एचआइभीविरुद्ध लिजाको उत्साह

lizaयुक्रेन, युरोपकै सबैभन्दा एचआइभी महामारी भएको देश । यहाँका अधिकांश एचआइभी संक्रमित व्यक्ति एचआइभी प्रतिरोधक औषधी एन्ट्री रेट्रोभाइरल खाने पहुँचमा छैनन् । एचआइभी संक्रमित युक्रेनीमध्ये लिजा एरोसान्का भाग्यमानी युक्रेनी जनता गनिन्छिन् । यी ‘संक्रमित भाग्यमानी’ मानिसहरूको बीचमा एचआइभी संक्रमितहरूका स्वास्थ्यका लागि आवश्यक औषधि र अधिकारका बारेमा बोलिरहेकी छिन् ।
लिजा, १४ वर्षकी युक्रेनी किशोरी । शरीरमा एचआइभीको भाइरस बोकेर बाँचिरहेकी छिन् । उनको जीवन अहिले यिनै एन्ट्री रेट्रोभाइरल (एआरभी) का चक्कीले धानिरहेको छ । ती गोलिया दिनको तीनपटक उनले खानुपर्छ । हरेक दिन हिजोकै समयमा उनको शरीरले एआरभीको चक्की अनिवार्य पाएको हुनुपर्छ । हरेक दिन औषधि खाने समय ठीक हुन अलार्म लगाउनु पर्छ होला है ? ‘अँ हो’, उनकी धर्मआमा ओक्साना अलिगेभाले भनिन्– ‘यिनका दुई खुट्टा मेरो लागि अलार्म ।’
लिजाको किशोरी आँखामा चमक देखियो । अलार्म नलगाए पनि कहिल्यै औषधि खाने समय गलत नहुने उनले बताइन् । भनिन्, ‘बरु भाइरसले रूप बदल्न सक्ला, औषधिले काम गर्न छोड्ला तर म औषधि खाने समय भने सधँै यकिन गर्न सक्छु ।’
विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘युक्रेन युरोपमा सबैभन्दा धेरै एचआइभी/एड्सको महामारी भएको देश हो । यहाँका अधिकांश जनताको एचआइभीसँग लड्ने क्षमता कम छ, एआरभीको पहुँचमा पनि निकै कम छन् ।’
युक्रेनमा एचआइभी संक्रमित एक लाख २० हजार जनता रहेको सरकारको तथ्यांक छ । तीमध्ये एक तिहाइ मात्रै एआरभीको पहुँचमा छन् । जसले गर्दा उनीहरूलाई सामान्य जीवन जिउन सहयोग मिलेको छ । तर, युक्रेनमा एचआइभी/एड्सको न्यूनीकरणका लागि जनचेतना जगाउँदै आएको संस्था द एड्स एलाइन्सले भनेको छ – ‘सरकारी तथ्यांकको दोब्बर जनता एचआइभी संक्रमित छन् ।’ एलाइन्सका अनुसार संक्रमितको तथ्यांक अनुसार हरेक छ जनामा एकले मात्रै एआरभी लिन पाएका छन् । एचआइभी संक्रमितका लागि यो विश्वकै सबैभन्दा दयनीय हो ।
यसविपरीत विश्वकै गरिब मानिएका बोत्सवाना, रुवान्डालगायत देशले पनि ८० प्रतिशत एचआइभी संक्रमित जनतालाई एआरभी सेवा दिएका छन् । तत्कालीन राष्ट्रपति विक्टर यानुकावीचले विभिन्न संक्रमित रोगलाई न्यूनीकरण गर्नु सरकारको प्राथमिकता भएको बताएका थिए । यद्यपि, सरकारले २०१३ मा विनियोजन गरेको बजेटमध्ये हेपाटाइटिसका विरुद्ध रकम विनियोजन नै भएन भने चालीस प्रतिशत रकम मात्रै क्षयरोग र एचआइभीको लागि परेको छ ।
त्यसैले लिजाले बाहिर निस्किएर बोल्ने निर्णय गरेकी हुन् । एचआइभी संक्रमित व्यक्तिहरूका अभिभावकको समर्थनमा उनी युक्रेनको संसद्मा पुगिन् । बजेट पारित गर्नुअघिको सभामा माइक्रोफोन अघि पुगेर दबेको आवाजमा बोलिन्, ‘आदरणीय माननीयहरू † यो बजेटको ड्राफ अस्वीकृत गरिदिनुहोस्, अन्यथा उपचारको अभावमा धेरै अभिभावक र बालबालिका एचआइभीबाट मर्नेछन् ।’ उनले भनिन्, ‘तपार्इंहरूलाई यो बजेटको पक्षमा समर्थन नगर्न अनुरोध गर्छु, जसकारण मजस्तै अरू बालबालिकाले एचआइभीको पीडा सहन नपरोस् ।’
६ वर्षको उमेरमा लिजाले एचआइभीका कारण आमा गुमाएकी थिइन् । दसौँ हजार युक्रेनीजस्तै सिरिन्जमार्फत हिरोइन लिँदा उनकी आमालाई एचआइभी भएको थियो । आमालाई भएको एचआइभीकै कारण लिजा पनि आजीवन एचआइभी भाइरस बोकेर बाँचिरहेकी छिन् । (एजेन्सी)

प्रतिक्रिया