दाहाल भन्छन्, एक सातापछि दिल्ली जान्छु

Puspakamal-Dahalबर्दिया, १० वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू एक सातापछि भारत भ्रमणमा जाने बताएका छन् ।

चीनको साताव्यापी भ्रमणबाट शनिबार मात्र फर्केका दाहालले सोमबार भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएका हुन् । पार्टीको पश्चिम ब्युरोले गुलरियामा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै दाहालले चीनले राष्ट्रपति र प्रधानमन्त्रीलाई भन्दा बढी आफूलाई सम्मान गरेको बताए । आºनो पार्टीको साताँ महाधिवेशनले गरेको निर्णय विश्वको नीतिअनुसार भएको भन्दै चीनले स्वागत गरेको उनले सुनाए । ‘चीन र भारतसँग मिलेर नेपालको विकासमा नयाँ रणनीति बनाएका छाँै,’ उनले भने, ‘अब एक सातापछि भारत जान्छु ।’
दाहालले राजनीतिक प्रसंगमा कांग्रेस र एमालेले चुनाव नचाहेको आरोप लगाए । चुनाव बिथोल्न कांग्रेस र एमालेले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई उकासेको आरोप लगाएका हुन् । उनले अहिलेको अवस्थामा संविधानसभा चुनाव भए एमाओवादी अत्यधिक बहुमतले विजयी हुने र बहुमतको सरकार बनाउने डरले एमाले र कांग्रेसले चुनाव नचाहेको जिकिर गरे । ‘कांग्रेस र एमालेलाई चुनावमा जाने मन छैन त्यसैले मोहन वैद्य किरणलाई दोष लगाइरहेका छन्,’ उनले भने ।
उनले सरकारले जसरी भए पनि मंसिरभित्र चुनाव गराउनुपर्ने बताए । ‘हामी चुनावका लागि पूर्णरूपमा तयार छौँ । सरकारलाई चुनावका लागि पूर्ण साथ दिन्छौँ,’ उनले भने ।
उनले अब देश हाँक्ने पार्टी एमाओवादी भएको दाबी गर्दै अरू पार्टीले सरकार चलाउन नसक्ने जिकिर गरे । कम्युनिस्ट पार्टीको एकीकरण हुनुपर्ने धारणा व्यक्त गर्दै उनले सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एउटै केन्द्रमा आउन अपिलसमेत गरे ।
उनले विगतमा एउटै पार्टीमा रहेका नेकपा–माओवादीलाई देखेर माया लागेको सुनाउँदै नेकपा–माओवादीका कार्यकर्तालाई फर्कन आग्रह गरेका थिए ।
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले यसअघि संविधानसभामा आफूहरूको बहुमत नपुगेका कारण संविधान निर्माण हुन नसकेको बताएका थिए ।

प्रतिक्रिया