जीवनको लामै अध्याय राजनीतिमा समर्पित गरेँ । माले र एमाले पार्टीमा आफ्ना उर्वर वर्षहरू खर्चिएँ । यो अवधिमा पार्टीका लागि जति गर्न सकिन्थ्यो, गरेँ । ०५४ मा एमाले पार्टी विभाजन गर्नमा पनि मै सक्रिय थिएँ । अहिले सोच्छु– त्यसो नगरेको भए हुने रहेछ । विभाजनपछि तीन–चार वर्ष माले पार्टीलाई सशक्त बनाउन लागिपरेँ । ०५८ मा वामदेव गौतमले माले पार्टीको ठूलै हिस्सा फेरि एमालेमै लगेर बुझाइदिए । ०५६ को निर्वाचनमा मालेले सबैतिर हार बेहोरेपछि उनी तिलमिलाएका रहेछन् । सहजै एमालेसँग मिलापत्र गरे ।
केही नेता–कार्यकर्ता वामदेवसँगै एमाले गए । बाँकी रहेका केहीलाई समेटेर सीपी मैनालीले माले थेगेर राखे । त्यसपछि मलाई चाहिँ एमाले वा माले कतै पनि लाग्न मन लागेन । सिपीले मलाई मालेमै सक्रिय हुन आग्रह नगरेका होइनन् । तर, यता–उता लाग्नुभन्दा निष्क्रिय भएर बस्नु बेसजस्तो लाग्यो । त्यसपछिको मेरो राजनीतिक करियर लगभग निष्क्रिय नै रह्यो ।
एघार वर्षसम्म राजनीतिमा निष्क्रिय रहँदा मैले जीवनलाई फरक ढंगबाट बुझ्ने मौका पाएछु । अनि भोगाइ पनि बिल्कुलै बदलिए । बिहान उठेदेखि नै राजनीतिक तनाब हुन्थ्यो त्यस बेला, व्यस्ततामै बित्थ्यो दिन । अहिले फुर्सदिलो भएको छु । पहिले राजनीतिक व्यक्तिसँग बढी सम्पर्क हुन्थ्यो । बैठक, भाषण, सम्मेलन, संगठन निर्माण, गोष्ठीमै अल्झिएको थियो जिन्दगी ।
पछिल्लो समय योग, ध्यान, साधुसन्त र धार्मिक मान्छेसँगको आध्यात्मिक छलफलको लाभ उठाउन पाएँ । आत्मिक अनि मानसिक सुख के हो, धेरथोर बुझ्न पाएँ । राजनीतिमा छँदा परिवार गुनासो गर्थे, समय दिएन भनेर । पछि त आफूसँगको सबै समय परिवारलाई नै भयो । आमा बिरामी हुनुहुन्थ्यो । उहाँको सेवा गर्न कुनै राजनीतिक जिम्मेवारीले रोक्न पाएन । न त कसैसँग अनुमति माग्नुपर्यो । निस्फिक्री परिवारको सहयोग र सेवामा लाग्न पाएँ ।
राजनीतिमा छँदा वैयक्तिक जीवन के हो भन्ने नै मैले बिर्सिसकेको रहेछु । त्यसैले फुर्सदमा त्यसैलाई व्यवस्थित गर्न लागिपरेँ । केही साथीसँग मिलेर कलेज सञ्चालन गरेँ । भूमिगतकालमा मास्टरी पेसामा थिएँ । त्यो पेसाको स्वाद फेरि एकचोटि चाख्न पाएँ । अहिले पनि नगरकोटमा कलेज खोल्ने प्रयास गर्दै छौँ । सक्रिय राजनीतिमा छँदाको चिनजान र सम्पर्क भने अहिले पनि काम लागिरहेको छ । विभिन्न क्षेत्रका मान्छेसँग भेटघाट र कुराकानी भइरहन्छ । हिजो सँगै पार्टीकाम गरेका थुप्रै साथीसँगको सामीप्य र हार्दिकता उस्तै छ । उनीहरू वर्तमान राजनीतिक माहोल र पार्टीभित्रको द्वन्द्वबारे सुनाउँछन् । आफूले जानेको सुझाव पनि दिन्छु केहीलाई ।
०००००
कुनै बेलाको सक्रिय राजनीतिक व्यक्ति भएकाले होला, मलाई फेरि राजनीतिमा फर्कन आग्रह गर्नेहरूको कमी रहेन । हिजो एउटै कमिटीमा रहेर काम गरेका एमाले, मालेदेखि एमाओवादीसम्मले बोलाउँथे । अझै पनि थुप्रै साथी भन्छन्– ‘तपाईंजस्तो मान्छे यसरी बस्नु हुँदैन, सक्रिय हुन पर्यो ।’ तर, मलाई वर्तमान राजनीतिले रत्तीभर आकर्षण गरेन । कुनै बेला पार्टी र नेता भनेपछि हुरुक्क हुने नेपाली जनता अहिले तिनै नेता र पार्टीलाई गाली गर्न थालेका छन् । यसमा नेताहरूको पनि कमजोरी छ । सिद्धान्त र विचारबाट होइन, व्यक्तिको इच्छाअनुसार चल्न थालेको छ पार्टी । त्यसैले पनि ममा राजनीतिमा फर्किने उत्साह पलाएन ।
एमालेले त सुरुदेखि नै बोलाइरहेकै छ । सोचेँ– ‘आफ्नै सक्रियतामा फुटाएर छिन्नभिन्न बनाएको पार्टीमा कसरी जानु †’ मालेमै सक्रिय हुन पनि मन लागेन । ०४६ अगाडि माले भएर राजनीति गर्दाको जुन गर्व, आनन्द र सन्तुष्टि थियो, पछि त्यो विस्तारै हराउँदै गयो । भूमिगत कालमा कार्यकर्ता हुँदाको आनन्द बहुदलपछि मन्त्री–सांसद हुँदाको भौतिक सुखसुविधाले दिन सकेन । जनताको माया, सद्भावको तुलनामा पदीय सुविधा केही पनि होइन । आन्दोलन र संघर्षका दिनमा छँदा पार्टी जति स्वच्छ थियो, पछि पनि त्यस्तै हुनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसैका लागि आवाज उठाइरहेँ । तर, हुन सकेन ।
अहिलेको देशको अवस्था देख्दा दु:ख लाग्छ । मुलुक चरम राजनीतिक संकटमा फसिरहेको छु । अहिले न त कुनै पार्टीमा छु, न त राजनीतिक भूमिकामा । तैपनि कहिलेकाहीँ छटपटी हुँदो रहेछ, मुलुक यस्तो अवस्थामा पुग्दा आफ्ना तर्फबाट केही गर्न नसकेकोमा । मुलुकको असहज अवस्थामा आफू भुमिकाविहीन भएर बस्नुपर्दा केही पश्चात्ताप र खिन्नता पनि लाग्दोचाहिँ रहेछ । राजनीतिबाट जतिसुकै टाढा रहे पनि दुरावस्थालाई नजरअन्दाज गरेर बस्न सक्दिनँ । एक्लै हुँदा कहिलेकाहीँ विगतदेखि वर्तमानसम्मको समीक्षा गर्छु । नेपालको राजनीतिमा चारवटा घटना महत्त्वपूर्ण लाग्छन् मलाई । सबैभन्दा दु:ख लाग्ने विषय पनि तिनै हुन् । जननेता मदन भण्डारीको हत्याले नेपाली राजनीतिले ठूलो अवसान बेहोर्नुपर्यो ।
गिरिजाप्रसाद कोइरालाले ०५१ मा आफ्नै बहुमतको सरकार हुँदाहुँदै मध्यावधि निर्वाचनमा जाने निर्णय गरे । नेपालको नवस्थापित राजनीतिक व्यवस्थामा त्यो निर्णय ठीक थिएन । संसद्को एउटा कार्यकाल पूर्ण रूपमा चल्नुपथ्र्यो । ०५२ मा मनमोहन अधिकारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले त्यसविरुद्ध फैसला गरे । संसद् पुन:स्थापित भयो । यी क्रियाकलापले नेपाली राजनीतिलाई थप जटिल र विकृत तुल्याए । ०५४ सालमा एमाले विभाजित हुुुनु अर्को दु:खद पक्ष हो । यी चार घटनाले ०४६ पछिको नेपाली राजनीतिलाई प्रभावित बनाइरहे ।
एमाले विभाजनले वाम आन्दोलनलाई अस्तव्यस्त बनायो । यो सबै हाम्रै कारणले भएको हो, अरूले होइन । त्यतिबेला भन्न त मनले यसो पनि भनेको थियो– ‘बरु सांसद पद र पार्टी दुवै छोडिदिन्छु, पार्टी नै विभाजन त नगरौँ क्यारे † एमालेलाई थप मजबुत पो बनाउनुपर्छ ।’ तर, पार्टीभित्रकै प्रतिकूल रबैयाले उत्पन्न गरिदिएको द्विविधाका बीच म पनि विभाजनतिरै लागेछु । वामदेव गौतमले पनि त्यसै भनेर उकासे । अहिले लाग्छ– मैले त्यसो नगरेको भए हुने रहेछ । वामदेवको अस्थिर प्रवृत्ति पनि मुलुकलाई यो अवस्थामा ल्याउन जिम्मेवार छ कि जस्तो पो सोच्छु । यतिबेला आफू भूमिकाविहीन भएकोमा भन्दा मुलुकको राजनीतिक गति बिग्रिएकोमा दु:ख लाग्छ ।
०००००
सुन्दै छु– एमालेले पार्टीे छोडेर निष्क्रिय बसेका अनि अन्य पार्टीमा गएकाहरूलाई पुन: एमालेमा फर्कन आह्वान गर्दै छ । उसले भावनात्मक रूपमै त्यो आह्वान गरेको हो भने उसको बुद्धि फिरेको भन्नुपर्छ । एमाले पुन: ५०–५१ सालकै जस्तो हुनुपर्छ । मुख्य कुरा, भनाइ र गराइ एक हुनुपर्यो । पार्टीमा फर्क भनेर मात्र हुँदैन, भन्न त कतिचोटि भन्योभन्यो † कयौँपटक कार्यदल पनि बनायो, तर उसले राम्ररी विश्लेषण गर्न जानेन । कुरा एउटा काम अर्कै हुन्छ । एमालेको अहिलेको आह्वान पनि त्यस्तो नहोस् । यदि यो औपचारिक मात्र नभएर उसको अन्तस्करणको आवाज हो भने एमाले पुन: मुलुकको शक्तिशाली पार्टी हुनेछ ।
एमालेलाई सुधार्ने हो भने नेताहरूले स्वजीवनशैलीमै परिवर्तन ल्याउनुपर्छ । वैचारिक विचलन र गलत कार्यशैली सुधारिनुपर्छ । समयानुकूल नीति बनाउँदै संगठन निर्माणमा बल पुर्याउनुपर्छ । एमाले श्रमजीवी र गरी खानेहरूको पार्टी हो भन्ने भावना स्थापित हुनुपर्छ । एमाले मात्र राष्ट्र र जनताको पार्टी भएको विश्वास दिलाउनुपर्छ । पार्टीभित्रै भूमिकाविहीन अवस्थामा रहेकालाई क्रियाशील बनाउने हो भने एमालेले सबै पार्टीलाई उछिन्न सक्छ । तर, एमालेले आफ्नो चरित्र यसैगरी सुधार्ला भन्ने कुरामा मलाई विश्वास छैन । अन्यथा, उसले पार्टीमा फर्क भन्नै पर्दैन । पार्टी सुधारिनासाथ गहन विचार र सोच भएका मान्छे आफैँ एमाले खोज्दै आइपुग्नेछन् ।
०००००
कतिले मलाई घमन्डी र छुच्चो भन्छन् । कतिले प्रस्ट बोल्ने व्यक्ति पनि भन्छन् । यो सबै विश्लेषण गर्न सक्ने व्यक्तिको विवेकमा भर पर्ने कुरा हो । साँचोचाहिँ यही हो– आफूलाई लागेको कुरा भन्न हिचकिचाउँदिनँ । यही स्वभाव धेरैपटक आफ्नै लागि प्रतिकूल पनि बनेको छ । लामो राजनीतिक यात्रामा मलाई चिनाउन पार्टी, परिवार, कार्यकर्ता, साथीभाइ सबैले साथ दिए । म आफू केही होइन, सबैले बनाइदिएका हुन् । तर त्यो अनुभव र लगानी दशकौँसम्म त्यत्तिकै राखेर भूमिकाविहीन हुनुपरहेकोमा दु:ख लाग्छ । यो समय देशका लागि उपयोग गर्न नपाएकोमा सन्तुष्ट छुइनँ । राजनीतिबाट टाढा रहँदा केही पाएँ, केही गुमाएँ पनि । निष्क्रिय रहँदा खल्लोपन र शून्यताले खाँदो रहेछ । परिवारले पनि मेरो राजनीतिक निष्क्रियता रुचाएका थिएनन् । सबै जना भन्थे– पुन: सक्रिय हुनुपर्छ, मुलुक र जनताका लागि योगदान गर्नुस् । तर, खोइ किन हो सकिनँ ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया