छापामार शैलीमा प्राधिकरणका “गोप्य” कम्प्युटर कब्जा

Computerकाठमाडौं, ४ वैशाख । नेकपा–माओवादी निकट नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले प्राधिकरणका तीन गोप्य कम्प्युटर कब्जामा लिएका छन् । प्राधिकरणले कर्मचारीको सम्पूर्ण अभिलेख राखिएका गोप्य कम्प्युटर ‘छापामार शैलीमा लुटिएको’ जनाएको छ ।

कर्मचारी सरुवाको विषयलाई लिएर मंगलबार दिउँसो माओवादी निकट संगठनका कर्मचारीहरूले प्राधिकरणका उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्काको कोठामा रहेको एक र कर्मचारी प्रशासन महाशाखाका दुई कम्प्युटर कब्जामा लिएका हुन् । कब्जा गरिएका कम्प्युटर संगठनले प्राधिकरणभित्रकै आफ्नो कार्यालयमा राखेको छ ।
प्राधिकरण व्यवस्थापनले कार्यालयभित्रबाट लुटेर लगेका कम्प्युटरहरू खोजतलास गरी सुरक्षित राख्न तथा लुटपाटमा संलग्नहरूमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न मंगलबार नै जिल्ला प्रशासन कार्यालय काठमाडांैमा निवेदन दिएको छ । निवेदनमा संगठनका अध्यक्ष सीताराम थापाको नेतृत्वमा आएको समूहले कम्प्युटर लुटेको भन्दै कारबाहीको माग गरिएको छ ।
निवेदन परे लगत्तै प्रहरी टोली प्राधिकरण पुगेको थियो । संगठनका पदाधिकारीहरूले कम्प्युटर आफ्नो कार्यालयमा सुरक्षित राखेको बताएपछि प्रहरी त्यसै फर्केको थियो । ‘प्राधिकरणको नियमअनुसार पनि कम्प्युटर लुट्नेमाथि कारबाही हुन्छ, कम्प्युटर सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिइसकेका छौँ’, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने । प्राधिकरणको पूर्ण संरचनादेखि सम्पूर्ण विवरणहरू ती कम्प्युटरमा रहेको र त्यसमा तलमाथि भए १० हजार कर्मचारीको भविष्य अन्योल हुने प्राधिकरणले जनाएको छ ।
आफू निकटका कर्मचारीहरूको सरुवा नगरेको भन्दै जबरजस्ती कम्प्युटर लुटेर लगेको आरोप प्राधिकरण व्यवस्थापनको छ । ‘प्राधिकरणभित्रका सबै कर्मचारीहरूको अभिलेख भएको कम्प्युटर छापामार शैलीमा कब्जा गरिए’, प्राधिकरण कर्मचारी प्रशासन महाशाखाका सह–निर्देशक लोकेन्द्र थापाले भने, ‘सो कर्मचारी संगठनले आफ्ना मान्छेहरूलाई सरुवा गर्न दबाब दिएको थियो तर, सरुवा नगरिदिएपछि अभद्र शैली देखाएर कम्प्युटर लगे ।’
सह निर्देशक थापाका अनुसार कम्प्युटर कब्जा गर्ने क्रममा उनीहरूले भौतिक आक्रमण गर्ने धम्कीसमेत दिए । प्राधिकरण व्यवस्थापनले प्रशासनमा निवेदन दिएपछि संगठनका पदाधिकारीहरूले कार्यकारी निर्देशक यादवलाई समेत धम्की दिएको स्रोतले जनाएको छ ।
कर्मचारी संगठनले भने सरुवामा आर्थिक चलखेल भएपछि कम्प्युटर कब्जामा लिएको दाबी गरेको छ । ‘गोजीमा पैसा बोकेर गएका कर्मचारीको तत्काल र भनेको स्थानमै सरुवा र पदस्थापना हुने अवस्था भेटियो, कतिपय पैसा नहुने कर्मचारी वर्षौदेखि सरुवा नभएर एकै ठाउँमा बस्नुपर्ने अवस्थापछि कम्प्युटर कब्जामा लिएका हौँ’, कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले भने ।
आफूहरूले प्राधिकरणमा जनकारबाही थालेको अध्यक्ष थापाले बताए । ‘सरुवा, बढुवा, पदस्थापना, म्यादी कर्मचारीदेखि प्राधिकरणको सबै कर्मचारीको तथ्यांक भएको गोप्य कम्प्युटर कब्जामा लिएर जनकारबाही गरिएको प्राधिकरणको इतिहासमा यो पहिलोपटक हो’, उनले भने ।
प्राधिकरण व्यवस्थापनले गत वर्ष बनाइएको सरुवा कार्यविधिको उल्लंघन गरेर कर्मचारीलाई उत्पीडन गरेको आरोप अध्यक्ष थापाले लगाए । प्राधिकरणको दरबन्दी कति छ ?, कति वर्षदेखि को–को काम गर्दै आएका छन् भन्ने तथ्यांक पटक–पटक माग्दा पनि अटेर गरेको कर्मचारी संगठनले जनाएको छ । संगठनले मंगलबार जारी गरेको विज्ञप्तिमा छलफल गर्न जाँदा उपकार्यकारी निर्देशकले अभद्र व्यवहार गरेको जिकिर पनि गरिएको छ । आफूहरूमाथिको दुव्यर्वहार नसच्याए र म्यादी कर्मचारीको हकहित सुरक्षित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
प्राधिकरण कर्मचारी युनियन र संघले मंगलबार नै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कार्यालय भित्रबाट कम्प्युटर उठाई लग्नु अराजकताको पराकाष्ठा भएको जनाएका छन् ।

प्रतिक्रिया