फेसनमा तात्यो बाग्लुङ

Anusaकाठमाडौं : बाहिर असिना पानी परिरहँदा स्थानीय प्याराडाइज पार्टी प्यालेसभित्र रंगीचंगी प्रकाशको संयोजनमा समर पहिरनमा मोडेलहरू क्याटवाक गर्दै थिए । अञ्चलमा नै पहिलोपटक आयोजना भएको फेसन सोमा धेरैले पानी, गर्मी र फेसनको फ्युजन पाए ।
एक्सप्रेस इभेन्ट म्यानेजमेन्ट (इटुएम) ले आयोजना गरेको फेसन सो हेर्नका लागि स्थानीयहरूको भिड बाक्लै थियो । हलमा नअटाएर बाहिर रहेका दर्शकलाई प्रहरीले पटकपटक हटाउन बाध्य भए ।
काठमाडौंकी फेसन डिजाइनर लक्ष्मी गिरी र स्थानीय सञ्जिता शाक्यले तयार पारेका पहिरनमा बेनी, बाग्लुङ, पोखरा, काठमाडौं र विदेशी मोडेलसमेत र्‍याम्पमा उत्रेका थिए । डिजाइनर गिरीले नेपाली ढाका कपडामा तयार पारेको विभिन्न पहिरन सोको आकर्षणको केन्द्र बन्यो । शाक्यले गाउनमा देखाएको सिर्जनशीलताले फेसन पारखी बाग्लुङवासी मख्ख परे । फेसनमा कन्सियस बनाउनका लागि पहिलोपटक फेसन सोको आयोजना गरेको इटुएमका प्रवन्धनिर्देशक नीराजन उपाध्यायले बताए ।
टिनयजर्सदेखि व्यापारी साथै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको सो फेसन समारोहको नाम क्याटवाक नाइट राखिएको थियो । सांस्कृतिक, जातीय पहिचानसहितको पाँच चरणको फेसन सोमा गायक योगेश काजी, श्रीकृष्णबम मल्लले गीत र द राइजिङ डान्स ग्रुपका कलाकारहरूले नृत्य प्रस्तुत गरे । पहिलोपटक आयोजना गरिएको कार्यक्रम सफल भयो अब यस्तो कार्यक्रम निरन्तर हुन्छ आयोजक प्रकटकुमार शिशिरले बताए । (सौस)

प्रतिक्रिया