ललितकला प्रदर्शनी सुरु

काठमाडौ : तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनी ०७० सोमबारबाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानकै हल सीता भवनमा सुरु भएको प्रदर्शनीको उद्घाटन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दीप प्रज्वलन र मन्त्रि रामकुमार श्रेष्ठले बेलुन उडाएर गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले कलाक्षेत्रमाथि उठ्न सक्यो भने देशको राजनीतिक, धार्मिक, आर्थिक, सामाजिकलगायत सबै पक्ष सवल हुने बताए । उनले कलाकारहरूले पनि देश विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने बताउँदै संविधान सभाको निर्वाचन गराउन कलाकारहरूको सहयोग आवश्यक रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धरले प्रदर्शनीमा पछिल्लो पुस्ताका कलाकारलाई बढी प्राथमिकता दिइएकोले राम्रा कलाहरू प्रदर्शनीमा आएको बताए ।
५१ जिल्लाका कलाकारका कला राखिएको प्रदशनीमा आधुनिक चित्रकलातर्फ दुई सय उन्नाइस कलाकारका दुई सय उनान्सय, परम्परागततर्फ २८ कलाकारका ३२, आधुनिक मूर्तिकलातर्फ २८ कलाकारका ३९, परम्परागततर्फ १५ कलाकारका १९ लोकतर्फ २७ कलाकारका ४० , हस्तकलातर्फ ६८ कलाकारका ९५, वास्तुकलातर्फ १३ कलाकारका १४ कलाकृतिका साथमा सिर्जनात्मक कला, फोटोग्राफी सर्ट भिडियो कला आदि छन् । नेपाल जलस्रोतको दोस्रो धनी देश भए पनि विस्तारै पानीका भण्डारहरू सुक्न थालेको र उपयोग हुन नसकेका विषय पनि कलामार्फत झल्काउन खोजिएको छ । वायुप्रदूषण, बढ्दो महँगी, लोडसेडिङ, ०६२/६३ सालको जनआन्दोलनलगायत शीर्षक राखिएको छ । (सौस)

प्रतिक्रिया