′सरकार चुनाव भन्दा शासन गर्न उद्यत′

agni-sapkotaकाठमाडौं, ७ वैशाख । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउन गठन गरिएको सरकार शासन गर्न उद्यत रहेको आरोप लगाएका छन् ।
एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटमा प्रवक्ता सापकोटाले निर्वाचन प्रमुख कार्यदिशा भएको सरकार अन्य काममा अल्झिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाए । उनले असारमा निर्वाचन हुन नसक्नुको कारण सरकारले जनतालाई स्पष्ट पार्नुपर्न बताए ।
लामो समयसम्म कर्मचारीको सरकारलाई निरन्तरता दिनु राम्रो नहुने भन्दै प्रवक्ता सापकोटाले शासन गर्ने र जनताको प्रतिनिधि राजनीतिक दल नै भएकाले चाँडै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साता निर्वाचन हुनुपर्ने बताए ।
प्रवक्ता सापकोटाले चीनमा नेतृत्व परिवर्तन लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेको चीन भ्रमणको ऐतिहासिक महत्व भएको उल्लेख गरे । चीनमा नेतृत्व परिवर्तन पछि दाहाल नै चीन भ्रमण गर्ने एसियाकै पहिलो नेता भएको बताउँदै उनले भने, ‘यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा हो ।’

प्रतिक्रिया