अवैध हतियार धमाधम सुम्पँदै

Hatiyarनुवाकोट, ७ बैसाख । विभिन्न बहानामा अबैद्य हातहतियार राख्नेले धमाधम हतियार बुझाउन थालेका छन । अबैद्य साना हातहतियार निशर्त बुझाउन प्रहरीले अभियान सञ्चालन गरेपछि नुवाकोटमा गैरकानुनी तवरले राखिएका बन्दुक बुझाउने क्रम बढेको छ ।

जिल्ला प्रहरी कार्यालयमा १० दिनमै एक सय १३ जनाले एकसय १८ थान हातहतियार प्रहरीलाई बुझएका छन् । गाउँमा भरुवा बन्दुक अझै अधिक मात्रामा रहेको प्रहरीको ठम्याई छ । तोकिएको म्यादभित्र हतियार बुझाए खानतलासी गरिने गरिने र भेटिए कारवाही गरिने प्रहरीले जनाएको छ ।
जिल्लाभरबाट एकसय एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ब्यारल १५ थान र बन्दुकको २ थान ब्याट संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताए । यस्ता भरुवा बन्दुक राज्यको दृष्टिमा गैरकानुनी हातहतियारमा पर्ने हुनाले तत्काल बुझाएका आममाफी दिने सूचना जारी गरिएको थियो । सबैभन्दा बढी किम्ताङ गाविसबाट ४५ नाल भरुवा बन्दुक बुझाइएका छन् ।
त्यसैगरी अवैध हतियार संकलन अभियानअन्र्तगत जिल्ला प्रहरी कार्यालय, जाजरकोटले २१ थान बन्दुक र एक थान ग्रिनेट संकलन गरेको छ । अवैध रुपमा घरमा लुकाई राखिएका भरुवा बन्दुकलगायत अन्य गैरकानूनी हतियार संकलन अभियान थालेको दुई महिनामा प्रहरीले त्यति संख्यामा हतियार संकलन गरेको डिएसपी रमेश थापाले जानकारी दिए ।
फागुन तीन गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवैध रुपमा लुकाइ राखेका हतियार प्रशासनसमक्ष बुझाउन सर्वसाधरणलगायत सरोकारवाला सबैलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएको थियो । पहिलो पटक ३५ दिने सूचना जारी गरिएको भएपनि सोचेजति हतियार संकलन नभएपछि चैत अन्तिमसम्मका लागि मिति थपिएको थियो । दोस्रोपटक जारी गरेको मितिमा समेत थोरै मात्र हतियार संकलन भएपछि प्रशासनले ‘अन्तिम पटक’ को लागि भन्दै विहिवारदेखि बैशाख मसान्त सम्म फेरी मिति थप गरेको छ ।
‘बिना लाईसेन्स राखिएका हतियारहरु बुझाउन मानिस आउन् भनेर समय थपेका हौँ,’ डिएपी थापाले भने, ‘अब यो नै अन्तिम पटक थपिएको समय हो, अब छापा मार्छौँ ।’ तोकेको मितिमा हतियार नबुझाएर त्यसपछिको ‘सर्च अपरेशन’मा भेटिए कानून बमोजिम कारवाही गर्ने स्थानीय प्रशासनको तयारी छ । ‘तोकिएको मितिभन्दा पछाडि हतियार भेटिए कानूनी प्रक्रियाअनुसार मुद्धा चलाउँछौँ,’ डिएपी थापाले थपे । विहिबार मात्र दुई जनाले हतियार बुझाएको प्रहरीले जनाएको छ । मंलगबारदेखि शुरु गरिएको घुम्ति शिविरमा पनि हतियार बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी मंगलबारदेखि जिल्लाको पुर्वी क्षेत्र दल्लीमा नागरिकता वितरण तथा फोटोसहितको मतादाता नामावली संकलन अभियान सञ्चादन भएको छ । नेकपा–माओवादीले विरोध गर्ने देखिएपछि कडा सुरक्षाबीच शिविर चलेको हो । सहायक सिडिओको नेतृत्वमा गएको टोलीले दल्लीपश्चात जिल्लाका रामीडाँडा, मोर्क र थलह बजारलगायत स्थानमा शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया