दुर्घटनामा दुईको मृत्यु, २० घाइते

धनगढी, १२ वैशाख । कैलालीको टीकापुरबाट अछामको जयगढतिर जाँदै गरेको बस मंगलबार राति डडेल्धुराको अमरगढी–१ सल्लाघारीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

कर्णाली रिभरसाइड यातायातको ना ४ ख ३६०९ नम्बरको बस डा. केआई सिंह राजमार्गअन्तर्गत पर्ने सल्लाघारीमा राति २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा अछाम भागेश्वर–७ का ४० वर्षीय रमेश बोहरा र कैलाली टीकापुर–११ की अन्दाजी ३५ वर्षीया हेमा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा डडेल्धुरास्थित टिम अस्पतालमा मृत्यु भएको हो ।
घाइतेमध्ये १७ जनाको टिम अस्पतालमै उपचार भइरहेको र तीन जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर घाइते कैलाली टीकापुर–९ का प्रेम दास तथा अछाम बैला–८ का दानसिंह विष्ट र बिन्दवासिनी–१ की नन्दा खड्कालाई थप उपचारका लागि कोहलपुर लगिएको हो । अन्य घाइतेको अवस्था चिन्तामुक्त रहेको टिम अस्पतालले जनाएको छ ।
दुर्घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुर्घटनापछि बस चालक र सहचालक सम्पर्कविहीन रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया