साझाले जगाएको आशा

राजधानीबाट सेवा प्रारम्भ गरी मुलुकका विभिन्न प्रमुख सहरसम्म आफ्नो सेवा विस्तार गरेर यात्रुहरूबीच लोकप्रियता हासिल गरे पनि राजनीतिक हस्तक्षेप एवं व्यवस्थापकीय कमजोरीका कारण ०५८ सालदेखि बन्द भएको साझा यातायातले नयाँ वर्ष ०७० को प्रथम दिनदेखि व्याबसायिक रूपमा राजधानीमा सेवा आरम्भ गरेको छ । साझाको सेवा आरम्भ भएपछि थोत्रा बसमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता तथा जथाभावी भाडा, चालक, सहचालक र परिचालकका अभद्र, रुखो र अशिष्ट व्यवहार, आदिबाट आम यात्रुले मुक्ति पाउने भएका छन् । साझाले जसरी आफ्ना बस सञ्चालन गर्ने जनाएको छ त्यसले यात्रुलाई सुविधा पुग्ने, समयको बचत हुने, सहरको शोभा बढ्ने तथा ट्राफिक व्यवस्थापनमा सहजता हुने पनि अपेक्षा गरिएको छ भने आम यात्रु उत्साहित पनि छन् ।
second-article-तर, उपत्यकाका यातायात व्यवसायी र तिनका संगठनले भने यसको विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूहरूसँग सल्लाह नगरी सरकारले रुट इजाजत दिएको भन्दै यातायात व्यवस्था विभागमा विरोध पत्र बुझाएको जनाइएको छ । उनीहरूले साझाको रुट इजाजतको खारेजीदेखि साझा यातायातको सञ्चालनले आफूहरूको व्यवसायमा असर परेको भन्दै आफ्ना सवारी साधन सरकारले खरिद गरिदिनुपर्ने जस्ता हास्यास्पद मागसमेत राखेका छन् ।
साझा त्यो यातायात सेवा हो जसले यात्रुको सुविधालाई प्राथमिकतामा राखेर सुरक्षित ढंगमा सवारी साधन सञ्चालन गर्नुपर्ने कुराको शिक्षा दिएको थियो । साझाले समयको पालना पनि गरेको थियो । अनावश्यक प्रतिस्पर्धा गर्ने, ठाउँकुठाउँ उछिन्ने, अनियन्त्रित गति, समय–समयमा गाडीको अवस्था जाँच/परीक्षण नगराउने, यात्रुको सुविधाको बेवास्ता गर्ने, जथभावी रोक्ने, मनोमानी भाडा लिने सवारी साधनका लागि साझा उदाहरणीय र अनुकरणीय यातायात सेवा हो । केही हदसम्म नै भए पनि साझाले देखाएको बाटो हिँडेका कतिपय यातायात कम्पनीहरू अझै पनि राम्रैसँग सञ्चालन भएका छन् । यसैले विरोध गर्ने होइन साझाले जेजस्ता सुविधा दिएको छ, जेजस्ता सुरक्षात्मक उपाय अपनाएको छ र यात्रुसँग जस्तो व्यवहार गरेको छ अरूले पनि त्यसलाई अनुकरण गर्दै आवश्यक सुधार गर्न सक्नुपर्छ । नराम्रो कुराको विरोध गर्नुमा तुक हुन्छ, राम्रोको विरोध गर्नुले विरोध गर्नेकै नियतमाथि प्रश्न उठ्छ । यात्रुको सेवा सुविधाले सेवाको निरन्तरता र विश्वसनीयता सुनिश्चित हुनेहुँदा निजी व्यवसायीहरूले यस कुराको पनि ख्याल राख्नुपर्छ ।
हाम्रो यातायात व्यवस्थापनमा थुप्रै कमी कमजोरी छन् । स्थानीय, मध्यम वा लामो दूरीकै यातायात सेवा किन नहोस् यात्रुले असुरक्षित एवं जबर्जस्ती यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानीको कुरा गर्दा जुनसुकै सडकमा जस्तासुकै सवारीसाधन गुडिरहेका छन् जसले गर्दा सडक जाम हुने गरेको छ । गन्तव्यमा पुग्न धेरै समय लाग्ने हुँदा निजी साधन प्रयोग गर्नैपर्ने अवस्था भएकाले ऋण, धन गरेर पनि सवारी साधन खरिद गर्ने बाध्यता छ जसले सडकमा सवारी साधनको चाप बढाएको छ । सवारी साधनको संख्या थपिने तर सडक नबढ्ने हुँदा जाम हुनु स्वाभाविक हो । फेरि वैकल्पिक सडकको प्रयोग नगरी व्यस्त सडक नै रोज्ने हाम्रो बानीका कारण पनि सडक जाम हुने गरेको छ । प्रमुख सडकमा ठूला बस गुडाउने र भित्री र सहायक सडकमा मात्र साना सवारीसाधन चलाउने गरिएमा जामको समस्या हुँदैन ।
यस्तै ठूला बसले धेरै यात्रु बोक्न सक्ने हुँदा यसबाट धेरैले सेवा प्राप्त गर्न सक्छन् । यसका लागि हाल सेवा आरम्भ गरेको साझा यातायात वा यस्तै ठूला साधन सञ्चालन हुने स्थानमा यात्रुबाहक साना साधन सञ्चालन नगर्ने व्यवस्था हुनुपर्छ । बस निश्चित समयको अन्तरालमा छुट्ने व्यवस्था हुनुपर्छ । यसो गरी सडक जाम नभई समयमै गन्तव्यमा पुग्न सकिने भएमा निजी सवारी साधनको प्रयोग घट्छ । समयमै गन्तव्य पुग्न सकिने भएपछि जोखिमपूर्ण रूपमा निजी सवारी साधन खासगरी मोटरसाइकल आदिको प्रयोग गर्नुपर्दैन । यसले इन्धनको खपतमा कमी आउँछ र वातावरणीय प्रदूषण पनि कम हुन्छ जुन मुलुककै हितमा हुन्छ ।
अहिले साझा यातायातले पुन: सेवा आरम्भ गरेपछि थोत्रा सवारी साधनमा असुरक्षित यात्रा गर्न बाध्य यात्रुहरूमा साझाले नयाँ उत्साह थपेको छ । यात्रु कोच्ने जथाभावी रोक्ने, महिला, पुरुष, असक्त कसैको मतलव नगर्ने, सक्नेले जे पनि गर्न पाउने अवस्थामा साझाले थालेको यो प्रयासले सर्वसाधारण यात्रुलाई उत्साहित बनाएको हो । यात्रुसँग सभ्य र शिष्ट व्यवहार गर्ने, समयमा हिँडाउने, ठेलमठेल नगराउने साझाको शैली नै साझाको लोकप्रियता र विश्वसनीयताको कारक हो । यसैले अहिले साझाले पुन: सेवा आरम्भ गर्दा पनि यात्रु उत्साहित भएका हुन् । यस सन्दर्भमा साझालाई थप बस ल्याउन राज्यले सहयोग गर्नुपर्छ । प्रतिस्पर्धामा स्तरीय, भरपर्दो र विश्वसनीय सेवा प्राप्त गर्नु यात्रुको अधिकार हो र सिन्डिकेटमा सवारी चलाउने प्रचलन हटाउनैका लागि पनि साझालाई मजवुत बनाउनु पर्छ ।
थोत्रा साधन विस्थापन गर्ने कुरा होस् वा प्रतिस्पर्धी सेवा आरम्भ गर्ने विषय, यहाँ जहिले पनि विवाद हुन्छ । व्यवसायी एक गुट हुने र नयाँलाई छिर्नै नदिने चलन छ जबकि खुला बजारमा गुणस्तरीय सेवा उपलब्ध गराउने र चाहेको सेवा लिने स्वतन्त्रता हुन्छ, हुनुपर्छ । तर, यहाँ सिन्डिकेट कायमै छ । यस पृष्ठभूमिमा औचित्यहीन विरोधलाई खारेज गर्दै साझा यातायातको सुव्यवस्थित सञ्चालन गरी अवैध रूपमा सिन्डिकेट खडा गरी यातायात व्यवसायीले आम सर्वसाधारणमा पारिरहेको बोझ कम गर्न राज्य सक्रिय हुनुपर्छ । संघ–संगठनको नाममा अराजकता मच्चाउने र त्यसतर्फ उद्यत हुनेहरूलाई दण्डित गर्नुपर्छ । संघ/संगठन उपभोक्ता वा यात्रु र सेवाग्राहीलाई मर्कामा पार्न र आफ्ना निहित स्वार्थ पूरा गर्ने माध्यम बन्ने होइन सहज एवं व्यवस्थित र भरपर्दो सेवा प्रदान गर्नेतर्फ सक्रिय हुनुपर्छ ।
समग्रमा, यातायात अराजकताबीच साझाले आफ्नो सेवा आरम्भ गरेकाले सबैमा आशा जगाएको छ । यो साझा सम्पत्ति हो भन्ने ठानी केही कमी कमजोरी वा सुधारका पक्ष भए तिनलाई औँल्याइदिने र सभ्य, शिष्ट तरिकाले साझा बसमा यात्रा गर्न सबैलाई प्रेरित गर्नु हामी सबैको जिम्मेवारी हो । साझाले राजधानी मात्र होइन आफ्नो सेवा विस्तार गरी देशव्यापी बनाउनुपर्छ । यसो हुनसके सिन्डिकेटको मार खेप्न बाध्य राजधानीबाहिरका यात्रुको पीडा पनि सम्बोधन हुनेछ र यातायात क्षेत्रमा एउटा क्रान्ति नै आउनेछ ।

प्रतिक्रिया