स्वास्थ्यका बहालवाला कर्मचारीले चुरोट–सुर्ती खान नपाउने

No-Smokingकाठमाडौं, ११ वैशाख । स्वास्थ्य मन्त्रालयका बहालवाला कर्मचारीले अब चुरोट तथा सुर्तीजन्य पदार्थ कुनै पनि स्थानमा खान नपाउने भएका छन् । मन्त्रीस्तरीय यो निर्णय कार्यान्वयनका लागि आइतबार मन्त्रालयले मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

यसपूर्व मन्त्रालयले तीन हप्ताअघि स्वास्थ्य सेवामा सरकारी जागिर खान आउने कर्मचारीले चुरोट तथा सुर्तीजन्य पदार्थ खान नपाउने व्यवस्था गरेको थियो । गत २९ चैतमा बहालवाला कर्मचारीले कुनै पनि स्थानमा चुरोट तथा सुर्तीजन्य पदार्थ खान नपाउने निर्णय गरेको हो ।
मन्त्रालयले स्वास्थ्यमा जागिर खान आउने व्यक्तिले चुरोट तथा सुर्तीजन्य पदार्थ खान नपाउने आचारसंहिता र नैतिक व्यवस्था गरेको थियो । यो व्यवस्थापछि बहालवाला कर्मचारीलाई पनि नियम बनाइनुपर्ने आवाज उठेको थियो ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका हाल कार्यरत सम्पूर्ण कर्मचारी तथा मन्त्रालय वा अन्तर्गत सरुवा भई आउने कर्मचारीले सार्वजनिक स्थल तथा अन्य कुनै पनि स्थानमा धुम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्न पाउनेछैनन्’ मन्त्रालयले माताहतका कार्यालयलाई दिएको लिखित निर्देशनमा भनिएको छ ।
निर्देशनअनुसार बहालवाला कर्मचारी र मातहतका कार्यालयमा सरुवा भई आउने कर्मचारी तथा नयाँ नियुक्ति भएर आउने कर्मचारीलाई कबुलियतनामा गराइनेछ । बहालवाला कर्मचारीले पनि ‘अबदेखि कहीँ कतै पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ’ भनेर कबुलियत गर्नुपर्ने मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले बताए । उनका अनुसार यो व्यवस्थाविपरीत कसैले कार्य गरेको पाइएमा मन्त्रालयले कारबाही गर्नेछ ।
मुटुरोग, क्यान्सर, नपुंसकता, छालाका रोग, श्वासप्रश्वासका रोगलगायत अधिकांश रोगका प्रमुख कारकका रूपमा रहेको चुरोट तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनतर्फ लागेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै यस्ता पदार्थ सेवन गरे भने नियन्त्रणमा समस्या पर्ने भएकाले मन्त्रालयले यो नयाँ व्यवस्था गरेको सचिव डा. मिश्रले बताए । उनका अनुसार यो व्यवस्थाले सरकारले डेढ वर्षअघि ल्याएको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ को प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्नेछ ।

प्रतिक्रिया