चुनावमा भाग लिन वैद्यलाई कोइरालाको आग्रह

काठमाडौं, ६ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई संविधानसभा चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।

हात जोडेर भए पनि वैद्य पक्षलाई चुनावमा ल्याइछाड्ने दाबी गरेका कोइरालाले बिहीबार धापासीस्थित वैद्यनिवास पुगी चुनावले मात्र राजनीतिक निकास दिने उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन् । केही
दिनअघि कोइरालाले आफू उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएपछि जसरी पनि वैद्य र उपेन्द्र यादव नेतृत्वको फोरमलाई चुनावमा ल्याइछाड्ने दाबी गरेका थिए ।
चुनावी प्रक्रिया र सरकार सञ्चालनमा सहयोगका लागि गठित राजनीतिक समितिको संयोजकका रूपमा कोइरालाले वैद्यसँग भेट गरेका हुन् । यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल समितिको संयोजक थिए । भेटपछि सभापति कोइरालाले वैद्यसगको छलफल सकारात्मक भएको उल्लेख गर्दै आफूले चुनावमा आउन आग्रह गरेको जानकारी दिए ।
जवाफमा वैद्यले आफूहरू चुनावविरोधी नभए पनि अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियामा विरोध रहेको उल्लेख गरेका थिए । चुनावी सरकार गठनका लागि चार शक्तिबीचको सहमति र राष्ट्रपतिबाट भएको बाधा–अड्काउ फुकाउको आदेशप्रति नेकपा–माओवादीसहित ३३ दलले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया