मेरो मनको साथी र हिम्मत २ आजबाट साँघुरो र मन्ञ्जरी सर्‍यो

himat-2काठमाडौं : निर्माताका लागि आफ्नो चलचित्र सिंगल रिलिज गर्नु भनेको कल्पनाबाहिरको कुरो भइसकेको छ । सधैँजसो फ्राइडे रिलिजमा दुई वा सोभन्दा बढी संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका छन् । यस्तैमा आज शुक्रबार अर्थात् यो साता ‘मेरो मनको साथी’, ‘हिम्मत–२’ ‘साँघुरो’ र ‘मञ्जरी’ गरी चार चलचित्र प्रदर्शनमा आउने भनिए पनि दुई मात्र प्रदर्शनमा आउने भएका छन् । ती हुन् ‘मेरो मनको साथी’ र ‘हिम्मत–२’ । अन्य दुई चलचित्र भने केही साताका लागि पछिसरेका छन् । ‘मेरो मनको साथी’का निर्देशक प्रदीप श्रेष्ठ हुन् भने ‘हिम्मत२’ दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र हो । यी दुई चलचित्रमध्ये ‘मेरो मनको साथी’ देशभर र ‘हिम्मत–२’ उपत्याकामा मात्र प्रदर्शनमा आउन लागेको हो ।
मेरो मनको साथी न्यु फेनस फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र हो । एकै समय छायांकन थालिएका करिब दर्जन हाराहारीका चलचित्र धेरै पहिले सर्वजनिक प्रदर्शनमा आइसकेका भए पनि यो चलचित्र भने बल्ल प्रदर्शनमा आउने भएको छ । ‘सम्पूर्ण कार्य सिध्याएर पनि चित्तबुझ्दो भएन । फेरि एटुजेड प्राविधिक कार्य दोहोर्‍याउनुपर्‍यो, यसले चलचित्र समयभन्दा ढिलो भएको हो,’ निर्देशक प्रदीप श्रेष्ठले भने, ‘अर्काे ढिलो हुनुको कारण यसमा रहेको ग्राफिक्सका पार्टहरू पनि हुन्,’ चलचित्रका १५ भन्दा बढी सिनमा ग्राफिक्स खेल्नुपर्ने थियो । ग्राफिक्स खेलाइएका सिन अन्य चलचित्रका तुलनामा विशेष बनाउन थालिएकाले प्राविधिक कार्यमा धेरै समय लागेको उनले खुलाए । उनका अनुसार चलचित्रमा ग्राफिक्सका माध्यमले पर्दामा देखिने हेलिकप्टरदेखि लाखौँ मानिसका भीड तयार पारिएको छ ।
प्रेमकथालाई विषयवस्तुका रूपमा उठाइएको यो चलचित्र राजेश शाहीले निर्माण गरेका हुन् । प्रेमकथा भए पनि विषयवस्तु र प्रस्तुतिले दर्शकका चाहनाअनुरूपको चलचित्र आफूले बनाएको उनले दाबी गरे ।
राजेश हमाल, जीवन लुइँटेल, आयुष रिजाल, सुनीलदत्त पाण्डे, मिथिला शर्मा, जस्मिन श्रेष्ठ, हिउँवाला गौतम, मुकुन्द श्रेष्ठ, मुकुन्दकिशोर भट्टराई, उमेश खड्कालगायत कलाकारको यसमा अभिनय छ ।
निर्देशक श्रेष्ठकै कथामा मौनता श्रेष्ठले यसको पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा संगीत महेश खड्का, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे तथा छायांकन रामशरण उप्रेतीको छ । जीवनमा धेरै साथी भए पनि मन मिल्ने साथी एउटै हुन्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।
गत शुक्रबार प्रदर्शनमा आउने भनिए पनि प्रदर्शनमा आउन नसकको चलचित्र ‘हिम्मत–२’ पनि आजबाटै प्रदर्शनमा आएको छ । मोफसलका सहरमा एक वर्ष पहिल्यै रिलिजमा आए पनि सन्तोषजनक व्यवसाय गर्न नसकेको ‘हिम्मत–२’ निर्देशक दीपक श्रेष्ठकै लगानीमा निर्माण भएको हो ।
विराज भट्ट, युना उप्रेती, दिनेश डिसी, वसुन्धरा भुसाल, विजया गिरी, सुशील पोखरेललगायत कलाकारको अभिनय यसमा छ । एक्सन प्रधान विषयवस्तु रहेको यस चलचित्रमा आलोकश्रीको संगीत छ ।
त्यस्तै, चलचित्र सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाएर सेन्सर रोकेपछि ‘मञ्जरी’ को रिलिज सरेको छ । पटकपटकको मिति सार्दै आएको यो चलचित्र अब भने वैशाख २० मा प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिए । नरेश पाण्डे र महेश चालिसेको निर्माण रहेको चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुन् ।
गौरव पहाडी, सुजाता कोइराला, टीका पहाडीलगायत कलाकारको अभिनय रहेको यस चलचित्रको संगीत कालीप्रसाद बाँस्कोटाले तयार पारेका छन् । रोमाञ्चक प्रेमकहानी चलचित्रमा छ ।
चलचित्र ‘साँघुरो’मा नेपाली समाजमा घटिरहेको यौनकुण्ठाको यथार्थ घटनालाई मुख्य विषय बनाएको छ । यसलाई समीर मैनाली प्रोडक्सनको ब्यानरमा जोएस पाण्डेले निर्देशन गरेका हुन् । कथावस्तु आमनेपालीको दैनिक जीवनसँग धेरै नजिक रहेकाले सबैको मन छुने निर्देशक पाण्डे बताए । सुशांक मैनाली, दिया मास्के, दयाहाङ राई, अरुणा कार्कीे आदिको चलचित्रमा मुख्य भूमिका छ । चलचित्रको कथा विनोद पौडेलले लेखेका हुन् भने छायांकन सुशन प्रजापतिले गरेका हुन् । मदन गोपालको संगीत रहेको यस चलचित्रमा अविरल थापाको गीत छ ।
प्रस्तति : कुबेर गिरी

प्रतिक्रिया