ई–पोर्टलबाट उद्योगी व्यवसायीलाई सुविधा पुर्‍याइने

काठमाडौं : उद्योगी व्यवसायीलाई आवश्यक सम्पूर्ण जानकारी अनलाइनमार्फत नै दिने उद्देश्यले ई–पोर्टल सुरुआत गरिने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा व्यावसायिक अनुमतिसम्बन्धी ई–पोर्टलको समन्वय समितिको बैठकमा यस्तो सेवा सुरुआत गरिने जानकारी दिइएको हो ।
सचिव बाँस्कोटाका अनुसार यस पोर्टलमार्फत कुनै पनि व्यवसाय सुरु गर्न आवश्यक इजाजतपत्रसम्बन्धी जानकारीका साथै त्यससँग सम्बन्धित फारमहरू पनि डाउनलोड गर्ने सुविधा उपलब्ध छ । उक्त पोर्टलको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको छ । पोर्टल सञ्चालनको छुट्टै निर्देशिका रहेको र यस निर्देशिकाले सूचना अद्यावधिक गर्ने, पोर्टल सञ्चालन गर्ने तथा सूचना प्रवाह गर्ने विधिको जानकारी प्रदान गरेको पनि सचिव बाँस्कोटाले बताए । साथै, इजाजतपत्र अद्यावधिक भएको २४ घन्टाभित्र पोर्टल अद्यावधिक नभएमा कारबाही हुने व्यवस्था पनि यस निर्देशिकामा रहेको कुरा पनि उनले जानकारी दिए ।
यस विद्युतीय पोर्टलमा २९ वटा इजाजत पत्र प्रदान गर्ने निकायको इजाजतपत्रसम्बन्धी सम्पूर्ण अद्यावधिक सूचना तथा विवरण राखिएको छ र यसलाई अद्यावधिक गर्न हरेक निकायमा सम्पर्क व्यक्ति पनि तोकिएको छ । साथै, विकास क्षेत्रहरूमा यस पोर्टलसम्बन्धी गोष्ठी तथा प्रचार–प्रसार गर्ने उद्देश्यअनुरूप हालसम्म झापा, विराटनगर तथा वीरगन्जमा बृहत् कार्यक्रम आयोजना गरिसकिएको छ । (सौस)

प्रतिक्रिया