तालुखुइलेलाई मुटुरोगको जोखिम

taluतपाईंको टाउकोको कपाल विस्तारै झर्दै गइरहेको छ ? यदि, तपाईं पुरुष हुनुहुन्छ र तालुको कपाल झरेर पातलिएको छ भने सम्झनुहोस्, ‘म मुटु रोगको उच्च जोखिममा परेँ ।’ जापानमा गरिएको अनुसन्धानले तालुखुइले व्यक्ति मुटुरोगको उच्च जोखिममा पर्ने निष्कर्ष निकालेको हो ।
जापानका ३७ हजार व्यक्तिहरूमा यो अनुसन्धान गरिएको थियो । अनलाइन जर्नल बिएमजेले लेखेको छ– ३२ प्रतिशत तालुखुइले व्यक्ति मुटुरोगको उच्च जोखिममा रहेका पाइयो । यद्यपि, चुरोट नखाने तालुखुइले व्यक्तिमा चुरोट खानेको तुलनामा कम मुटुरोगको जोखिम हुने पनि उल्लेख गरिएको छ ।
द ब्रिटिस हर्ट फाउन्डेसनले भनेको छ, ‘तालु खुइलिएका व्यक्तिले कपालतर्फ होइन, टाउकोको मध्यभागको सुरक्षामा विचार पुर्‍याउनु जरुरी छ ।’ फाउन्डेसनले टाउकोको मध्यभागको खाली अवस्थाले पुरुषको स्वास्थ्यावस्था देखाउने बताएको छ । अध्ययनअनुसार अधिकांश पुरुषको कपाल ५० वर्ष कटेपछि झर्ने गरेको भेटिन्छ । ७० वर्षपछि कपाल झर्नेहरूमा ७५ प्रतिशत मुटुरोगको जोखिम कम हुने देखिएको छ ।
टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताले कपाल झर्नु र मुटुको स्वास्थ्यबीच रहेको सम्बन्धबारे अध्ययन गरेका थिए । उनीहरूले पातलिँदै गएको कपालसँग मुटुरोगसम्बन्धी बढ्दो समस्याको सम्बन्ध रहेको पाइएको बताएका छन् । त्यसै गरी, वंशानुगत कारणले पनि मुटुरोगको समस्या हुने अध्ययनमा पाइयो ।
टोकियो युनिभर्सिटीका डा. टोमोहिडे यामाडाले भने, ‘हामीले अध्ययनमा तालुको कपाल पातलिनु र मुटुको समस्याबीच सिधै सम्बन्ध रहेको पायौँ । टाउकोको मध्यभागमा कपाल पातलिएका पुरुषलाई मुटुरोगको उच्च जोखिम हुने पाइयो ।’ उनका अनुसार तालु खुइलिनुले भन्दा अझ धेरै व्यक्तिको खानपान व्यवहारले मुटुरोगको जोखिम बढाउँछ । धुमपान, मद्यपान, उच्च रक्तचापलगायतका कारण हुने मुटुरोगीको संख्या तुलनात्मक रूपमा बढी छ ।
कम उमेरका व्यक्तिमा तालु खुइलिने समस्या बढ्न थाले तुरुन्तै आफ्नो मुटुको अवस्थाबारे विशेषज्ञसँग सल्लाह लिनुपर्छ । त्यस्ता व्यक्तिले आफ्नो लाइफस्टाइलमा सुधार गरिहाल्नुपर्छ । डा. यामाडाले मुटु र कपाल दुवैलाई प्रभावित गर्ने पुरुष हर्मोन बढाउन जरुरी रहेको बताए । जसका लागि रक्तवाहिनी नलीमा रहेको इन्सुलिनको मात्रामा विशेष ख्याल गर्नुपर्छ ।
ब्रिटिस हेल्थ फाउन्डेसनकी नर्स डोरेनन माडोकले भनिन्, ‘तालु खुइलिनु र मुटुरोगबीच सम्बन्ध रहेको निष्कर्ष आए पनि कपाल झर्नेबित्तिकै अत्यधिक चिन्ता लिइहाल्न जरुरी भने छैन ।’ उनले पुरुषमा हुने तालुखुइलेपना र मुटुरोगको सम्बन्ध बुझ्न अझै अध्ययन हुन जरुरी रहेको बताइन् । ‘वंशाणुगत रोग नियन्त्रणबाहिर छ भने त्यसका जोखिम घटाउने उपाय अवलम्बन गर्नुपर्छ’, उनले भनिन्, ‘मुटुरोगको जोखिमबाट जोगिन धूमपान नगर्ने, मोटोपना घटाउने, सक्रिय जीवनशैलीलगायत उपाय अपनाउनुपर्छ ।’ (एजेन्सी)

प्रतिक्रिया