भगौडा सुरक्षाकर्मीलाई पुनर्बहाली गर्ने भन्दै होटलबाट फाराम बिक्री

Bhagauda-Surakshakarmiकाठमाडौं, ७ वैशाख । नेपाली सेना र प्रहरीका भगौडालाई पुनर्बहाली गराइदिने भन्दै पुरानो बसपार्कछेउको एक गेस्ट हाउसबाट धमाधम फाराम बिक्री/वितरण भइरहेको छ । एउटा फारामको मूल्य आठ हजार रुपियाँ तोकिएको छ ।

भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको ठीक पछाडि बसपार्कछेउको सुपर लुम्बिनी रेन्टुरेन्टबाट केही व्यक्तिले भगौडाहरूलाई जागिरमा पुनर्बहाली गरिदिने भन्दै फाराम बिक्री गरिरहेका हुन् । स्रोतका अनुसार त्यसका लागि रेस्टुरेन्टको माथिल्लो तलामा कार्यालय नै खोलिएको छ । प्रत्येक दिन बिहान १० देखि १२ बजेसम्म मात्रै कार्यालय खोल्ने गरिन्छ ।
जागिरमा पुनर्बहाली गराइदिने भन्दै फाराम बिक्री गर्नेहरूको विवरण खुल्न सकेको छैन । तर, उनीहरूले आफूलाई द्वन्द्वपीडित सेना/प्रहरी संघर्ष समितिको सदस्य भएको भन्दै परिचय दिने गरेको स्रोतले जनाएको छ । तीन महिनादेखि सोही रेन्टुरेन्टमा कार्यालय चलाएर उनीहरूले फाराम बिक्री गरिरहेका छन् । प्रहरी र प्रशासनले यसको सुइँको पनि पाएको छैन ।
स्रोतका अनुसार फाराम किन्ने अधिकांश ग्रामीण क्षेत्रमा घर भएका सेना र प्रहरीका भगौडा रहेका छन् । गोप्य रूपमा खोलिएको उक्त कार्यालय दिनमा दुई घन्टा मात्रै खुल्ने भएकाले फाराम किन्नेहरूको रेन्टुरेन्टमा भिड नै लाग्ने गर्छ ।
फाराम बिक्री गर्नेहरूले सकेसम्म आºनो परिचय सबैसँग खोल्दैनन् । पहिलो चरणमा उनीहरूले ग्राहकसँग टेलिफोनबाटै ‘डिल’ गर्छन् । फाराम किन्नेजस्तो देखिएपछि उनीहरूले ग्राहकलाई बागबजारको कुनै स्थानमा बोलाउँछन् र भेटघाट गर्छन् । भेटघाटमा उनीहरूले फाराम किन्ने भगौडा सेना–प्रहरी भए/नभएको पक्का गर्छन् । त्यसका लागि उनीहरूले आºनै विधि अपनाउने गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार फाराम लिन चाहने व्यतिmसँग भगौडा सेना–प्रहरी भए/नभएको प्रमाणित गर्न सम्बन्धित गाविसको सिफारिस माग्ने गर्छन् । त्यतिले मात्रै सिफारिस पुग्दैन, एमाओवादीको ‘हामीले उसलाई जागिर छाड्न बाध्य गराएका हौँ’ भन्ने व्यहोरा भएको सिफारिस पनि चाहिन्छ । त्यस्तै, विगतमा जागिरे भए/नभएको प्रमाणित गर्न सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयको सिफारिसपत्र पनि उनीहरूले माग्ने गरेको स्रोतले जनाएको छ ।
सबै कागजपत्रबाट फाराम किन्ने व्यक्ति भगौडा सेना/प्रहरी नै भएको प्रमाणित भएपछि मात्रै उनीहरूले कार्यालय राखिएको रेन्टुरेन्टमा लैजाने गरेका छन् । त्यहाँ लगेपछि पनि उनीहरूले सकेसम्म माथिल्लो तलामा रहेको कार्यालय देखाउँदैनन् । स्रोतका अनुसार सबै काम रेन्टुरेन्टको ‘डाइनिङ हल’बाटै गर्ने गरिन्छ । ग्राहकले अविश्वास गरेको खण्डमा मात्रै कार्यालय देखाइने गरिन्छ ।
रेन्टुरेन्टमा फाराम बिक्री–वितरण गर्दै गरेको अवस्थामा भेटिएका आºनो नाम वाइबी सारु बताउने एक युवाका अनुसार प्रत्येक दिन १० देखि १२ जनासम्मले फाराम खरिद गर्छन् । ‘हामीले यही कामका लागि पाँच वर्षसम्म संघर्ष गर्‍यौँ । बल्ल हामी सफल भएका छौँ,’ फाराम किन्ने हरेकलाई जागिरमा पुनर्बहाली गरिने दाबी गर्दै उनले भने ।
सारुले आफूलाई कार्यालयको सामान्य कर्मचारी भएको बताए । भगौडा सेना/प्रहरीलाई पुनर्बहाली गर्न पछिल्लो समयमा शान्ति मन्त्रालयमा सम्झौता नै भएको उनको दाबी छ । ‘लामो संघर्षपछि अन्तत: सरकार झुक्यो । हामीले शान्ति मन्त्रालयसँग सम्झौता गरेका छौँ । भगौडा सेना/प्रहरीले अब जागिर पाउँछन्,’ फाराम किन्न पुगेका ग्राहकलाई उनले यस्तै आश्वासन दिने गर्छन् । तर, सारुले दाबी गरेजस्तो भगौडा सुरक्षाकर्मीलाई पुनर्बहाली गर्ने सम्झौता शान्ति मन्त्रालयमा भएको छैन ।
आफूहरूले गरिरहेको कामको सुइँको पाएर प्रहरीका मान्छे ‘जासुसी गर्न’ पनि आउन सक्ने भन्दै सारु आफूहरूको काम गैरकानुनी भएको संकेत पनि गर्छन् । फाराम किन्न आउने ग्राहकलाई अरूले गर्ने हल्लाका पछाडि नलाग्न सचेत पनि गराउँछन् ।
‘यहाँ विभिन्न संघसंस्थाका मानिस आउन सक्छन् । तर, उनीहरूको कुराको पछि लाग्नु हुँदैन । हामीले जागिर लगाइदिने भनेपछि भइगो नि ! ढुक्क हुनुहोस् जागिर पक्का हुन्छ । प्रहरी पनि अनुसन्धानका लागि आएका हुन सक्छन् । हामीले उनीहरूलाई चिन्नुपर्छ र यसको जानकारी दिनु हँुदैन । किनकि उनीहरूले हाम्रो उद्देश्य पूरा हुन दिँदैनन्,’ सौर्य प्रतिनिधिलाई पनि उनले फाराम किन्न आएको ग्राहक सम्झेर भने ।

प्रतिक्रिया