सरकारको प्रमुख उद्देश्य निर्वाचन : रेग्मी

khilrajकाठमाडौं, १० वैशाख । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले देशको विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको प्रमुख उद्देश्य संविधानसभा निर्वाचन भएको दोहर्‍याएका छन् ।
राजधानीमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रेग्मीले सरकारले लिएको संविधानसभाको निर्वाचन सम्पन्न गराउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।
‘सङ्गीत तथा नाट्य विधाका कलाकारलगायत अन्य सम्पूर्ण कलाकर्मीहरुलाई आ–आफ्नो सङ्गीत, अभिनय, कला, श्रृजना र अभिव्यक्तिमार्फत विशेष अग्रसरताका साथ अघि बढ्न आह्वान गर्दछु,’ उनले भने ।
उनले नेपाली मौलिकता अनुकूलको सामाजिक र राजनीतिक वातावरण कायम गर्नका लागि संविधान निर्माणको अभियानमा संविधानसभाको गठन गराउने निर्वाचनमा केन्द्रित हुनु पर्ने बताए ।
‘मानव समुदायको अभिन्न पक्षका रुपमा रहेको सङ्गीत तथा नाट्य विधाले समाजका विविध पक्षहरुमार्फत व्यक्तिको भावना र सामाजिक यथार्थतालाई सम्बोधन गर्छ,’ उनले भने, ‘यसको संरक्षण सबैले प्राथमिकताभित्रकै कार्यका रुपमा ग्रहण गर्नु पर्छ ।’

प्रतिक्रिया