इरेजरले मेट्न नसकिने रहेछन् दु:खहरू

Devendraदेवेन्द्र भट्टराई मूलत: पत्रकार हुन् । तर, नेपाली साहित्यमा पनि उनको दरिलो उपस्थिति छ । हालसम्म देवेन्द्रको नेपाली लेखकहरूको प्रोफाइल संग्रह ‘स्रस्टा र समय’ र कतारमा काम गर्न पुगेका नेपालीहरूको सुख, दु:ख, सपना र आकांक्षाबारे लेखिएको किताब ‘रेगिस्तान डायरी’ प्रकाशित छन् । रेगिस्तान डायरीबारे खगेन्द्र संग्रौलाले यस्तो टिप्पणी गरेका छन्, ‘यसमा भट्टराईले थुप्रै नेपाली कामदारहरूका जीवनयात्राका डोबहरूको यथार्थपरक वर्णन र चित्रण गरेका छन् । र, आफ्ना शब्दको शक्तिले तिनलाई पहिचान, आत्मबल र आत्मगौरव प्रदान गरेका छन् ।’
तपाईंले थुप्रै लेखकसँग संगत गर्नुभएको छ र उनीहरूबारे दार्शनिक तहमा उक्लिएर आलेख लेख्नुभएको छ । ती स्रस्टाबारे दिमागी पत्रेचट्टानमा सुरक्षित सम्झना कस्ता छन् ?
हो, पत्रकारिता क्रममा सयौँ स्रष्टाहरूसँग अन्तरंग निकटको सम्पर्क र कुराकानी गर्ने मौका पाएँ । तीमध्ये केही मात्रै ‘स्रष्टा र समय’ पुस्तकमा समेटिएका छन् । कुराकानी भए/गरेका ती स्रष्टाहरूमध्ये पचासभन्दा बढी आज यो दुनियाँमा हुनुहुन्न भन्ने सम्झना गर्दा मात्र पनि स्रष्टाहरूसँगका अन्तरंग भेटघाटको सम्झना भइरहन्छ । योसँगै पुराना पुस्ताका कृष्णचन्द्रसिंह प्रधान, डायमण्ड शमशेर, रमेश विकल, ईश्वरवल्लभ, मोहन कोइराला, ध.च. गोतामे, फणिन्द्रराज खेताला, देवकुमारी थापा, कृष्णभूषण वल अथवा पछिल्लो पुस्ताका शिव अधिकारी, गोविन्द वर्तमानसम्मका संगत र कुराकानी त्यसबेला अझ टड्कारो स्मृति बनेर आउँछन् जुनबेला उहाँहरू यो धरतीमा हुनुहुन्न भन्ने सम्झना हुन्छ । नेपाली जनमानसमा एउटा कहावत छ— सम्झे नजिक, बिर्से टाढा । र, साहित्यिक सज्जन र स्रष्टाहरू बिर्सनेभन्दा पनि सम्झने स्रोत र प्रेरणा बन्ने रहेछन् । मलाई सँधै यस्तो लाग्छ ।
स्रस्टाहरूबारे लेख्दा उनीहरूका घटनालाई आकर्षक बनाउन आख्यानको रंग पनि दिनुभएको छ कि ?
नेपाली समाज र सन्दर्भमा लेखेर अथवा कवि कथाकार बनेर खासै केही हुँदैन भन्ने सोचाइ व्याप्त बनिरहेका बेला पनि आफ्नै संघर्ष अथवा तनाव र कठिनाइहरूका माझ एउटा स्रष्टाले सिर्जना गरिरहेको कुरा आफैँमा कुनै कथाजस्तो लाग्ने गर्छ । त्यसमा आख्यानको रंग भरिरहनुको अर्थ हुन्न । लमजुङको बाहुनडाँडास्थित एउटा गाईगोठमा जन्मेहुर्केका माधवप्रसाद घिमिरे आज नेपाली भाषा पढ्ने, बुझ्ने र लेख्ने समस्त नेपालीभाषीका निम्ति प्रेरणा र आदर्शका कवि हुनुहुन्छ भन्नुपर्दा यसमा के आख्यानको रंग घोलिरहने ? यस्तै कथा लैनसिंह वाङ्देलको पनि छ, गणेश रसिकको पनि छ अथवा बानिरा गिरीकै पनि लेखाइ–संघर्षको आ–आफ्नै कथानक छ । यसमा थप रंग अथवा मरमसला मिसाइरहनुको अर्थ रहँदैन ।
अखबारी लेखनका लागि लेखिएका लेखमा तपाईंको भाषिक लेपन आकर्षक हुन्छन् । ती भाषिक झिल्काको जननी को हुन् ?
