निर्देशक सुनुवार पक्राउपछि रिहा

Simos-Sunuwarकाठमाडौं, ९ वैशाख । चलचित्र तथा म्युजिक भिडियोका निर्देशक सिमोस सुनुवारलाई प्रहरीले पक्राउपछि छाडेको छ । आइतबार पक्राउ गरिएका उनलाई सोमबार पुन: उपस्थित हुनेगरी छाडिएको हो ।

नायक रेश मरहठ्ठाको उजुरीका आधारमा प्रहरीले निर्देशक सुनुवारलाई पक्राउ गरेको हो । मरहठ्ठा उक्त चलचित्रका निर्माता हुन् । सुनुवारका कारण चलचित्र ‘च्यालेन्ज’ समयमा रिलिज हुन नसकेकाले क्षतिपूर्तिसहित आवश्यक कारबाहीको माग गर्दै मरहठ्ठाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी हालेका थिए ।
उजुरी परेलगत्तै परिसरले कमलपोखरी प्रहरीलाई सुनुवारलाई पक्राउ गर्न पत्राचार गरेको थियो । प्रहरीले सुनुवारलाई नक्सालस्थित उनकै कार्यालयबाट पक्राउ गरेको हो । पक्राउपछि कमलपोखरी प्रहरीले उनलाई छलफल गर्न भन्दै परिसरमा लगेको थियो । दुवै पक्षलाई सँगै राखेर प्रहरीले छलफल गरेको थियो । कुरा मिल्ने देखिएपछि प्रहरीले सुनुवारलाई सोमबार साँझ उपस्थित हुने सर्तमा छाडेको छ । ‘छलफल गर्न दुवै पक्षलाई भोलि डाकिएको छ । दुवै पक्षबीचको विवाद भोलि नै मिल्छ होला,’ परिसरका डिएसपी रमेश बस्नेतले भने ।
नायक मरहठ्ठाका अनुसार चलचित्र बनाउन एक करोड २७ लाख रुपियाँ खर्च भइसकेको छ । तीन वर्षअघि उक्त चलचित्रको निर्देशन श्याम भट्टराईले गरेका थिए । चलचित्रको भिडियो इफेक्ट, कलर इफेक्ट र चारवटा गीतको कोरियोग्राफी गर्ने जिम्मा भने सुनुवारले लिएका थिए । भोइस इन्टरनेसलन मुभिजको ब्यानरमा बनेको उक्त चलिचत्रका निर्माता मरहठ्ठा र सुनुवारबीच तीन महिनाभित्र सबै काम सक्ने भन्दै २८ मंसिर ०६६ मा सम्झौता भएको थियो । त्यसबापत ६ लाख रुपियाँ सुनुवारलाई दिने भनिएको थियो ।
सुनुवारका अनुसार तीन महिनाभित्र चलचित्र सक्ने सम्झौता भए पनि निर्देशक भट्टराईले सात महिनापछि मात्रै चलचित्रको भिडियो उपलब्ध गराएका थिए । निर्देशक भट्टराईसँगै बसेर चलचित्रको एउटा द्वन्द्वको दृश्यबाहेक सम्पादनका सबै काम सकाएको सुनुवारको भनाइ छ । अमेरिकामा रहेका मरहठ्ठा फर्केपछि चलचित्रको पुन: दृश्य सम्पादनको काम भएको सुनुवारको दाबी छ ।
निर्देशक भट्टराई आफँै बसेर सम्पादन गरेको चलचित्रप्रति मरहठ्ठाले असन्तुष्टि जनाएपछि फेरि ६ महिना लगाएर दृश्य सम्पादन गरिएको सुनुवारको दाबी छ । ‘रेश नेपाल फर्केपछि चलचित्र हेरे, सायद चित्त बुझेनछ उनलाई । पछि आफँै बसेर फेरि सम्पादनको काम गरे । त्यसपछि उनी खुसी भएर अमेरिका गए । चलचित्र प्रदर्शन पनि गरेछन् । त्यसबेला मेरो कामको तारिफ पनि गरेका थिए । अहिले उनैले मेराविरुद्ध उजुरी हाले,’ उनले भने ।
तर, निर्माता मरहठ्ठाले भने चलचित्रको अमेरिकामा प्रदर्शन नगरिएको बताए । चलचित्रको काम बाँकी रहेकाले अमेरिकामा प्रदर्शन नगरिएको उनको भनाइ छ । ‘चलचित्रको कामै बाँकी भएकाले कसरी चलचित्र प्रदर्शन हुन्छ ?’ उनले भने ।
सुनुवारले भने चलचित्रको एउटा द्वन्द्वको दृश्य मात्रै पछि सकाएको दाबी गरे । ‘चलचित्रको एउटा द्वन्द्वको दृश्य सुटिङ गर्न बाँकी थियो । त्यो काम पहिले नै सकिन्थ्यो । रेशकै कारण सुटिङ रोकिएको हो । त्यसमा मेरो के दोष ?’ उनले भने ।

प्रतिक्रिया