हेटौंडा, १० वैशाख । ट्रान्सफर्मरमा आगालागीपछि ठप्प भएको कुलेखानी दोस्रो जलविद्युत् आयोजना पूर्ववत् सञ्चालनमा आउन करिब दुई महिना लाग्ने भएको छ । जलेका तीनवटा ट्रान्सफर्मरको मर्मतसम्भार कार्यलाई तीव्रता दिएको आयोजनाले सिलबन्दी गरिएको ट्रान्सफर्मर खोलेर केन्द्रीय वक्र्ससपमा पठाएको छ ।
ट्रान्सफर्मरका एलबी ब्रसिङ, न्याचुरल ब्रसिङ, एजबी ब्रसिङलगायत सामानहरू इंग्ल्यान्ड, कोरिया, जर्मनी तथा स्वीट्जरल्याण्डमा बनेकाले सामानहरू ल्याउन समय लाग्न भएकाले सञ्चालनमा आउन समय लाग्ने भएको हो । ‘जतिसक्दो चाँडो सामान भित्र्याउन सकिन्छ त्यति नै चाँडो काम हुने आयोजना प्रमुख कृष्णप्रसाद यादवले बताए । सामान आउनलाई लामो समय लागेमा मोदी जलविद्युत् आयोजनाको ट्रान्सफर्मर ल्याएर विद्युत् सुचारु गर्ने बताइएको छ ।
जलेकामध्ये एउटा ट्रान्सफर्मर काम नलाग्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ । प्रमुख यादवका अनुसार जलेको एक ट्रान्सफर्मरको सिलबन्दी काटेर केन्द्रीय वर्कसपमा मर्मतका लागि लगिएको छ भने अर्का ट्रान्सफर्मरको सिल काटेर फेर्नुपर्ने सामानको अध्ययन भइरहेको छ । आयोजना स्थलमा रहेका तीनवटा ट्रान्सफर्मर जलेपछि कुलेखानी दोस्रोको ३२ मेगावाट विद्युत् उत्पादन ठप्प छ । आयोजनालाई सुचारु गर्न ट्रान्सफर्मर मर्मत कार्यलाई तीव्रता दिइएको छ भने मर्मतका लागि ५० जनाभन्दा बढी प्राविधिकहरू खटिएका छन् ।
राष्ट्रिय कुल विद्युत् उत्पादनमा कुलेखानी दोस्रो आयोजनाले गम्भीर असर पार्ने भएकाले कुलेखानी पहिलो आयोजना, दोस्रो आयोजना तथा केन्द्रीय वर्कसपका प्राविधिकहरू लगाएर ट्रान्सफर्मर मर्मत कार्यलाई तीव्रता दिइएको छ । ३२ टनको मोदीको ट्रान्सफर्मर ल्याउनसके तुरुन्तै विद्युत् उत्पादन सुचारु हुनेछ । ०४० सालमा जापान सरकारले स्थापना निर्माण गरिदिएको कुलेखानी दोस्रो जलविद्युत् आयोजनामा के कसरी आगलागी भयो भन्नेबारे अझै कारण पत्ता लागेको छैन । ३० वर्षदेखि निरन्तर पुरानै सामानबाट काम हुनु, अर्थिङ कमजोर हुनु र चट्याङ पर्नुजस्ता कारण आगलागीको कारण भएको अनुमान गरिएको छ ।
लोडसेडिङ नगर्न प्रचण्डको निर्देशन
बर्दिया : दैनिक १२ घन्टा लोडसेडिङको मार खेप्दै आइरहेको बर्दियामा सोमबारदेखि दुई दिनसम्म लोडसेडिङ नहुने भएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोडसेडिङ नगर्न ठाडो आदेश दिएपछि दुई दिनसम्म लोडसेडिङ नहुने भएको हो ।
स्रोतका अनुसार एमाओवादीको बर्दियामा हुने चुनाव लक्षित भेला तथा प्रशिक्षण कार्यक्रममा एमाओवादीका अध्यक्ष दाहाल आउने भएपछि दाहालकै ठाडो आदेशमा लोडसेडिङ हुनमा रोक लगाएको प्रािधकरण स्रोतले बतायो ।
नेपाल विद्युत् प्राधिकरण गुलरियाका प्रमुख सूर्यनारायण मण्डलले पनि माथिको आदेशमा बर्दियाको सदमुकाम फिडर र निकुञ्ज फिडरअन्तर्गत सानोश्रीमा पर्सि लोडसेडिङ नहुने बताए । माओवादीको विशेष कार्यक्रममा प्रचण्ड आउने कार्यक्रम रहेकाले लोडसेडिङ नगर्न पत्राचार गरिएको र सोहीबमोजिम सोमबारदेखि तीन दिनसम्म बर्दिया भर लोडसेडिङ नहुने मण्डलले बताए । यसअघि बर्दिया सदरमुकामसहित सबै क्षेत्रमा दैनिक १२ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।
यसैबीच पर्वतको देउपुर गाविसको पातीचौरस्थित मोदीखोला जलविद्युत्् केन्द्र हातामा रहेको सबस्टेसनमा खराबी आएपछि धौलागिरि अञ्चलमा अवरुद्ध भएको विद्युत्् सेवा चार दिनपछि सुचारु भएको छ ।
धौलागिरि अञ्चलमा विद्युत्् वितरणका लागि बनाइएको सबस्टेसनमा रहेको ब्रेकरमा देखिएको समस्या समाधानपछि अवरुद्ध विद्युत्् सेवा सुचारु भएको हो । ब्रेकरमा ग्यास चुहिने समस्या आएपछि शुक्रबार साँझदेखि विद्युत्् सेवा अवरुद्ध हुँदा धौलागिरि अञ्चलका ५० हजारभन्दा बढी उपभोक्ता प्रभावित बनेका थिए ।
प्रतिक्रिया