जीवनमा प्रेरणा र प्रभावका कुरा यति धेरै हुने रहेछन्, तिनलाई एक, दुई, तीन भन्दै गनेर साध्य हुने रहेनछ । म पूर्वी जिल्ला झापाको एउटा गाउँमा जन्मेहुर्केको र सरकारी विद्यालयमा पढेको एउटा प्रतिनिधि सामान्य व्यक्ति हुँ । मेरो भाषिक सामथ्र्य र प्रयोगको मूल स्रोत भनेको सरकारी विद्यालयका नेपाली शिक्षकहरू, पूर्वमा फैलेको दार्जिलिङे बोलचालको प्रभाव र ठेट स्वादको पहिचान नै हो । पछि काठमाडौं गएपछि दाजु गोविन्दराज भट्टराईसँगको बसाइ र लामो संगतले लेखाइमा झर्रोपना थप्न र लेख्न थप रुचाउन थालेको हुँ ।
लेखनका लागि प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
मेरो बुझाइमा कुनै लेखक, साहित्यकार र पत्रकार बीचमा ठूलो भिन्नता रहन्छ । म लेखक होइन, एउटा पत्रकार मात्रै हुँ । पत्रिकामा स्रष्टाहरूको प्रोफाइल लेख्ने अभ्यास पनि त्यो पत्रकारिता पेसाभित्रको आफ्नो ड्युटी र अह्राएखटाएको काम गर्ने क्रम मात्रै थियो । तर, जे काम गरिन्छ, त्यसमा इमानदारी र मेहेनत जरुरी हुन्छ भन्ने मलाई मेरो बुझाइ र सिकाइले आफैँ भनेको कुरा हो । विशेषत पत्रकारहरू नारायण वाग्ले, गुणराज लुइँटेल जस्ता कवि–साहित्यिक सज्जनहरूको संगतमा रहेर काम गर्न पाउनु र उहाँहरूमार्फत पाठकले चाहेको रुचिकर विषयलाई पहिल्याउन सक्नु मेरो प्रेरणाको एउटा आधार हो ।
सैयौँको अन्तर्वार्ता लिनुभयो । तपाईं आफूलाईचाहिँ अन्तर्वार्ता दिन कस्तो लाग्छ ?
मैले आफूलाई अग्रज स्रष्टाहरूको पंक्तिमा राखेर आफूलाई लागेका यी कुराहरू भनिरहेको होइन । यो कुनै अन्तर्वार्ता भन्दा पनि सामान्य चिया–गफजस्तो प्रश्नोत्तरको रूप मात्रै हो जस्तो मलाई लाग्छ ।
कुनै सेलिब्रिटी स्रस्टा र ‘रेगिस्तान डायरी’मा भेटिएका अनामहरूबारे लेख्नुमा के फरक थियो ?
चाहे कुनै अग्रज कवि माधवप्रसाद घिमिरे हुन् अथवा रेगिस्तानको एउटा भेडीगोठालो भावना, मानवीय संवेदना र पीडाको कुरा एउटै हो । त्यसलाई कसरी व्यक्त गरिन्छ, कसरी बुझिन्छ र बुझाइन्छ भन्ने कुरा फरक होला तर पीडाको गहिराइ र संवेदना उही, उस्तै हुन्छ । रेगिस्तानमा बस्दा पनि दिनदु:खी श्रमिकहरू त्यहाँका पुस्तक पसलहरूमा ‘मुनामदन,’ ‘मुलुकबाहिर,’ ‘मालती मंगले,’ ‘मुगलान,’ ‘बसाइँ’जस्ता पुस्तक खोजिरहेका हुन्छन् । यसो भन्नुको अर्थ पात्र फरक होलान् तर तिनले भोग्ने दु:खसुखका कथानक अक्सर उस्तै हुन्छन् । संवेदना एउटै हुन्छ भन्ने मलाई लाग्छ ।
अरबी मरुभूमिमा भेटिएका पात्रका जीवन पढ्दा तपाईंले केही तत्त्वज्ञान पाउनुभयो ?
हो, त्यस्तो तत्त्वज्ञानको कुरा मैले ‘रेगिस्तान डायरी’ पुस्तकमा पनि लेखेको छु । जस्तै दु:ख, संघर्ष र श्रमले मान्छे मर्ने रहेनछ, बरु बढी सहनशील र संघर्षमुखी बन्ने रहेछ भन्ने तत्त्वज्ञान पाएँ । अर्को कुरा, मरुभूमिबाट यो देशमा भित्रिने रेमिट्यान्स श्रमपसिनाको होइन, आसुँ र रगतको रहेछ भन्ने अन्तज्र्ञान पनि मैले पाएँ ।
नेपालीका दु:ख विश्वको जुनै कुनामा पुगे पनि उस्तै रहेछन् भन्ने लागेन दाइ ?
नेपालीको दु:ख नभनौँ, दु:ख खेप्न र संघर्ष गर्न सक्ने जात हामी हौँ भन्ने मलाई लाग्छ । अफ्रिकाको मरिसस पुगेका फिरन्ता हुन् अथवा खाडीको कुबेत पुगेका महिलाहरू हुन्— संघर्ष तिनको लेखान्तचाहिँ हुने गरेको छ । यसो भन्दैमा नेपालीहरू भाग्यमै ठगिएका हुन् भन्न म चाहन्नँ । तर, सीप, दक्षता र पढाइको आफ्नै कमजोरीका कारण आफ्नो भाग्य खोज्दै भौँतारिने वर्गमा भने नेपाली पर्छन् ।
मान्छेका जीवनका दु:ख इरेजरले जस्तो मेटाउन सकिनेरहेछ त ?
