चुनावमा सहयोग गर्ने चीनको वचन

काठमाडौं, ६ वैशाख । चीन भ्रमणका क्रममा बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनिपिङसँग भेट गरेका छन् ।

दाहाल र जिनिपिङबीच बिहीबार अपराह्न राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपलमा करिब ४५ मिनेट कुराकानी भएको हो । भेटमा चिनियाँ राष्ट्रपति जिनिपिङले नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सहयोग गर्न चीन सरकार सदैव तयार रहेको बताएको दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । खड्काका अनुसार जिनिपिङले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा चुनावबारे चासो राख्दै चुनावका लागि आवश्यक सहयोग उपलब्ध गराउन चीन सरकार तयार रहेको बताएका थिए । जिनिपिङको चासोमा दाहालले विभिन्न कारणले संविधानसभा विघटन भए पनि प्रमुख राजनीतिक दलहरूको सहमतिमा मुलुक चुनावी प्रक्रियामा अगाडि बढेको उल्लेख गर्दै चाँडै संविधानसभाको नयाँ चुनाव हुने जानकारी गराएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवसमेत रहेका जिनिपिङले नेपाल र चीनबीच विगतदेखि अत्यन्त निकट र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नया आधारमा सम्बन्ध विस्तार गर्न सकिने बताएका थिए । भेटमा उनीहरूबीच नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई बदलिदो विश्व परिस्थितिअनुसार अगाडि बढाउने विषयमा छलफल भएको थियो । दाहालले नेपालमा ऊर्जा, कृषि, पर्यटन, यातायातलगायत क्षेत्रमा चिनियाँ सहयोग बढाउन आग्रह गरेका थिए । दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको तथा चिनियाँ जनताको नेतृत्व गर्ने राष्ट्रपति पदमा निर्वाचित भएकोमा जिनिपिङलाई बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । भेटमा दुवै पार्टीको महाधिवेशनबाट पारित कार्यदिशाबारे पनि चर्चा भएको जनाइएको छ ।

प्रतिक्रिया