खोजखबर

आफ्नाका मात्रै कहिलेसम्म छापिरहने ?

सौर्य अनलाइन २०७० वैशाख ७ गते ५:३० मा प्रकाशित

Padamपंक्तिकारले मिडियामा काम गर्न थालेको दुई दशक पनि पुगेको छैन । नेपाली मिडियामा यस अवधिमा धेरै कुरा परिवर्तन भएका छन् । अन्य विषयबारे चर्चा र बहस भए पनि साहित्य र मिडियाको परिवर्तित दृष्टिकोणबारे चाहिँ खासै लेखिएको अझै पनि पाइँदैन ।
हामीले पत्रकारिता सुरु गर्दाको समय यस्तो थियो, असल साहित्यलाई पत्रिकाले ठाउँ दिनु सम्पादक र प्रकाशकले अपराध ठान्थे । कतै कुनामा ठाउँ दिइहाले पनि त्यो धेरैजसो साहित्यिक चेत र यो पनि विषय हो भन्ने ठानेर ठाउँ दिइएको हुादैनथ्यो । बरु, सामाजिक र अन्य दबाबका कारण त्यति स्थान दिइनुपर्ने हुन्थ्यो । धेरैजसो अवस्थामा चाहिँ औपचारिकता निभाउने स्तरहीन साहित्यलाई मात्रै असल साहित्यको रूपमा प्रस्तुत गरिन्थ्यो । जस्तो कि धेरैलाई थाहा छ– नेपालमा सबैभन्दा बढी उत्पादन हुने वस्तु भनेकै कविता हो । कविता अत्यन्तै सस्तो र सबैले लेख्नसक्ने विषय बनाइएका कारण यसको उत्पादन पनि त्यही रूपमा बढी नै भइरहेको छ । त्यसमा पनि सम्पादकको साहित्यिक चेत नभएको अवस्थामा उसले समाजमा उत्पादित तिनै कवितालाई नै असली कविताका रूपमा छाप्ने गथ्र्यो । सामाजिक सम्बन्धका कारण पनि ऊ ती कवितालाई नछापी बस्न सक्दैनथ्यो । यो श्रृंखला कहाँसम्म पुग्थ्यो भने त्यस्ता रचनालाई आदर्श मानेर अरू कविता पनि जन्मिने क्रम बढ्थ्यो । समाज यसरी एउटा लामो चक्रमा फस्दै स्तरहीन कविता उत्पादन गरिरहन बाध्य थियो । अहिले पनि यो चक्रका कारण जे पनि कविता बन्ने र जे लेख्दा पनि साहित्य हुने अवस्था छँदै छ । अर्थात् मिडियामा पनि यो क्रम पूरै सकिइहालेको छैन । बरु धेरै हदसम्म मत्थर मात्र भएको छ ।
पञ्चायतको अन्त्यपछिको एक दशक पछिसम्म पनि नेपाली पत्रकारितामा पार्टी निकटका पत्रिकाको बिगबिगी नै थियो । अहिले धेरै हदसम्म त्यो स्थितिको अन्त्य भएको छ । त्यस समयमा पत्रिकाले पक्षपोषण गरिरहेको पार्टीका कार्यकर्ताले लेखेकादेखि आफन्त र समाजका अन्य व्यक्तिले लेखेका रचना नै साहित्य मानिन्थ्यो । यस्ता रचनामा धेरै संख्या त कविताकै हुन्थ्यो । त्यस समयमा पार्टी निकट पत्रिकामा साहित्यिक रचना र अझ बढी कविता नछाप्ने राजनीतिक कार्यकर्ता कमै होलान् ।
यता असली कवि र साहित्यकारचाहिँ सधैँ मिडियाबाट ठगिइरहेको हुन्थ्यो । उसलाई न त मिडियाले नै सम्पर्क गथ्र्यो, न त ऊ आफैँ मिडियाको पछि नै लाग्थ्यो । हो, किताब निस्किएपछि चाहिँ सम्पादक र साहित्यिक स्तम्भकारलाई दुईप्रति दिएर ऊ सम्बन्ध नवीकरण गरिरहन्थ्यो । त्यसको केही सातामा पुस्तक समीक्षा मात्रै छापिए पनि उसले मिडियाबाट ठूलै सहयोग पाएको सम्झनुपर्ने हुन्थ्यो । अझै पनि यो अवस्था पूरै हटेको छ भन्न सकिँदैन । बरु परिवेश फेरिएको छ र मिडियामा सम्पर्क बनाएकै आधारमा लेखक स्थापित बन्ने होडचाहिँ चलेको छ ।
पुराना केही विकृति यथावत रहे पनि र केही नयाँ विकृति जन्मिए पनि आज साहित्यले मिडियामा निकै ठूलो स्थान पाउन थालेको छ । ठूला अखबारका शनिबार सामग्री मात्र होइन, अन्य नियमित सामग्रीमा पनि सोझो साहित्य मात्र होइन, साहित्यिक र कलात्मक शैली अपनाउन थालिएको छ । आलोचना, बहस र सच्याउनुपर्ने ठाउँ धेरै भए पनि साहित्यकार र साहित्यका पाठकका लागि यो निकै सकारात्मक कुरा हो । कम्तीमा मूलधारका भनिएका पत्रिकामा मूलधारको साहित्य र यससम्बन्धी बहस जमेरै हुन थालेका छन् । र, यसको सबैभन्दा ठूलो उपलब्धिचाहिँ के हो भने साहित्य भनेको केही फरक व्यवहार र सोच भएका व्यक्तिको मात्र विषय हैन भन्ने मान्यता स्थापित भएको छ । साहित्यकार भनेका पनि समाजमा र अझ लेखनमा स्थापित भएकै कारण सम्मानित व्यक्ति हुन् भन्ने मान्यताले स्थान पाउन थालेको छ । उनीहरू लामो दाह्री पालेका, बाटोमा भेट्नेबित्तिकै कविता या उपन्यासको प्लट सुनाएर हाास्य पात्र बन्ने व्यक्ति होइनन् भन्ने मान्यता पनि यस क्रममा स्थापित भएको छ । यसमा साहित्यकारमा पलाएको समयचेत र उनीहरूको समाजसँगको सम्बन्धजस्ता कारण पनि लुकेका छन् होला । तर, यो चेतना स्थापित गराउनमा मिडियाको पनि धेरथोर भूमिका अवश्य नै छ ।
पुस्तक अंश छापेर होस् या पुस्तकबारे लेख्ने ठाउँ बढाएर आज साहित्य र साहित्यसँग सम्बन्धित विषयले पाएको स्थानले समाजका अन्य कतिपय क्षेत्रमा पनि प्रभाव पारेको देखिन्छ । मिडियाले नयाँ पुस्तक, कार्यक्रम, लेखक र यस्तै विषयलाई दिएको स्थानका कारण नयाँ पुस्तामा पनि पठन संस्कृतिको विकास भएको देखिन्छ । यसले गर्दा प्रकाशन क्षेत्रमा नयाँ पुस्ता आउने र प्रतिष्पर्धा बढ्ने क्रम पनि ह्वात्तै बढेको छ । आज कुनै स्तरीय लेखकले आफ्ना किताब बाँडेर सक्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने एउटै मात्र किताबबाट पनि प्रकाशन संस्था र लेखक दुवै स्थापित हुने अवस्था सिर्जना भएको छ । नयाँ दैनिक पत्रिकाले पस्किने कतिपय सामग्री हेर्दा कतैकतै त साहित्यलाई फेसनका रूपमा पनि बढी स्थान दिइएको पो हो कि भन्ने पनि लाग्छ ।
जे होस् पंक्तिकारले पत्रिकामा काम सुरु गर्दा साहित्य पनि लेख्ने र लेखिने विषय हो भन्दा सम्पादक र प्रकाशकहरू हाँस्ने अवस्था थियो । अहिले धेरै अर्थमा सकारात्मक मान्नैपर्ने सोचको विकास भएको छ । साहित्यमा पनि कलम चलाउने र पत्रिकामै काम गर्ने व्यक्तिका हिसाबले यो खुसीको कुरा हो । तर, अझै यहाँनेर प्रश्न छ– साहित्य र साहित्यिक चेत भएका व्यक्तिलाई लामो समयसम्म यही बिटमा काम गर्ने, गराउने वातावरण कहिले बन्ला ? कहिले यस विषयमा ज्ञान राख्ने व्यक्तिले वस्तुनिष्ठ ढंगले सामग्री संयोजन गर्ने र पस्किने अवस्था आउला ? कहिले सम्पादक र प्रकाशकको दबाबमा उनका आफन्तको कविता नामको सामग्री नछापे पनि जागिर धरापमा नपर्ने अवस्था आउला ? साहित्यिक चेत भएका र पत्रकारितामा काम गरेका हरेक युवाको यो प्रश्नको जवाफचाहिँ अझै पाइएको छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय