यादव नेतृत्वको मोर्चा वार्तामा बस्यो

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले संविधानसभा चुनावको सुनिश्चितताका लागि भन्दै सरकारसमक्ष १३बुँदे माग अघि सारेको छ ।
मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मार्चाले सरकारसँग आइतबार भएको वार्तामा १३बँुदे माग राखेको हो । मोर्चाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकार प्रमुख या न्यायपालिका प्रमुख एकबाट राजीनामा, उच्चस्तरीय राजनीतिक समितिको खारेजी, निर्वाचन क्षेत्रको पुनर्निर्धारण, अघिल्लो संविधानसभाबराबरकै समानुपातिक सिटसंख्या हुनुपर्नेलगायत माग गरेको छ ।
चुनावको सुनिश्चितताका लागि मोर्चाका तर्फबाट मागपत्र सरकारी वार्ताटोलीसमक्ष प्रस्तुत गरिएको मोर्चाका नेता यादवले जानकारी दिए । वार्तामा यादवले चुनावी सरकारप्रमुखले राजीनामा दिएपछि मात्र चुनाव सुनिश्चित हुने बताएका थिए । उनले एकै व्यक्ति न्यायपालिका र कार्यपालिकाको प्रमुख बन्दा शक्तिपृथकीकरणको सिद्धान्तलाई कायम राख्न रेग्मीले दुईमध्ये एक पद छाड्नुपर्ने माग प्रस्तुत गरेका थिए ।
वार्तापछि सरकारी वार्ताटोलीका सदस्य सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले वार्ता सकारात्मक भएको बताए । सरकारी वार्ताटोलीले मोर्चाको केही मागका विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने बताएको थियो । सरकारको लक्ष्य चुनाव गराउने मात्र भएको उल्लेख गर्दै सरकारी टोलीले चुनावमा सहयोग गर्न आग्रह गरेको थियो ।
मार्चाले तत्काल टोली खटाई तराईका जिल्लामा मतदाता नामावली, जन्मदर्ता, कर तिरेको रसिद आदिका आधारमा नागरिकता वितरण गर्नुपर्ने, ०६८ सालको जनगणनालाई आधार मान्दै निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने, समानुपातिक ६० र ४० प्रतिशत प्रत्यक्षमा चुनाव गरिनुपर्नेसहित माग मोर्चाको छ ।
वार्तामा सरकारका तर्फबाट गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री पौडेल र मोर्चाका तर्फबाट यादव, राष् िट्रय मधेस समाजवादी पार्टीका नेता शरत्सिंह भण्डारीलगायत सहभागी थिए । (सौस)

प्रतिक्रिया