पेटीभित्र भेटियो जाली नोट

काठमाडौं, ४ वैशाख । कपडाको पेटीमा लुकाई नक्कली भारतीय नोट तस्करी गर्न लागेका दुई पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान दनिस इसा र जुलेखा बनो नाम गरेका पाकिस्तानीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट प्रहरीले हजार र पाँच सय दरका ४७ लाख २८ हजार पाँच सय भारतीय रुपियाँ, चार सय अमेरिकी डलर बरामद गरेको छ । प्रहरीका अनुसार यात्रु चेकजाँच गर्ने क्रममा उनीहरूसँग रहेको जाली नोट फेला परेको थियो ।
महानगरीय आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले विमानस्थलको आगमन कक्षबाट बाहिरिइसकेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । भने, ‘अन्य यात्रुसँगै आगमन कक्षबाट बाहिरिएका उनीहरुको गतिविधि शंकास्पद देखिएपछि खानतलासी लियौँ । अन्तत: उनीहरूले लगाएको कपडाको पेटीभित्र नक्कली नोट कन्सिल गरेको भेटियो ।’
उनीहरू पकिस्तानको कराचीबाट पाकिस्तान एयरलान्सको उडान नम्बर २६८ बाट बिहान ३:१५ बजे विमानस्थलमा उत्रिएका थिए । लगेजसहित आगमन कक्षबाट बाहिरिएका उनीहरू ठमेल जाने तयारीमा थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरी उनीहरूको लगेज निरीक्षण गरेको थियो । लगेजमा केही नभेटिएपछि शरीर खानतलासी गरिएको थियो ।
८० हजार भारतीय रुपियाँ पाउने भएपछि उनीहरू उक्त नोट नेपाल ल्याउन राजी भएको बयान दिएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट उनीहरूलाई कसले उक्त नोट दिएको भन्नेचाहिँ खुलिसकेको छैन । प्रहरीका अनुसार उनीहरू उक्त नोट नेपालीलाई दिई तत्काल पाकिस्तान फर्कने तयारीमा थिए । नेपालीमार्फत उक्त नोट भारतीय बजारमा पुग्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया