आर्थिक मन्दीको चिन्ता

वासिंटन : जारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको बैठकमा विगतका करिब पाँच वर्षदेखि जारी रहेको युरो क्षेत्रको आर्थिक मन्दीका विषयमा छलफल जारी रहेको बताइएको छ ।

यस वर्षको वसन्तकालीन सो बैठकमा युरोपमा कसरी विकासलाई पुनर्जीवन दिने भन्नेबारे प्रमुख चिन्ताको विषय बनेको विश्लेषकहरूले जनाएका छन् । वित्तीय संकट सुरु भएको पाँच वर्षपछि युरो क्षेत्र अझै पनि आर्थिक स्थिरता अथवा संकुचनमा फँसेको छ भने अन्यमा अधिकांशले विभिन्न गतिमा सुधार गरिरहेका छन् ।
वल्र्ड इकोनमिक आउटलुक प्रतिवेदनमा अन्तर्राष्ट्रिय मुद्राकोषले युरो क्षेत्रले समूहको प्रतिनिधित्व गरेसँगै विश्व अर्थतन्त्र तीन गुणाको तीव्रताले सुधारको दिशामा गइरहेको थियो भनेको छ । सार्वजनिक र निजी क्षेत्रमा अस्वीकार्य उच्च बेरोजगारी र उच्च ऋणको बोझ युरोपेली नीति निर्माताहरूका लागि गम्भीर टाउको दु:खाईको विषय बनिरहेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले युरोजोन अर्थतन्त्र यसवर्ष शून्य दशमलव तीन प्रतिशतले गिरावट आउने अपेक्षा गरेको छ । जुन गत वर्षको तुलनामा अझ धेरै निराशावादी पूर्वानुमान हो ।
गत वर्ष उसले शून्य दशमलव एक प्रतिशतले आर्थिक संकुचनको गणना गरेको थियो । युरो क्षेत्रका अधिकांश देशमा यस्तै अवस्था रहेको पाइएको छ । जर्मनीलाई छाडेर फ्रान्स, इटाली र स्पेन सबै यस वर्ष संकुचन हुने अपेक्षा गरिएको छ । युरोजोनमा जर्मनी एक प्रमुख अर्थतन्त्र हो र यसको वृद्धि सही दिशामा रहेको विश्लेषकहरूको भनाइ छ ।
एकल मुद्रा क्षेत्र विश्व अर्थतन्त्रको सबैभन्दा कमजोर विन्दुमा गिरावट भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले ‘साइप्रसमा घटनाहरूको परिणाम’, इटालीमा राजनीतिक गतिरोधका कारण आर्थिक अवस्थामा प्रभाव पारिरहेको बताएको छ । यसका साथै युरोजोनका कमजोर सदस्यमाझको ‘कमजोरीहरू’ लाई हवाला दिँदै युरोजोनले विश्व अर्थतन्त्रमा सबैभन्दा ठूलो खतरा सिर्जना गरेको बताएको छ । विश्लेषकहरूले युरोपले अबका केही वर्षसम्मका लागि उच्च विकास दर दिनसक्छ भन्ने अपेक्षा अहिले नै गर्न नसकिने बताएका छन् । वासिंगटनमा जारी ती बैठकहरूमा सो धारणा राखिएको हो ।

प्रतिक्रिया