मनपरी भर्ना शुल्क असुल्ने दुई विद्यालयलाई स्पष्टीकरण

eduकाठमाडौं, ११ वैशाख । सरकारले तोकिदिएभन्दा बढी भर्ना शुल्क असुल्ने दुई निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण सोधेको छ ।

शिक्षा कार्यालय र अभिभावक संघ नेपालको टोलीले मंगलबार अनुगमनका क्रममा भर्ना शुल्क बढी लिएको पाइएका बालुवाटारस्थित मेरिडियन स्कुल र कपनस्थित ड्याफोडिल स्कुललाई स्पष्टीकरण सोधिएको हो । काठमाडौंका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले ती विद्यालयले नयाँ भर्नामा नियमविपरीत शुल्क लिने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । ‘बढी शुल्क लिनाको कारणसहित एक साताभित्र जवाफ पेस गर्न भनेका छौँ,’ जिशिअ अर्यालले भने, ‘चित्त बुझ्दो जवाफ नदिए कारबाही गरिन्छ ।’ जिल्ला शुल्क निर्धारण समितिको बैठक बसी कस्तो कारबाही गर्ने भन्ने तय हुने उनले बताए ।
अनुगमनका क्रममा ती विद्यालयले भर्नामा वार्षिक, स्टेसनरी र अतिरिक्त क्रियाकपाल भन्दै विद्यार्थीबाट नियमविपरीत शुल्क लिइरहेको पाइएको थियो । विद्यालयहरूले भर्ना शुल्क बढी लिएको गुनासो आएपछि मंगलबार टोलीले मेरिडियन र ड्याफोडिलमा अनुगमन गरेको थियो ।
जिशिअ अर्यालले निजी विद्यालयले नियमविपरीत अन्य शीर्षकमा विद्यार्थीबाट नयाँ भर्नाका नाममा शुल्क लिएको पाइएको जानकारी गराए । दुईवटा विद्यालयमा गरेको अनुगमनमा दुवैले नियमविपरीत शुल्क उठाएको उनले सुनाए । ‘विद्यालयहरूले भर्नामा नियमविपरीत शुल्क उठाएका छन्,’ उनले भने, ‘केही नियमसंगत नभएका शीर्षक राखी शुल्क लिएको पाइएको छ ।’
उनका अनुसार नियमसंगत नभएका भर्ना शुल्क, अतिरिक्त क्रियाकलाप, स्टेसनरी कम्प्युटरलगायत केही शीर्षकमा शुल्क उठाएका छन् । उनले विभिन्न शीर्षकमा लिएको बढी शुल्क फिर्ता गराइने प्रतिबद्धता जनाए । ‘विद्यालयहरूलाई बढी शुल्क फिर्ता गर्न लगाउँछौँ,’ उनले सौर्यसँग भने, ‘नियममा नरहेको शीर्षकमा शुल्क लिन पाइँदैन । यसरी लिएको शुल्क हामी विद्यार्थीलाई फिर्ता गराउँछौँ ।’
अर्यालले ती विद्यालयले मासिक शुल्क भने बढी नलिएको बताए । ‘मासिक शुल्क तोकेअनुरूप नै लिएका छन्,’ उनले भने, ‘तर, अन्य शुल्कमा भने मनोमानी गरेको छन् ।’ अनुगमनमा क्रममा ती विद्यालयले भर्ना शुल्कमा १० हजारदेखि ४० हजारसम्म लिएको भेटिएको छ । बढीमा मासिक शुल्कको दुई महिना मात्रको शुल्क लिने भने पनि ती विद्यालयले विभिन्न शीर्षक छुट्याएर विद्यार्थीबाट ४० हजारसम्म शुल्क लिएका छन् । भर्नाबापत दुई महिनाको मासिक शुल्क बराबर ५ हजार मात्र लिन पाउने प्रावधान छ ।
अनुगमन टोलीका अनुसार विद्यालयहरूले स्टेसनरी पनि विद्यार्थीलाई बेच्ने गरेको पाइएको छ । ‘विद्यालयहरूले स्टेसनरी बेचेर विद्यार्थीबाट रकम असुलेको देखिएको छ,’ अर्यालले भने, ‘स्टेसनरीबापत शुल्क लिन पाइँदैन । विद्यार्थीले स्टेसनरी स्वेच्छाले किन्न पाउनुपर्छ ।’
मेरिडियन स्कुलले विद्यार्थीबाट स्टेसनरीबापत ४ हजार ५ सयदेखि ७ हजार रुपियाँसम्म शुल्क उठाएको छ । ड्याफोडिलले पुरानो र नयाँ विद्यार्थीबाट फरकफरक शुल्क उठाएको छ । पुरानो विद्यार्थीबाट ५ हजार उठाए पनि नयाँ विद्यार्थीबाट २१ हजारसम्म शुल्क लिएको छ । यस्तै, अनुगमनका क्रममा विद्यालयले अतिरिक्त क्रियाकलाप भन्दै प्रतिविद्यार्थी १ हजारदेखि १ हजार ७ सय लिएको छन् । भने ट्युसन ‘फी’ पनि लिएका छन् ।
संघका अध्यक्ष सुप्रभात भण्डारीले अनुगमनमा विद्यालयले अनधिकृत रूपमा शुल्क उठाएको बताए । ‘विद्यालयले निर्देशिकामा भएबमोजिमको कुनै पनि शुल्क लिएका छैनन्’ भण्डारीले भने, ‘भर्ना कम्प्युटर, स्टेसनरी, ट्युसन वार्षिक शुल्कमा अत्यधिक शुल्क लिएका छन् ।’

प्रतिक्रिया