गहना पसलमा छापा

काठमाडौं, १० वैशाख । सुनमा मिसावट भएको उजुरी परेपछि प्रहरीले राजधानीका तीन गहना पसलमा छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा रहेको टोलीले सोमबार न्युरोडस्थित गणपति ज्वेलर्स, आरबी डायमन्ड ज्वेलर्स र तेजबिन ज्वेलरीमा छापा मारेको हो । अनुगमन टोलीमा वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग र उपभोक्ता मञ्च काठमाडौंका प्रतिनिधि सहभागी थिए । परिसर प्रमुख एसएसपी रणबहादुर चन्दले सुनमा मिसावाट भएको उजुरीपछि छापा मारिएको जानकारी दिए । उनले भने, ‘सुनका गहनामा मिसावट भएको उजुरी आयो । त्यसैको अनुगमन गर्न छापा मारिएको हो ।’
सुनचाँदीको शुद्धता परीक्षण गर्न तीनवटै पसलबाट नमुनाका लागि केही गहना नियन्त्रणमा लिइएको छ । प्रहरीले सुनचाँदी जोख्ने तराजु ठीक भए/नभएको पनि परीक्षण गरेको थियो । घट्दो सुनको भाउसँगै व्यापारीले सुनजडित गहनामा मिसावट गरी बिक्री–वितरण गरेको सूचना आएपछि परिसरले सुनचाँदी तथा गरगहनाको शुद्धता परीक्षण गर्न इकाइ नै गठन गरेको छ ।

प्रतिक्रिया