योजना आयोगका पदाधिकारीको राजीनामा स्वीकृत

Dipendra-Bdr-chhetriकाठमाडौं, १३ वैशाख । अन्तरिम चुनावी मन्त्रिपरिषद्ले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरी नयाँ नियुक्तको तयारी गरेको छ । सोहीअनुरूप बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीका साथै तीन सदस्यको राजीनामा स्वीकृत गरेको छ ।

उच्चस्तरीय राजनीतिक समितिले योजना आयोगसहित गरिबी निवारण कोषका पदाधिकारीलाई राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेपछि आयोग उपाध्यक्ष क्षत्रीसहित चारजनाले राजीनामा दिएका थिए । उपाध्यक्ष क्षत्री, सदस्यहरू जनकराज शाह, शिवकुमार राई र अब्दुल रहिम मिकरानीले दिएको राजीनामा बिहीबार सरकारले स्वीकृत गरेको हो ।
सामान्यत: नयाँ सरकार गठनसँगै पुराना पदाधिकारीले राजीनामा दिनुपर्ने चलन छ । तर, सरकार परिवर्तन भए पनि योजाना आयोगका पदाधिकारीले राजीनामा नदिएपछि उनीहरूलाई सामेल नगराई अर्थमन्त्री शंकरप्रसाद कोइरालाले चालू आर्थिक वर्षको समायोजित पूर्णबजेट बनाएका थिए ।
सिटिइभिटीको सदस्यसचिवमा लामिछाने
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा रामहरि लामिछानेलाई नियुक्त गरेको छ ।
सगरमाथा चढ्ने सैन्य टोलीलाई दस्तुर छुट
नेपाल–भारत संयुक्त आर्मी एभरेस्ट एक्सपिडिसन २०१३ नामक आरोहण दललाई सगरमाथा आरोहणमा लाग्ने सलामी दस्तुर छुट दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । नेपाली सेनाका तर्फबाट १३ र भारतीय सेनाका तर्फबाट १२ गरी २५ जनाको टोलीले आगामी महिनाभित्र सगरमाथा गर्ने भएको छ ।
कर्मचारीलाई आर्थिक सहयोग
निजामती कर्मचारी र तिनका परिवारलाई निजामती सेवा नियमावली–२०५० बमोजिम पाउने सुविधाबमोजिम जनही पाँच/पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । प्रवक्ता पौडेलका अनुसार बैठकले अरविन्द योग मन्दिर काठमाडौं नामक संस्थाले एउटा सवारीसाधन खरिद गर्दा लाग्ने कर भन्सार असुल गरेको प्रमाण पेस गरेपछि सो संस्थालाई १० लाख सोधभर्ना गर्ने निर्णय गरेको छ ।
बैठकले सहसचिव देवनारायण शर्माले १ वैशाखदेखि लागू हुने गरी दिएको राजीनामा पनि स्वीकृत गरेको छ । त्यस्तै सिँचाइ नीति ०७० को मस्यौदा सरकारसमक्ष प्रस्तुत भएको र त्यसलाई आर्थिक तथा प्राविधिक समितिमा पठाएर त्यससम्बन्धमा निर्णयमा पुग्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया