एमाले जनताको माझमा छ : नेपाल

main-newsरौतहट, १३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मगज बिग्रिएको भन्दै व्यंग्य गरेका छन् । नेकपा एमाले जिल्ला कार्यसमिति रौतहटद्वारा बिहीबार गौरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले यस्तो बताएका हुन् । 

पर्टीको एक कार्यक्रममा प्रचण्डले एमालेलाई आफूले कतै नदेखेको भनी दिएको अभिव्यक्तितर्फ लक्षित हुँदै नेपालले यस्तो बताएका हुन् । एमाले देशको जिम्मेवार पार्टीको भएको उल्लेख गर्दै नेपालले एमालेलाई नदेख्नेहरूले आँखा जँचाउनुपर्ने बताए । एमालेका बारेमा यस्ता अनर्गल प्रचार गर्नु हास्यास्पद भएको टिप्पणी उनले गरे ।
‘मधेसी, दलित, जनजाति, महिलालगायत सबैको अधिकार सुनिश्चित गराउनका निम्ति विश्वासिलो र भरपर्दो पार्टी एमाले नै हो । त्यसैले एमालेप्रति दिनप्रतिदिन जनताको आकर्षण बढदै गएको छ । यस्तो पार्टीलाई आँखा सुन्निएका, दिमाग लोदो भएकाले चिन्न छोडेका छन्,’ उनले भने ।
‘एमाले खै कहाँ छ भनेर सोध्नेलाई हामी भन्छौ, एमाले नेपाली जनताको माझमा छ । एमालेलाई खोज्न बत्ती बालेर विदेशी धर्तीमा भौँतारिनुपर्दैन ।’
एमालेले मुलुकमा लोकतन्त्रलाई व्यवस्थित बनाउन खोज्दा विरोधी दलहरूले षड्यन्त्रको जालो बुनेको जिकिर गर्दै उनले यसमा नफस्न कार्यकर्तासँग आग्रह गरे । नेता नेपालले एमालेले लोकतन्त्रलाई व्यवस्थित गर्न भूमिका खेलेकाले यसबाट आफ्नो अस्तित्व समाप्त हुने भयले एमाले पार्टी नै नभएकोजस्ता भ्रामक प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति प्रकट गरे ।
‘बजारमा हात्ती लम्किएको देख्दा कुकुरहरू त्यसै भुक्छन् । कसले के भन्छ भन्ने कुरापट्टि नलागी एमालेको विचार, सिद्धान्त र आर्दशमा अघि बढ्ने बेला आएको छ । खुट्टा तान्नेहरूको पहिचान गरी उनीहरूलाई विचारका माध्यमबाट पाखा लगाउँदै संगठनको विस्तारमा लाग्नु आवश्यक छ,’ कार्यकर्तासँग उनले भने ।
नेता नेपालले लोकतन्त्रका सबै खाले चुनौती, गुनासा आदिलाई सम्बोधन गर्ने एक मात्र माध्यम निर्वाचन भएको जिकिर गरे । असन्तुष्ट दलहरूलाई सन्तुष्ट बनाएर निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारबाट उचित पहल गर्नुपर्ने बताउँदै उनले निर्वाचनमा कुनै बाधाव्यवधान खडा नहोस् भन्नेमा सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया