आगलागीबाट चेपाङ गाउँ सखाप

बबई (बर्दिया), ५ वैशाख । मध्यरात मस्त निन्दाइरहेकी मञ्जु दुरालाई के थाहा, एक्कासि आगलागी भएर घर मात्रै होइन, बस्ती नै सखाप होला भन्ने । तर, उनले कल्पना नै नगरेको घटना भयो, मंगलबार मध्यरातमा । ‘साढे १२ बजेतिर निन्द्राबाट ब्युँभिँmदा छानोमा आगो बलिरहेको देखेँ,’ मञ्जुले भनिन्, ‘गाग्रीको पानी लिएर आगो निभाउन छानोमाथि पुगेँ तर निभाउन सकिनँ । धन्न बालबच्चा र आफ्नो ज्यान जोगाउन सफल भएँ ।’

बेलवा–७ बर्दियाको बबई नदीको किनारमा रहेको चेपाङ गाउँमा मंगलबार राति पौने १२ बजे आगलागी हुँदा ९३ घरका एक सय ३६ परिवारको बिचल्ली भएको छ । बस्ती छेउमै रहेको बाँसको झ्याङबाट सुरु भएको आगो हावाहुरीका कारण फैलिँदा गाउँ सखाप भएको हो । आगलागीबाट करिब ४ करोड रुपियाँको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट ७ जना घाइते भएका छन् भने करिब ७० पशुचौपायाको जलेर मृत्यु भएको छ ।
जलेर नष्ट भएकामध्ये २१ घरपरिवार सुर्खेतको छिन्चु गाउँ विकास समितिका छन् भने अन्य सबै बर्दियाको बेलवा गाविसका रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । उनका अनुसार आगलागी भएको बस्तीबीचका ११ घरमा भने कुनै क्षति भएको छैन । नियन्त्रण गर्न नसकिने गरी आगो बस्तीमा फैलिएपछि स्थानीयवासीले बबई नदीको पुलमा पुगेर बस्ती खरानी भएको टुलुटुलु हेरेका थिए ।
प्रत्यक्षदर्शी हिम परियारले धनसम्पत्ति जोगाउन नसकिए पनि मान्छे बचाउन सकिएको बताए । बस्तीको आधाभन्दा बढी भाग नष्ट भइसकेपछि नेपालगन्ज र बर्दियाबाट दमकल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि आएको परियारले जनाए । बस्तीका अधिकांश घरटहरा टिन र खरले छाएकाले आगो छिटै फैलिएको प्रहरी जवान रूपलाल चौधरीले बताए । आगलागी पीडितहरूलाई नेपाली सेनाको मध्यपश्चिम पृतना, नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघसंस्थाले कम्बल, चामल, नुन, तेल, चिउरा, त्रिपाललगायत राहत सामग्री वितरण गरेका छन् ।

प्रतिक्रिया