तीनदिने स्वास्थ्य शिविर सुरु

काठमाडौं, १३ वैशाख । नुवाकोटको थानसिंङ गाविसमा तीनदिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट र हिमाली स्वास्थ्य तथा शिक्षा मोबाइल माउन्टेन अस्पतालले संयुक्त रूपमा शिविर सञ्चालन गरेका हुन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङ्मार ग्याल्जेन शेर्पाले बिहीबार शिविरको उद्घाटन गरेका थिए । स्वास्थ्य सेवा महँगो बन्दै गएको उल्लेख गर्दै डा. शेर्पाले निम्न आय भएका जनतालाई लक्षित गरी यस्ता शिविर सञ्चालन गर्नुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको उल्लेख गर्दै सरकारले ४० किसिमका औषधि नि:शुल्क वितरण गरिरहेको जानकारी दिए ।
शनिबारसम्म चल्ने उक्त शिविरमा पहिलो दिन बिहीबार पाँच सय बिरामीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नि:शुल्क रूपमा अल्ट्रा साउन्ड, एक्सरे, औषधि वितरणलगायतको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । नुवाकोटको थानसिङ गाविसलगायत कविलास, काठमाडौंको टोखा र अन्य छिमेकी गाविसबाट पनि बिरामी स्वास्थ्य परीक्षणका लागि पुगेको ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले बताए ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष तथा ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले मातापिताको सम्झनामा ट्रस्टको स्थापना गरी सामाजिक कार्य गरिरहेको जानकारी दिँदै शिविरलाई राजनीतिक रूपमा नलिन आग्रह गरेका थिए । उनका अनुसार शिविरमा १० जना विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खटिएका छन् ।

प्रतिक्रिया