हो, आदरणीय स्रष्टा इन्द्रबहादुर राईले फ्रान्सेली लेखक रब घिलेइको एउटा उपन्यासको अंशको उदाहरण दिँदै बारम्बार भन्ने गर्नुहुन्छ— कुनै व्यक्तिले एउटा ‘इरेजर’ भेटेको छ र जसले आफ्ने इच्छाअनुसार भूतकाललाई मेटाउन सकिने हुन्छ । र, त्यसमा इच्छाअनुसार नयाँ इमेज उतार्न सकिने हुन्छ । तिमीले आफ्नो विगतका कुनकुन कुरा मेटाउन सक्ने थियौ र त्यसको सट्टामा कस्तो चित्र अंकित गर्न सक्ने थियौ भनेर सोधिएको हुन्छ । अहँ, जति गर्दा पनि त्यस्तो मेटाउने कुरा पाइँदैन र सकिदैन । सम्झनुहोस्– मलाई मन नपरेकी केटीसँग बिहा गर्नुपर्‍यो, म त्यो मेटाउन चाहन्छु । तर, मन नपरेकी उनीबाट मनपर्दा छोराछोरी जन्मेका होलान् । अब के गर्ने ? ती श्रीमतीलाई मेटाउने हो भने ती केटाकेटी पनि मेटिन्छन् । जुन म चाहन्नँ । र त्यस्तो ‘इरेजर’ कतै भेटिएमा पनि सबैको हालत यही हुन्छ, कतैकहीँ केही मेटाउन वा थप्न नसकिने कहालीलाग्दो अवस्था । यहाँ जन्मेको भए, त्यहाँ जन्मेको भए भन्ने कुरा पनि इरेजर भेटिएजस्तै कुरा हो । हाम्रा जीवनका दु:खसुखहरू पनि त्यस्तै हुन् , जसलाई कुनै इरेजरले मेट्न सकिन्नँ ।
तपाईं लेखक हुनुभन्दा अघि पत्रकार हुनुहुन्थ्यो । एउटा पत्रकार र लेखकका रूपमा आफ्नो तुलना कसरी गर्नुहुन्छ ?
मैले अघि पनि भनेँ— अग्रज स्रष्टा र साहित्यिक जनहरू जस्तो म लेखक होइन । म पेसा र परिबन्दले बनेको लेखक मात्रै हुँ । कुनै गहिरो अनुसन्धान, समालोचना अथवा ‘वाद’को प्रयोग मैले चाहेर पनि सम्भव हुने कुरा होइन । यसकारण हुनसके म धेरैमा साहित्यिक पत्रकार हुन सकौँला । आफूलाई लेखक भन्ने साहस मसँग छैन ।
‘स्रस्टा र समय’मा दशकौँअघि प्रकाशित स्रस्टाबारेकै निबन्धका किताब उत्तम कुँवरको ‘स्रस्टा र साहित्य’ र शंकर लामिछानेको ‘विम्ब प्रतिविम्ब’को कुनै प्रभाव छ कि ?
हो, तपाईँले भन्नुभएका दुवै आदरणीय लेखकहरूको गहिरो प्रभाव मसँग छ । मैले उत्तम कुँवरको जस्तो अनौपचारिक अन्तर्वार्ता शैली र शंकर लामिछानेको जस्तो गफैगफमा मान्छेको भित्री संवेदनासम्म पुग्ने प्रयोग रुचाएको हुँ । यी दुवै लेखकका कृतिहरू मेरो आदर्श र प्रेरणाझैँ मेरो सिरानीमै हुन्छन् ।
जीवनमा आजभन्दा १० वर्षअघि गरिएका वा लेखिएका कुराहरू आज पुरानाझैँ, काम नलाग्नेझैँ भएका जस्तो लाग्दैन ?
दश वर्षअघि कुराकानी गरिए पनि मैले ‘तपाईँको उमेर कति भयो ? तपाईँले आज के खानुभयो ? तपाईँका प्रेमिका कति छन् ?’ जस्ता सहज र उडन्ते जिज्ञासाहरू राखेको छैन । स्रष्टासँगका कुराकानी, जीवनदर्शन र साहित्य सिर्जनाका आधार पहिल्याउने गरी गरिएकाले नै ती सधैँ सान्दर्भिक हुन् कि झैँ लाग्छ ।
प्राय: लेखकहरू आफैँले बोक्न नसक्ने किताब छाप्छन् भनिन्छ । तपाईंले लेखेका किताब कति गह्रौँ छन् भन्ने लाग्छ ?
तपाईँले मसँग कुराकानी गर्ने क्रमको सुरुआतमै मेरा दुई पुस्तकहरूको नाम उल्लेख गरेर प्रश्न गर्न थाल्नुभयो । यसको अर्थ मलाई लाग्दैन कि मेरा पुस्तकहरू बोक्ने अर्थमा गह्रौँ होइन कि संवेदना र भावनाको कुरा उदिन्नमा भने गह्रौँ हुन् ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया