काठमाडौंमा ध्वनि प्रदूषण मापदण्डभन्दा अत्यधिक

काठमाडौं, ५ वैशाख । काठमाडौंका अधिकांश ठाउँमा मापदण्डभन्दा धेरै ध्वनि प्रदूषण रहेको पाइएको छ । ध्वनि प्रदूषणका कारण उपत्यकावासीमा विभिन्न मानसिक एवं शारीरिक रोग बढ्दै गएको पनि अध्ययनले देखाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले स्वयंसेवक र ट्राफिक अधिकारीका सहयोगमा काठमाडौंका विभिन्न ६ ठाउँमा तीन चरणमा गरेको अध्ययनले मापदण्डभन्दा बढी ध्वनि प्रदूषणले मानव स्वास्थ्यमा असर पारिरहेको देखाएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ६० डेसिबलभन्दा माथिको ध्वनिले स्वास्थ्यमा समस्या ल्याउँछ । तर, काठमाडौंका अधिकांश ठाउँमा मापदण्डभन्दा १९ डेसिबल बढी ध्वनि प्रदूषण रहेको छ ।
‘काठमाडौंको औसत ध्वनि ७९ डेसिबल भएको पाइएको र वर्षेनी एक डेसिबलका दरले ध्वनि प्रदूषण बढिरहेको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा ७० देखि ९० डेसिबलको आवाजमा दैनिक ८ घन्टा बस्दा ६ महिनाभित्र सुन्ने क्षमता गुम्नसक्ने दाबी गर्दै उपत्यकालगायत सहरी क्षेत्रमा बसोबास गर्नेहरू बढी जोखिममा रहेको उल्लेख गरिएको छ ।
राष्ट्रिय ध्वनिसम्बन्धी मापदण्डअनुसार मानिस बसोवास गर्ने ग्रामीण क्षेत्रमा अधिकतम दिनमा ४५ र रातमा ४० डेसिबल, सहरी क्षेत्रमा दिनमा ५५ र रातमा ५० डेसिबल हुनपर्छ । कलकारखाना र वरपर क्षेत्रमा अधिकतम दिनमा ७५ र रातमा ७०, व्यापारिक क्षेत्रमा दिनमा ६५ र रातमा ५५,

अस्पताल, विद्यालयजस्ता ध्वनि निषेधित क्षेत्रमा दिनमा ५० र रातमा ४० डेसिबलसम्म हुनुपर्छ ।
रेस्फेकले काठमडौंको पुरानो बसपार्क, सहिद गेट, नेपाल वायुसेवा निगम, जमल, बानेश्वर र चाबहिल क्षेत्रमा विभिन्न फरक–फरक समयमा छुट्टाछुट्टै अध्ययन गरेको थियो । यसका साथै राजधानीका अन्य क्षेत्रमा ध्वनिको मात्रा नाप गरिएको थियो । अध्ययनमा सबै क्षेत्रमा ध्वनि प्रदूषण अधिक देखिएको रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सौर्यलाई बताए । उनका अनुसार ती स्थानमा फरकफरक दिनमा बिहानको साढे ९ बजेदेखि साढे ११ बजेसम्मको अवधिमा विभिन्न तीन चरणमा अध्ययन गरिएको थियो ।
सन् २०१२ को जनवरी ९ देखि १३ सम्म गरिएको पहिलो चरणको अध्ययनले सबैभन्दा बढी ध्वनि प्रदूषण सहिद गेट क्षेत्रमा ८० दशमलव ३ डेसिबल देखाएको थियो । त्यसपछि नेपाल वायुसेवा निगमअगाडि ७९ दशमलव ३ डेसिबल, चाबहिलमा ७९ दशमलव २ डेसिबल, पुरानो बसपार्कमा ७८ दशमलव १ डेसिबल, जमलमा ७७ दशमलव २ डेसिबल र नयाँ बानेश्वरमा ७६ दशमलव ६ डेसिबल पाइएको छ ।
त्यस्तै, १२ देखि १७ फेब्रुअरीमा गरिएको दोस्रो अध्ययनले सबैभन्दा बढी चाबहिलमा ८७ दशमलव ९५ डेसिबल ध्वनि रहेको देखाएको छ । त्यसैगरी, जमलमा ८६ दशमलव ९ डेसिबल, सहिदगेटमा ७८ दशमलव १, नयाँ बानेश्वरमा ७७ दशमलव १५, नेपाल वायुसेवा निगमअगाडि ७४ दशमलव ३५ र पुरानो बानेश्वरमा ७२ दशमलव २५ डेसिबल पाइएको छ । २५ देखि ३० मार्चमा गरिएको तेस्रो चरणको अध्ययनमा नेपाल वायुसेवा निगमअगाडि ८० दशमलव ३५ डेसिबल, नयाँ बानेश्वरमा ८०, चाबहिलमा ७७ दशमलव ३५, सहिद गेटमा ७७ दशमलव १, जमलमा ७६ दशमलव ५ र पुरानो बानेश्वरमा पनि ७६ दशमलव ५ डेसिबल रहेको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ६० देखि ७० डेसिबलसम्मको ध्वनि सुन्न सकिने हो । त्योभन्दा माथिको ध्वनिलाई प्रदूषण तथा १२० डेसिबलभन्दा बढी ध्वनिलाई संगठनले निकै हानिकारक मानेको छ । अध्ययनले ध्वनि प्रदूषणका कारण उपत्यकावासीमा टाउको दुख्ने, कान कम सुन्ने, चिड्चिडाहट बढ्ने, एकाग्रता नहुने, वान्ता हुने, मुटुसम्बन्धी समस्या, तनावमा रहने, निन्द्रा कम लाग्ने, बोलीमा प्रभाव पर्ने, रिस उठ्नेजस्ता समस्याहरू बढेको देखाएको छ ।
‘औसतभन्दा बढी अर्थात् स्वीकार गर्न नसकिने ध्वनिले शरीरमा कोर्टिसोल बन्छ । जसले रोग प्रतिरक्षात्मक प्रणालीलाई राम्ररी काम गर्न दिँदैन’ प्रतिवेदनमा भनिएको छ, ‘कोर्टिसोल कम हुँदा विशेषगरी क्यान्सर र एचआइभी भएका व्यक्तिलाई दीर्घकालीन रूपमा हानी गर्छ ।’ चिकित्सकहरूका अनुसार गर्भवती महिला चर्को ध्वनि प्रदूषणबाट प्रभावित भएमा जन्मने बच्चाको श्रवणशक्ति गुम्नसक्ने र विकासक्रममा समेत असर पुग्छ । अत्यधिक ध्वनिले मानिसलाई मात्र असर पर्ने नभई व्यस्त सडक, आसपास बस्ने चराहरूलाई समेत असर पुर्‍याउनका साथै जनावरको बासस्थान तथा प्रजनन् क्षमता र जीवनचक्रमा समेत असर गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया