ल, है नव वर्षको शुभकामना

dhakaramनव वर्ष २०७० लाई तपाईं हामी सबैले स्वागत गरिरहेका छाँै । नव वर्षको पनि आज दोस्रो दिन हो । तपार्इंहरूले घरमा नयाँ क्यालेन्डर ल्याएर झुन्डाइ सक्नुभएको होला । मोबाइल फोनबाट र फेसबुकमा गएर आफन्त इष्टमित्र र साथीहरूलाई शुभकामना सन्देश पठाइ सक्नुभएको छ होला । त्यसमा पनि पहुँच नहुनेहरूले मुखैले भए पनि नव वर्षको शुभकामना दिनुभयो होला । साना मान्छेको शुभकामना ठूला भनिएका पत्रिकाले छाप्दैनन् । रेडियो टेलिभिजनबाट प्रसारण हुँदैनन् र त्यो सम्भव पनि छैन । त्यसैकारण आफ्ना जेजस्ता माध्यम छन् तिनैलाई उपयोग गर्दै शुभकामना दिएको हुनुपर्छ । नेपाली जनताको भाग्य खोस्ने, राजतन्त्र नै हो । ऊ नै प्रमुख दुस्मन हो भन्ने पाठ पढाउने दल र तीनका नेताले भनेको कुरामा विश्वास गरी ०६२/६३ को आन्दोलन भयो । देश गणतन्त्रमा गयो । त्यसपछि सुनौलो नेपाल, उज्वल भविष्यको कामना गर्दै शुभकामना सन्देश पठाउन थालेको पनि सात वर्ष पूरा भएको छ । दुई, अढाइ वर्षमा संविधान आउने र देशमा विधिको शासन चल्ने आशा गरिएकोमा त्यसको ठीक उल्टो लुटको शासन चल्यो । संविधानसभाको म्याद थप्दै चार वर्ष पुर्‍याइए पनि संविधान दिन सकेन । बरु संविधानसभा नै विघटन भयो । हिजो किन संविधान बन्न सकेन अब कसरी बन्न सक्छ त्यसबारेमा कुनै विश्वासनीय आधार नै नदेखाईकन पुन: संविधानसभाको चुनाव गर्ने कुरा दलहरूले उठाउँदै छन् । तर, हिजो नेताले देखाएको गैरजिम्मेवार व्यवहारका कारण फेरि छिट्टै संविधानसभाको चुनाव होला भन्नेमा विश्वास गरिहाल्ने अवस्था छैन । कुनै किसिमले भइहाले पनि हिजो खल्ती खल्तीबाट बाँडिएका जातीय र क्षेत्रीय राज्यका कारण संविधान बन्ने देखिँदैन ।
वि.स.२००७, ०१७, ०४६ र ६२/६३ मा ठूल्ठूला राजनीतिक परिवर्तन भए । ती परिवर्तनहरू कहिले जनताले गरे कहिले राजाले गरे । २००७ सालदेखि ०७० सालसम्म आइपुग्दा ६३ वर्षसम्म हरे वर्ष नव वर्ष मनाइयो । उत्तोत्तर प्रगतिको कामना गरियो । शुभकामना आदानप्रदान गर्दा व्यक्तिको मात्र होइन समग्र नेपाल र नेपालीको गरियो । तर, विडम्बना नै भन्नुपर्छ । ती सबै शुभकामनाका सन्देशहरू ठीक उल्टा हुन पुगे । बितेका दिनभन्दा आउँदा दिनहरू सुुखमयी हुनुपर्नेमा ठूलो प्रगति गर्‍यौँ, ठूलो परिवर्तन गरी ल्यायौँ भनेका दिनहरू झनै निरास लाग्दा बन्दै गए । त्यसैले त ६२/६३ को गणतान्त्रिक व्यवस्थाभन्दा ०४६ को बहुदलीय व्यवस्था ठीक, ०४६ को बहुदलीय व्यवस्थाभन्दा ०१७ सालको पञ्चायती व्यवस्था ठीक, ०१७ सालको पञ्चायत व्यवस्थाभन्दा १९०३ को राणा शासन ठीक, राणा शासनभन्दा पृथ्वीनारायण शाहको शासन काल ठीक भन्ने अवस्था आयो । हामीले कस्तो परिवर्तन ल्यायौँ ? अनि हामीले बाँढेको शुभकामना सन्देशको के महत्त्व रह्यो त ? त्यसैले यो वर्ष घर, परिवार, समाज, टोल र देशको प्रगति होस् भनेर होइन देशको ठेक्का लिएको ठान्ने ठेकेदारहरूमा सद्बुद्धि पलाओस् भनेर मनाउँदा बरु केही भइहाल्छ कि नत्र यो वर्ष पनि विगतका जस्तै निरासमा जाने देखियो ।
करोडाँै नेपालीले उत्तोत्तर प्रगतिको कामना गरिरहँदा देश कसका कारणले अद्योगतितर्फ गएको छ अब यसको समीक्षा गर्दै नव वर्ष ०७० लाई मनाआँै । घटना एकपटक घट्न सक्छ । गल्ती एक /दुईपटक हुन सक्छ । काम गर्दा चाहेजस्तो परिणाम हात नपर्न पनि सक्छ । तर, २००७ सालदेखि आजसम्म नेपाली जनतालाई निराशाबाहेक अरू केही हात लागेको छैन ।
यस्तो हुनुको दोषी को हो ? सुनौलो भविष्यको आशा गर्दै परिवर्तनका लागि ज्यानको प्रवाह नगरी आन्दोलनमा होमीने र जनताको जित भएको नारा बोकेर फर्कने गरेको पनि धेरै भइसक्यो । त्यो जित सधँै पार्टीका टाठाबाठालाई मात्र भयो । भूपी सेरचनले भने जस्तै ‘फगत हामी कसैका …मात्र हुन्छाँै, माला अर्कैले पहिरन्छ’ भएको छ । राणा विरुद्धको आन्दोलनमा सक्रिय नेतृत्व गरेका भीमदत्त पन्त डाकेआइ सिंहलगायतका नेता र जनताको भावनालाई लत्याउँदै २००७ सालमा दिल्ली सम्झौता भयो । राणालाई प्रधानमन्त्री बनाएर २,४ वटा मन्त्रीको पद पाउँदैमा रमाउन पुगेका कांग्रेसका नेताको सानो समूहलाई राजा महेन्द्रले ०१७ सालमा पाखा लगाए । ०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएपछि प्रजातन्त्र कै लागि लडेका गणेशमान सिंह, कृष्णाप्रसाद भट्टराइलाई गिरिजाले पाखा लगाए । ०५८ मा ज्ञानेन्द्रले गिरिजालाई पाखा लगाए । ६२/६३ को जनआन्दोलनले राजालाई पाखा लगाए । राजतन्त्र फालेर प्रजातन्त्र होइन लोकतन्त्र ल्यायाँै । एउटा राजालाई फालेर ल्याएको लोकतन्त्रमा थुप्रै छोटे राजाहरू भए । तिनै छोटे राजाहरूले अहिले आएर सम्पूर्ण जनतालाई भुसुनाबराबर पनि गनेका छैनन् । भन्दा सार्वभौम जनता भने पनि जनताको कुनै स्थान छैन । जनता चारैतिरबाट लुटिएका छन् ।
जनता लुट्नेलाई उनैले संरक्षण दिएका छन् । नेपालको इतिहासमा जनता यति कमजोर कहिल्यै हुनुपरेको थिएन । लोकतन्त्रमा त नेतासँग जनता होइन, जनतासँग नेता डराउनुपर्छ । नेताले के गर्लान् भनेर जनताले मुख ताक्ने होइन यसो गर्दा जनताले के भन्लान् भनेर नेताले सोच्नुपर्ने हो । तर, यहाँ नेताले जे गरे पनि जनता चुपलागेका छन् । नेतालाई पनि जे गरे पनि हुँदो रहेछ भन्ने बानी परेको छ । परिवर्तनका लागि साँच्चै लडेका जनता परिवर्तनको केही भेउ नपाईकन त्यसै चुप लागेका छन् । छेपारोले रंग फरे जस्ता नेताहरू सर्वेसर्बा भएका छन् । तिनै नियम कानुनभन्दा माथि छन् । तिनका आसेपासे लुटका नाइके बनेका छन् । जनताले जितेर ल्यायाँै भनेको २००७ सालदेखि आजसम्मको अवस्था देश लुट्न सक्नेको मात्र भएको छ । लुट्न सक्ने व्यक्ति नेता र क्षमतावान् बनेका छन् । तर, सार्वभौम भनिएका नेपाली जनता कठैबरा बन्दै छन् ।
एक युगमा एकपटक मात्र आउँछ भनेको संविधानसभाको चुनाव अझै कतिपटक हुने हो भन्न सकिने अवस्था छैन । जनतालाई दलका लागि पटकपटक भोट हाल्ने भोट बंैक बनाउँदै छन् । त्यो भोटको हिजो पनि महत्त्व रहेन अहिले कै अवस्थामा फेरि पनि त्यसको कुनै महत्त्व हुने देखिँदैन । कुनै पनि नेतालाई भोट दिएर जिताउनु भनेको उसको जिम्मेवारी बढ्नु देश र जनताप्रति उत्तरदायि बन्नुपर्नेमा त्यसको ठीक उल्टो जनताले दिएको भोटलाई देश लुट्ने लाइसेन्स बनाइयो । मौका पाउँदा काम गर्न नसक्नेहरूबाट पुन: आशा गर्नु भनेको प्रगतिलाई रोक्नु हो । पहिलोपटक ढाँट्दा विश्वास गरे पनि पटकपटक गरेको ढाँटलाई बुझ्न नसक्नु अपराधीलाई प्रश्रय दिनु हो । एउटा अपराधीलाई बचाउँदा उसैको देखासिकी गरी सयाँैले अपराधी बन्ने बाटो रोजे । त्यसैले २००७ सालदेखि आजसम्म एकैखालका घटना दोहरिएका छन् । गलत जसले गरे पनि गलत नै हो । त्यसैले परिवर्तनको फुस्रो नारामा विश्वास नगरी अपराधीलाई अपराधी कै रूपमा हेरौँ । विजयको माला नेताले मात्र होइन सार्वभौम जनताले लगाउने बाटो खाजाँै यही ०७० सालको शुभकामना ।

प्रतिक्रिया