नेतृत्व र समाचारलाई लिएर मोर्चामा खटपट

sharad-shing-ghandariकाठमाडौं, ९ वैशाख । राष्ट्रिय मधेस समाजवादी पार्टीले संघीय लोकतान्त्रिक मोर्चाको नेतृत्व र अध्यक्षतालाई लिएर गम्भीर आपत्ति जनाएको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरेर मोर्चासँग जोडिएका अधिकांश समाचार र नेतृत्व एवं अध्यक्षताको विषयमा आपत्ति जनाएको हो । ‘मोर्चाको नेतृत्व गर्ने दल मधेसी जनअधिकार फोरम नेपाल वा मोर्चाका अध्यक्ष र नेतृत्वकर्ता उपेन्द्र यादव आदि प्रयोग गरिएका वाक्यांशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
उसले त्रुटीपूर्ण समाचार नदिन पनि आग्रह गरेको छ । ‘मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीजस्तै मोर्चाका एउटा घटक हो,’ विज्ञप्तिमा भनिएको छ । मोर्चा सम्बद्ध दलका अध्यक्षहरुले विभिन्न बैठकमा आलोपालो अध्यक्षता गर्दै आएको पनि विज्ञप्तिमा जनाईएको छ ।
‘उपेन्द्र यादवज्यू मोर्चासम्बद्ध दल फोरम नेपालका अध्यक्ष र मोर्चाका एउटा नेता हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ नेतृत्वकर्ता वा उहाँ अध्यक्ष रहनु भएको पार्टी मोर्चाको नेतृत्व गर्ने निर्णय कहीकतै भएको छैन् । नत यसबारे मोर्चाले आफ्नो कुनै दस्तावेजमा उल्लेख गरेको छ ।’
सञ्चारमाध्यममा उपेन्द्र यादव नेतृत्वको मोर्चा भन्ने समाचार प्रकाशित भए पछि भण्डारी नेतृत्वको पार्टीले सो विषयमा आपत्ति जनाएको हो ।

प्रतिक्रिया