महिलाका वैदेशिक गतिशीलताका चुनौती

Bhumika-dahalघरको चुलोचैकामा सीमित रहेका नेपाली महिला अन्य देशका महिलासरह गतिशील बन्दै गएका छन् । पुरुषसरह महिलाको शिक्षा, आर्थिक, राजनीतिक, प्रशासनिक क्षेत्र तथा सामाजिक विकासका गतिविधिमा पनि सहभागिता बढ्दै गइरहेको छ । पछिल्लो समयमा नेपाली महिला सामाजिक, सांस्कृतिक तथा धार्मिक मूल्य, मान्यताको घेराबन्धीभित्रबाट विस्तारैबाहिर निस्कन थालेका छन् । महिला गतिशीलता बढ्दै जानुमा शिक्षाको पहुँचमा वृद्धि, सामाजिक चेतनाको विस्तार, राजनीतिक परिवर्तन तथा यातायात र सञ्चारको क्षेत्रमा भएको प्रगतिले महत्त्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समयमा महिलाको गतिशीलता विदेशमा उच्च शिक्षाका लागि अध्ययन गर्नदेखि लिएर रोजगारका क्षेत्रमा तीव्र रूपमा बढ्दै गइरहेको छ ।
नेपाली महिलाको वैदेशिक गतिशीलताको इतिहास हेर्दा छिमेकी देश भारत, भुटान र बर्मासम्म पुग्न सकिन्छ । त्यो गतिशीलता बसाइँसराइको रूपमा भएको पाइन्छ । महिला परिवारका साथमा वा विवाहपछि श्रीमान्सँग बसाइँ सर्ने क्रममा भारतका आसाम राज्य, भुटान तथा बर्मासम्म पुगे । तर, त्यो बसाइँसराइको गतिशीलताको स्वरूपमा महिलाहरू पुरुषमा निर्भर थिए । भुटान र आसाममा गएर खेतीपाती, पशुपालन व्यवसायमा सम्लग्न भए । सयौँ वर्षअगाडि ती ठाउँहरूमा बसाइँ सरेर गएका नेपालीमध्ये धेरै स्वदेश फर्के भने बाँकी रहेकाहरूका नयाँ पुस्ताहरू भारतका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका छन् । सन् १९९० को दशकको प्रारम्भमा भुटानबाट खेदिएका नेपालीभाषी भुटानीहरू जो नेपालबाट भुटानमाबसाइँ सरी गएका थिए, तिनीहरू लामो समयसम्म झापा र मोरङ जिल्लाका विभिन्न ठाउँहरूमा अस्थाइ रूपमा बसे । विगत पाँच/छ वर्षदेखि ती शरणार्थीहरू अन्तर्राष्ट्रिय बसाइँसराइ संगठनको सहयोगमा अमेरिका, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया गइरहेका छन् । त्यस कार्यक्रममा महिला समेटिएका छन् ।
महिला शिक्षाको क्षेत्रमा पुरुषसरह सहभागी हुन सक्ने भएपछिको अवस्थामा आर्थिक तथा सामाजिक क्रियाकलापको क्षेत्रमा सहभागिता पनि बढेर गएको छ । नेपालको इतिहास हेर्दा वि.सं. ००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि मात्र शिक्षाको क्षेत्रमा महिलाको सहभागिता बढ्न थाल्यो । त्यससँगै रोजगारको खोजीमा महिला पनि पुरुषसरह मैदानमा उत्रन सफल भए । रोजगारको खोजमा महिलाहरू शिक्षा क्षेत्र, प्रशासनिक क्षेत्र तथा प्रहरी सेवा जस्ता क्षेत्रमा पनि सहभागी हुन थाले । कानुनी रूपमा महिलालाई रोजगारका लागि ३३ प्रतिशत आरक्षण सिट प्रदान गरिएको छ । तर, आधा आकाशको रूपमा चिनिने नेपाली महिलाको स्वदेशमा हुने आर्थिक गतिविधिमा सहभागिताको स्तर ज्यादै न्यून भयो ।
पछिल्लो एक दशकमा महिलाको आकर्षणको केन्द्रविन्दु बन्दै गइरहेको छ वैदेशिक रोजगार । वैदेशिक रोजगारलाई सरकारीस्तरबाट नै प्रमुख प्रथामिकतामा राखिएको छ । त्यसका लागि आकर्षक गन्तव्य मुलुकहरूको खोजी गर्नदेखि लिएर श्रम सम्झौता गरी आवश्यक ज्यालादर निर्धारण गर्न पनि सधैँ अग्रसर हुने नेपाल सरकारले महिला कामदारका लागि पनि गन्तव्य मुलुकहरू चयन गर्छ । सरकारका तर्फबाट नै स्वीकृत भएको एक आकर्षक मुलुकको रूपमा इज्ज्रायल रहेको छ । तर, त्यो अहिले नेपाली कामदारका लागि बन्द बनेको छ । इज्ज्रायलमा महिलाले आकर्षक तलब पाउने मात्र होइन उनीहरूको राम्रो सुरक्षाको वातावरण पनि छ । तर, धेरै महिलका लागि आकर्षक बनेका मुलुकहरूमा पुरुष जस्तै राम्रो पैसा आर्जन गर्न सकिने मुलुकहरू पर्छन् । त्यसकारण सरकारले तोकेका देशहरूमा भन्दा अन्य मुलुकहरूमा पनि महिलाको सहभागिता अत्याधिक मात्रामा छ ।
महिलालाई खाडी मुलुकमा घरायसी काममा जानका लागि सरकारले प्रतिबन्ध लगाएको छ । त्यसमा पनि ३० वर्षभन्दा कम उमेर समूहका महिलालाई रोक लगाइएको छ । महिला शारीरिक हिंसाका सिकार हुने गरेका छन् । धेरै महिलाले आफ्नो अस्मिता गुमाएका छन् । घरधनी, मालिक्नी तथा परिवारका अन्य सदस्याहरूबाट यौन हिंसा हुने गरेका छन् । त्यसबारेमा लामो समयदेखि केन्द्रमा बहस हुने गरेको भए, न त खाडी मुलुकहरूमा महिला कामदारहरू जाने क्रम रोकिएको छ न महिलालाई लुकीछिपी त्यस्ता देशहरूमा पुर्‍याउने दलालहरूलाई कारबाही गर्न सरकारले प्रभावकारी कदम नै चाल्न सकेको छ । भारतको बाटो हुँदै धेरै नेपाली महिला खाडी मुलुक जाने गरेका छन् । ती मुलुकहरूमा उनीहरूले नरकीय जीवन बिताउनु परिरहेको छ । उनीहरूले बिना तलब काम गर्नुपर्ने, दैनिक जसो शारीरिक यातना बेहोर्नुपर्ने, घरधनी तथा घरबेटीका छोराहरूको यौन हिंसाको सिकार हुनुपर्ने मात्र होइन कतिपय महिलाहरू गर्भवती भएर स्वदेश फर्कन बाध्य छन् ।
शिक्षा आर्जन तथा रोजगारका लागि पश्चिमा मुलुक जाने नेपाली महिलाको अवस्था धेरै राम्रो छ । घरेलु कामदारको रूपमा विदेश जाने महिलाले स्वदेशको घरधन्दा र चुलोचौकाबाट बाहिर निस्कन मात्र पाएका छन् तर उनीहरूको आर्थिक अवस्था सुध्रनु त कता हो कता धेरै महिलाको जीवन नरकमा चुलुम्म डुबेको छ । आफ्नो अमूल्य जीवनलाई जोखिममा पारेर काम गर्नु परेको छ । स्वदेशमा नै आकर्षक रोजगारका अवसरहरू सिर्जना गर्न नसक्दा युवा जनशक्तिहरू विदेश पलायन हुनु बाध्यात्मक अवस्था हो । यो देशको लागि दुर्भाग्यको कुरा हो । विदेशमा जाने युवा जनशक्तिमध्ये धेरैले उतै आफ्नो कर्मथलो बनाउने गर्छन् भने नेपाल फर्कनेले पनि स्वदेशमा नयाँ प्रविधि ल्याउन सक्दैनन् । न्यून तलबस्केलमा विदेश गएका नेपाली नारीले स्वदेशमा सानो अनुपातमा मात्र पुँजी भित्र्याउने गर्छन् । त्यसले एक परिवारको अल्पकालीन मागलाई मात्र पूरा गर्छ तर देशको दिगो आर्थिक विकासका लागि त्यो सानो परिमाणको रकमले प्रयाप्त योगदान दिन सक्दैन ।
महिलाको वैदेशिक रोजगारलाई सुरक्षित बनाइनु आवश्यक छ । स्वदेशमा राम्रो अवसर नपाएपछि विदेश जान तयार भएका महिलालाई प्राविधिक तालिम प्रदान गरी सुरक्षित गन्तव्य स्थलहरूमा पठाइनु आवश्यक छ । महिला गतिशीलतालाई व्यवस्थित बनाउन सकेमा पुरुषसहर बिना हिचकिचाहट महिलाहरू पनि विभिन्न मुलुकहरूमा सहज रूपमा गई आफ्नो पौरख देखाउन सक्ने थिए । त्यसका लागि नेपाल सरकार, मेनपावर एजेन्सी, नागरिक समाज तथा परिवारका सम्पूर्ण सदस्यहरूले ध्यान दिनु जरुरी छ ।

[email protected]

प्रतिक्रिया