असर मूल्यांकन नगरी विषादी छर्कने तयारी

Musqutoविराटनगर, १० वैशाख । गर्मीसँगै विराटनगरमा मच्छर आतंक पनि बढेको छ । घर, चौक, बाटो, सार्वजनिक स्थल सबै ठाउँमा मच्छरले टोकेर हैरान पार्न थालेको छ । अहिलेजस्तो मच्छरको बिगबिगी यसअघि कहिल्यै नभएको बुढापाका बताउँछन् । उपयुक्त ढल निकासको अभाव, झाडी सफाइप्रति गरिएको बेवास्ता, फोहोरमैला व्यवस्थापनप्रतिको हेलचेक्रयाइँ र समयमै विषादी छर्कन नसक्दा मच्छर आतंक बढेको हो ।

बेलामै मच्छर नियन्त्रणका उपाय नअपनाउँदा मच्छर आतंक दिन प्रतिदिन बढ्दै गएको सचेत नागरिक अभियानका सचिव उत्तम ढुंगेलले बताए । ‘मच्छरले बेलुका र राति मात्र होइन, दिउँसै जातततै टोक्न थालेको छ । यस्तो यसअघि कहिल्यै भएको थिएन । मच्छर आतंकले विकराल रूप लिँदै गए पनि मच्छर नियन्त्रण गर्ने निकाय मौन छ,’ उनले भने । विराटनगरमा वर्षभर मच्छर लाग्ने गर्छ । ढुंगेलका अनुसार मच्छर नियन्त्रणमा ढिलाइ हुँदा मच्छरको टोकाइका कारण सर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ । ‘मच्छर आतंक रोक्न र मच्छरका कारण सर्ने रोग नियन्त्रण गर्न जाडो सकिनासाथ फागुनदेखि काम थाल्नुपर्ने थियो,’ उनले भने ।
मच्छर टोकाइबाट बिरामी भएकाहरू उपचारका लागि आउने क्रम बढेको यहाँका स्वास्थ्यसंस्थाले जनाएका छन् । विराटनगर क्षेत्रमा मच्छरको टोकाइबाट सर्ने मलेरिया र कालाज्वरका करिब दुई सयभन्दा बढी बिरामी छन् । दिन प्रतिदिन यस्ता रोगी बढ्न थालेपछि तथ्यांक संकलन गर्न समस्या भएको जनस्वास्थ्यले जनाएको छ ।
मच्छरको टोकाइका कारण मलेरिया, कालाज्वरलगायत रोगको संक्रमण बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताए । ‘मलेरिया र कालाज्वर नियन्त्रण गर्नका मच्छर आतंक रोक्नुपर्ने भएको छ,’ प्रमुख सुब्बाले भने, ‘यस्ता रोग बाँकी मानिसमा नसरोस् भन्नका लागि उच्च सतर्कता अपनाउन आवश्यक छ ।’
विषादी छर्कने तयारी
मच्छर आतंक नियन्त्रण गर्न विषादी छर्कने तयारी गरिएको छ । मानव स्वास्थ्यमा विषादीले पुर्‍याएको असर मूल्यांकन नगरी छर्कन लागिएको हो । विराटनगर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र मोरङ व्यापार संघले मच्छर आतंक कम गर्न र यसको टोकाइबाट सर्ने रोग नियन्त्रण गर्न विषादी छर्कने तयारी गरेका हुन् । एक साताभित्र विषादी छर्कने काम सुरु गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मच्छर आतंक कम गर्न भारतको कोलकाताबाट ल्याइएको अल्फासाइफर मेथ्रिन नामक विषादी छर्कन लागिएको सुब्बाले बताए । घरका भित्तामा छर्कने यो विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा नरहने उनको भनाइ छ । ‘यो विषादीका कारण सामान्य जिउ चिलाउने हुन सक्छ तर गम्भीर असर गर्दैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको र नेपाल सरकारले पनि अनुमति दिएकाले मानव स्वास्थ्यमा पर्ने असरबारे मूल्यांकन नगरिएको जानकारी उनले दिए । ‘विषादी छर्किएर मात्र मच्छर नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘वरपर थोपरिएका फोहोरमैला कम गरियो भने पनि मच्छर कम हुँदै जान्छ ।’
विराटनगरका २२ वटै वडामा विषादी छर्कने कार्यक्रम तय भएको व्यापार संघका अध्यक्ष अविनाश बोहराले बताए । विषादी छर्कने कार्यक्रमका लागि उपमहानगरपालिकाले गाडी, जनस्वास्थ्य कार्यालयले मेसिन र व्यापार संघले रकमको व्यवस्था मिलाउने सहमति भएको बोहराको भनाइ छ । ‘यसका लागि सार्वजनिक सूचना जारी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विषादी छर्कनका लागि मात्र दुई लाख रुपियाँभन्दा बढी खर्च लाग्छ । उपहानगर र जनस्वास्थ्यले मच्छर कम गर्नका लागि विषादी छर्कन जनशक्ति परिचालन गर्ने भएका छन् ।’
विषादी मानव स्वास्थ्य र अन्य जीवजन्तुका लागि घातक हुने हुँदा छर्किने बेलामा उच्च सतर्कता अपनाउनुपर्ने वातावरणविद्को भनाइ छ । वातावरणविद् रामचन्द्र अधिकारीले छर्न लागिएको कीटनाशक औषधी मानवस्वास्थ्य र वातावरणका लागि हानिकारक रहेको बताए । ‘विषादीका कारण मच्छर मात्र होइन, प्रकृतिमा रहेका अन्य जीवजन्तु र कीटपतंगको समेत अस्तित्व संकटमा पर्ने देखिएको छ,’ उनले भने, ‘यसले मानवस्वास्थ्यमा समेत गम्भीर असर पर्ने देखिएको छ ।’ रासायनशास्त्रका प्राध्यापक तुलसी निरौलाले विषादी छर्कने तयारी भइरहँदा अन्य क्षेत्रमा यसले पार्ने प्रभाव र असरका सम्बन्धमा मूल्यांकन हुनुपर्ने बताए ।

प्रतिक्रिया