आगलागी नियन्त्रण गर्न आयोगको आग्रह

rastriya manb aadhikar aayogकाठमाडौं, ४ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट भएको जनधन र प्राकृतिक सम्पदाको क्षतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर आगलागीबाट पीडित नागरिकहरूको तत्काल सुरक्षित रुपमा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । ‘पीडितलाई आवास, औषधोपचार, राहत, उद्दार र परिपूरणका कामहरू द्रूत गतिमा अघि बढाउन नेपाल सरकार र सरोकारवाला निकायहरूसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले गाउँवस्ती र वनमा लागेको डढेलो तत्काल निभाउन पनि भनेको छ । ‘आउँदा दिनमा हुन सक्ने यस्ता बिपदहरूको समयमै निराकरण गर्नका लागि आवश्यक सतर्कता अपनाउन, नीति–नियम बनाउन तथा पर्याप्त बजेटको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
तराईका बस्ती, हिमाली र पहाडी जिल्लाका सयौं हेक्टर वनमा आगलागीको चपेटामा परेको भन्दै आयोगले चिन्ता जनाएको छ ।
आयोगले विभिन्न स्थानमा आगलागीका कारण ६ जनाको मृत्यु भएको जनाएको छ । ६ सय ४४ घर जलेको, २ सय ९४ परिवार विस्थापित भएको तथा देशभरका ७ सय ५६ वनमा आगलागी भएको आयोगको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया