चीन जानुअघि दाहालले तीनपटक भारतीय राजदूत भेटे

Puspakamal-Dahal-Indianकाठमाडौ, ६ वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि भारतीय राजदूत जयन्त प्रसादसँग पटक–पटक गोप्य छलफल गरेको खुलासा भएको छ । राजदूतसितको एकपटकको छलफलमा दाहालसँगै पार्टी उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि थिए ।

स्रोतका अनुसार आºनो भ्रमणको विषयमा दाहालले गत २४, २७ र ३० चैतमा राजदूत जयन्तलाई भेटेर छलफल गरेका थिए । लाजिम्पाटस्थित भारतीय दूतावासमा भएका तीनवटै भेट राति भएका थिए । राजदूत जयन्तलाई अन्तिमपटक भेटेको दुई दिनपछि दाहाल एक साता लामो चीन भ्रमणमा गएका हुन् ।
२४ चैतमा धादिङमा भएको पार्टी कार्यक्रममा सहभागी भएका अध्यक्ष दाहाल सोही दिन साँझ काठमाडांै फर्की भारतीय राजदूतावास छिरेका थिए । उनीसँग उपाध्यक्ष भट्टराई पनि थिए । दुवै जना आºनो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि छाडेर सुटुक्क दूतावास छिरेका थिए ।
स्रोतका अनुसार भट्टराईको गाडीमा साँझ सवा ७ बजे दाहाल दूतावास पुगेका थिए । पौने दुई घन्टा लामो छलफलपछि दाहाल र भट्टराई राति ८:४७ मा बाहिरिएको स्रोतको दाबी छ । चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय राजदूत जयन्तलाई भेट्दा चिनियाँ पक्षले आशंका गर्ने भएकाले भेटघाट गोप्य र राति भएको स्रोतको दाबी छ । ‘भ्रमण प्रभावित पनि हुनसक्नेमा दाहाल सचेत थिए,’ स्रोत भन्छ ।
त्यस्तै, २७ चैतको राति दाहालले दोस्रोपटक राजदूत जयन्तलाई भेटेका थिए । स्रोतका अनुसार राति ८ बजे दाहाल एक्लै दूतावास पुगेका थिए । करिब दुई घन्टा राजदूत जयन्तसित छलफल गरेर उनी बाहिरिएका थिए । स्रोतका अनुसार दाहालले आºनो चीन भ्रमणका विषयमा भारतीय राजदूतसित छलफल र सल्लाह गरेका थिए । ‘विनासुरक्षा उहाँ एक सातामा तीनपटक आउनुभयो र महामहिमसँग भेटेर फर्किनुभयो,’ स्रोतले भन्यो ।
त्यस्तै, चीन भ्रमण जानुभन्दा दुई दिनअघि ३० चैतको राति पनि अध्यक्ष दाहालले भारतीय राजदूतलाई भेटेर छलफल गरेका थिए । आधा घन्टा मात्रै भएको त्यसदिनको छलफलमा चीनबाट फर्केलगत्तै भारत भ्रमण गर्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ । ‘त्यो दिन आघा घन्टा मात्र भेटघाट भएको हो,’ स्रोतले भन्यो, ‘भेटमा चीनबाट फर्केलगत्तै भारत जाने विषयमा कुरा भएको थियो ।’
भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अध्यक्ष दाहालले चीनबाट फर्केपछि लगत्तै भारत जाने अभिव्यक्ति दिएका थिए । स्रोतका अनुसार ३० चैतमा भएको राजदूत जयन्तसितको छलफलमा भारत जाने विषयमा कुरा मिलेपछि उनले विमानस्थलमा त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै भारतविरुद्ध चर्का अभिव्यक्ति दिएका अध्यक्ष दाहाल पछिल्लो समयमा भारतसितको सम्बन्ध सुधार गरिरहेको स्रोतले जनाएको छ । यसका लागि पूर्वप्रधानमन्त्री भट्टराईले पनि उनलाई सघाइरहेको स्रोतको दाबी छ ।
साता लामो चीन भ्रमणमा रहेका दाहालले बिहीबार मात्रै चिनियाँ राष्ट्रपति सी जिनिपिङसँग भेट गरेका छन् ।

प्रतिक्रिया