सात प्रदेश उपयुक्त: कोइराला

Sushil Koirala 6झापा, ७ वैशाख । नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाले धेरै प्रदेश नेपालका निम्ती उपयुक्त नहुने बताएका छन् । मुलुकको पुनसंरचना गर्दा धेरै प्रदेश बनाए देशले थेग्न नसक्ने उल्लेख गर्दै उनले कांग्रेसले बढीमा सात प्रदेश प्रस्ताव गरेको जानकारी दिएका छन् ।

झापाको लक्ष्मीपुरमा शुक्रबार शहिद राजन गिरीको शालिक अनावरण गर्दै उनले यस्तो बताए । मंसिरभित्रै संविधानसभा निर्वाचन हुने बताउँदै उनले यसमा ढुक्क हुन सबैसँग आग्रह गरे ।
लोकतन्त्रको मुटु निर्वाचन भएकाले नेपालमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहने अन्र्तराष्ट्रिय जगतले निर्वाचन गराउन सुझाव दिएको उनले बताए । निर्वाचनपछि मुलुकमा स्थिरता बहाली गर्न कांग्रेस विजयी हुनु अपरिहार्य रहेको जिकिर उनले गरे ।
धम्कीको राजनीतिले देशको भलो नहुने बताउँदै उनले निर्वाचनको विपक्षमा रहेका असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । ‘अस्थिरता होइन, जनताले स्थिरता चाहेका छन्,’ काईरालाले भने, ‘निर्वाचनबाट मात्र शान्ति र स्थिरता कायम हुन्छ ।’
कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले उग्रवामपन्थी विचारलाई परास्त गरी लोकतन्त्र सस्थागत गर्न कांग्रसकै नेतृत्व आवश्यक रहेको बताए । केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ्गले पार्टीको महासमिति बैठकले समग्र देशको नेतृत्व गर्नेगरी विचार ल्याउन नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

प्रतिक्रिया