलेकी २२ वर्षीया युवती छिन् । सोही युवतीको यौन आशक्तिमा फसेका अग्रवाल अपहरणकारीको कब्जासम्म पुगेर तीन दिन बन्धक बनेको प्रहरीले जनाएको छ । अग्रवाललाई कीर्तिपुर–२ मैतीनगरस्थित शारदाप्रसाद चौधरीको निर्माणाधीन घरको तेस्रो तलामा बन्धक बनाएर राखिएको थियो । प्रहरीले उनलाई सोही स्थानबाट मुक्त गरेको हो ।
अग्रवालका दाजु राजीवकुमारले भाइ अपहरणमा परेको उजुरी महानगरीय अपराध अनुसन्धान महाशाखामा गरेका थिए । प्रहरीले अग्रवालको कल डिटेल्स हेरेर सुराक फेला पारेको थियो । उनी अपहरणमा परेपछि अपहरणकारीले फरक–फरक सिमकार्ड प्रयोग गरी विभिन्न स्थानबाट परिवारसित फिरौती रकम माग गरिरहेका थिए । प्रहरीले सबै कल डिटेल्स ‘ट्रयास’ गर्दै लग्यो । त्यसले ललितपुरको निर्माणाधीन घर देखाउँथ्यो ।
प्रहरीले कल डिटेल्सकै आधारमा अग्रवाललाई सोही घरमा बन्धक बनाइएको निक्र्याेल गर्‍यो । बिहीबार बिहान एक बजे नै सादा पोसाकमा प्रहरी घटनास्थल अग्रवाललाई बन्धक बनाइएको स्थानमा पुगेको थियो । कुकुर भुकेपछि योजना विफल हुने शंकैशंकाबीच प्रहरी घरभित्र प्रवेश गरे । बाहिरिँदै गरेको अवस्थामा दुई अपहरणकारीलाई प्रहरीले भर्‍याङमै समात्यो । बाहिरबाट साँचो लगाइएको बन्दकोठाभित्र अग्रवाल फेला परे ।
महाशाखाका प्रमुख एसएसपी विजयलाल कायस्तका अनुसार प्रविधिकै सहायताले अपहरणकारीको कब्जाबाट अग्रवाललाई सकुशल मुक्त गर्न प्रहरी सफल भएको हो । ‘निकै चलाखीपूर्वक हामीले पीडितलाई मुक्त गर्‍यौँ । त्यसबापत फिरौती रकम पनि बुझाउन परेन । विनाफिरौती अपहृत मुक्त भएको यो पहिलो घटना हो,’ उनले भने ।
यौन आशक्तिबाट अपहरणसम्म
अग्रवालका एक आफन्तले बताएअनुसार २० दिनदेखि अग्रवालको मोबाइलमा अपरिचित युवतीको फोन नियमित आइरहेको थियो । फरक–फरक नम्बरबाट फोन गर्ने ती युवती आफूलाई पोखरामा रहेको बताउँथिन । अग्रवाल पनि युवतीसित ‘रमाइलो गफ’ गरेर भुल्थे । फोनमै घनिष्टता बढ्दै गएपछि दुई जनाले भेट्ने निधो गरे, ९ वैशाखको दिउँसो ।
९ वैशाखको बिहान अग्रवाल वाफलस्थित साथीको झोला कारखानामा थिए । उनीसँगै थिए, मित्र अस्गर अली अन्सारी । युवतीसित भेट्न उनी उत्साही थिए । कारखानाबाट अन्सारीसँग अग्रवाल सुन्धारास्थित काठमाडांै मलसम्म आए । मलभित्रकै कफी सपमा चिया पिउँदै गर्दा ‘कलंकीमा कुरिरहेकी छु’ भन्दै ती युवतीले अग्रवाललाई फोन गरिन् ।
अग्रवालले आºनो स्टाफमार्फत मलसम्म मोटरसाइकल मगाए । अन्सारीले चलाएको मोटरसाइकलमा पछाडि बसेर अग्रवाल कलंकीस्थित बाबा पेट्रोल पम्प पुगे । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार त्यतिबेला दिनको ठीक २ बजेको थियो । अग्रवाललाई त्यहीँ छाडेर अन्सारी फर्किए ।
त्यसअघि कहिल्यै नदेखेको भए पनि टोलिफोन संवादका कारण अग्रवाललाई ती युवतीलाई चिन्न गाह्रो भएन । पातलो शरीर र गोलो अनुहारकी अन्दाजी २२ वर्षकी युवती क्रिम कलरको कुर्ता–सुरुवाल र हरियो स्विटरमा सजिएकी थिइन् ।
‘कोठामै पुगेर सबै कुरा गर्ने’ भनेपछि अग्रवाल युवतीको पछि–पछि लागे । करिब सात मिनेटपछि निर्माणाधीन घरको तेस्रो तलामा पुगे दुवै जना । अग्रवाललाई कोठामा छाडेर युवती ‘चिया बनाएर ल्याउने’ भन्दै बाहिरिइन् । त्यसको केही मिनेटमै मुखमा कालो मास्क लगाएका चार अपरिचित कोठाभित्र छिरे । उनीहरूले ‘तिमी अपहरणमा पर्‍यौ’ भनेपछि अग्रवाल जिल्लिए ।

के–के भयो तीन दिनमा ? 

मास्क लगाएका चार जना आएपछि झ्यालढोका सबै बन्द गरे । चलाखी गरे शरीर टुक्रा–टुक्रा पार्ने धम्की दिए । पूरै शरीर खानतलासी गरे । खल्तीमा रहेका विभिन्न बैंकका खाली चेक, एटिएम कार्ड, १२ हजार रुपियाँसहित विभिन्न कागजपत्र थिए । सबै उनीहरूले लिए । ‘तिमीलाई अपहरण गर्न भनी हामीले एक करोडको ‘सुपारी’ लिएका छौँ । त्यसमा थप एक गरी जम्मा दुई करोड रुपियाँ हामीलाई तिम्रो परिवारले दिनुपर्छ । अनि मात्रै हामी तिमीलाई छाड्छौँ’ भन्दै धम्क्याए ।
मेरो मोबाइल पनि उनीहरूले लिएका थिए । ‘दायाँ–बायाँ गरे गोली ठोक्छौँ, तिमीलाई ताकेर हाम्रा मान्छे बसिरहेका छन्’ भने । दुई जना बाहिर निस्किए । दुई जना कोठामै बसे । बाहिर गएका पनि फर्किएपछि उनीहरूले मेरो घरमा फोन गरेर ‘म पोखरा आएको छु’ भन्न लगाए । घरमा केही मिनेट गफ गर्न दिएपछि फोन खोसे ।
त्यसदिन राति भोक लागेपछि मैले उनीहरूसित खानेकुरा मागे । उनीहरूले सुरुमा पैसा छैन भने । मेरै पैसाबाट भए पनि खानेकुरा ल्याइदिन आग्रह गरेपछि दालभात र तरकारी ल्याइदिए । त्यसरात निदाउनै सकिएन । पिसाब फेर्न कोठामै व्यवस्था गरिएको थियो । तर, दिसा बस्ने व्यवस्था थिएन ।
दोस्रो दिन बिहान ८:३० बजे उनीहरूले बुबालाई फोन गरेर दुई करोड रुपियाँ फिरौती मागे । उनीहरूले कसैलाई खबर नगर्न धम्की पनि दिए । त्यसपछि उनीहरूले फरक–फरक सिमकार्ड प्रयोग गरेर मेरो घरमा फोन गर्थे । मसित रहेको हिमालयन बैंकको खाली चेकमा ६० हजार रुपियाँ जबरजस्ती भर्न लगाए । चेक साट्न कलंकीस्थित बैंकमा पनि गएछन् । तर, बैंकले परिचयपत्र मागेपछि चेक नसाटीकनै फर्किए । घरमा फोन गरेर फिरौती रकम माग्ने क्रम पनि जारी राखेका थिए ।
फिरौती मागेको रकम थोरै थिएन, घरका मान्छेले तत्काल जम्मा गर्ने अवस्था थिएन । सबै क्रियाकलाप उनीहरू चलाखीपूर्वक गरिरहेका थिए । मागबमोजिमको रकम उनीहरू कुनै पनि हालतमा लिन चाहन्थे । पटक–पटक मार्ने धम्की पनि दिन्थे । त्यसैले बाँच्ने आशा कम हुँदै गएको थियो ।
तेस्रो दिन पनि अघिल्लो दिनजस्तै बित्यो । अपहरणकारी पालैपालो कोठामा आउँथे । धम्की दिने र फिरौती रकम माग गर्ने क्रम यथावत् थियो । रात बित्ने तरखरमा थियो । १२ गते बिहान करिब साढे एक बजे बाहिर कुकुर भुकेको आवाज चर्किंदै गयो । कोठामा दुई अपहरणकारी थिए । उनीहरू अचानक बाहिरिए । त्यसको केही बेरपछि कोठाभित्र केही अपरिचित व्यक्ति प्रवेश गरे । उनीहरू प्रहरी रहेछन् । मनमा आस पलायो ‘अब भने बाँचियो ।’
(अग्रवालसितको कुराकानीमा आधारित)

प्रतिक्रिया